०७ असार २०८३, आइतबार
कारागारमा मनाङेको २४ घण्टा

डिल्लीबजारमा मनाङे : फेरि आएँ भन्दै सहजै ‘एड्जस्ट’, भित्रकै क्यन्टिनमा खाए खाना

कात्तिक २८, २०८१
काठमाडौं
डिल्लीबजारमा मनाङे : फेरि आएँ भन्दै सहजै ‘एड्जस्ट’, भित्रकै क्यन्टिनमा खाए खाना
फाइल तस्वीर

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ । 

कात्तिक २० गते सर्वोच्चले दोषी ठहर गरेसँगै फरार रहेका उनी हिजो (मंगलबार) बिहान सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङमा रहेको एक महिला साथीको अपार्टमेन्टबाट पक्राउ परेका थिए ।

लगत्तै फैसला कार्यान्वयनका निम्ति काठमाडौं जिल्ला अदालत पुर्‍याइएका मनाङेलाई अपराह्न डिल्लीबजार कारागार लगिएको थियो । 

मंगलबार अपराह्न मनाङेलाई डिल्लीबजार कारागार पुर्‍याएपछि उनलाई ‘ख’ ब्लकमा राख्ने निर्णय भयो ।

‘क’ ब्लकमा ४ सयभन्दा बढी कैदीबन्दी हुँदा धेरै हल्ला हुने भएपछि मनाङे आफैंले पनि ‘ख’ मा बस्ने इच्छा देखाए । त्यसपछि कारागारका जेलर समेत रहेका उपसचिव पूर्णबहादुर खत्रीले ढड्डामा अभिलेख जनाएर मनाङेलाई ख ब्लकमा पठाए । त्यहाँ १४४ जना कैदीबन्दी छन् । रोचक कुरा मनाङे यसअघि पनि सोही कारागारमा बसेका थिए । उनले उक्त ब्लक बनाउँदा केही आर्थिक र लजिस्टिक सहयोग पनि गरेको बताइन्छ ।

मनाङे ‘ख’ ब्लकमा पुग्दा चिनजानकै केही कैदीबन्दीले ‘राजासाब’ भनेर नमस्कार पनि गरेका थिए ।

‘ल साथीभाइहरू म पनि आएँ है, पहिला पनि बसेकै हुँ,’ मनाङेको भनाइ उद्धृत गर्दै कारागारका एक कर्मचारीले लोकान्तरसँग भने, ‘मनाङेकै लिगेसीका केही युवा पनि ‘ख’ ब्लकमै छन् । उनले खासै नौलो मानेजस्तो लागेन ।’

योपटक भने मनाङे कारागारभित्र प्रवेश गर्दा कुनै तडकभडक देखाएनन् । उनी सामान्य मान्छेसरह चुपचाप बसेका छन् ।

मनाङेले मंगलबार साँझ कारागारभित्रैको क्यान्टिनको खाना खाए । बाहिरबाट केही मगाएनन् । उनी बसेको ब्लकमा अन्य केही चर्चित कैदी पनि राखिएका छन्, जसमध्ये बचतकर्ताको ८ अर्ब हिनामिना गरेको कसुरमा मुद्दा चलाइएका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा हाम्रो सगरमाथा सहकारीका सञ्चालक केबी उप्रेती एक हुन् ।

त्यसो त भीआईपी भनिएका अधिकांश कैदीको रोजाइ डिल्लीबजार कारागार नै हो । अहिले डिल्लीबजार कारागारमा भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भएका पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ पनि छन् । उनीहरूलाई भने ‘क’ ब्लकमा राखिएको जानकारी जेलर खत्रीले दिए । 

मनाङे सांसद पनि भएकाले केही सुविधा हुन्छ कि भन्ने प्रश्नमा जेलर खत्रीले भने, ‘बाहिर हल्ला गरेजस्तो यथार्थमा कुनै छुट्टै सुविधा हुँदैन, सबैलाई समान व्यवहार नै हुन्छ ।’

मनाङे पहिला पनि बसिसकेकाले सजिलै 'एड्जस्ट' भएको उनले बताए । मनाङे बस्ने हलमा टीभी, पत्रपत्रिका र पुस्तक राखिएका छन् । त्यस्तै, सामान्य व्यायाम गर्न दिइन्छ । कारागारले तोकेका चिकित्सकले स्वास्थ्य चेकजाँच पनि गर्छन् ।

जेलर खत्रीका अनुसार सकभर भित्रकै खाना खान प्रोत्साहित गरिन्छ । बाहिरबाट मगाउनुपरेमा कैदीबन्दी स्वयंले रकम व्यहोर्नुपर्छ ।

मनाङेले यसअघि डिल्लीबजार कारागारमा बस्दा दशैंमा सबै कैदीबन्दीलाई राँगो, खसी र कुखुराको मासु खुवाएको चर्चा पनि जेलभित्र हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्