१० साउन २०८३, आइतबार
अर्गानिकमा आकर्षण

बाटोमा नेपाली उत्पादनहरूको ‘कलेक्सन’, दोलखाको नौनीदेखि बँदेलको मासुसम्म

मंसिर २, २०८१
काठमाडौं
बाटोमा नेपाली उत्पादनहरूको ‘कलेक्सन’, दोलखाको नौनीदेखि बँदेलको मासुसम्म

शुक्रबार बिहान ११ बजे शम्भु राई ललितपुरको हरिहर भवन सडक खण्ड किनारमा दोलखाको नौनी, सिन्धुलीको सुकुटी र बँदेलको मासु बिक्री गरिरहेका थिए। हरिहर भवन कृषि विभाग अगाडि उनी यसरी नै हरेक शुक्रबार २०० भन्दा बढी नेपाली उत्पादन प्रदर्शनी गरेरै बिक्री गर्ने रहेछन्। 

शनिबार पनि उनले काठमाडौंको ‘सिभिल मल’मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइने स्वदेशी उत्पादनहरूको प्रदर्शनी गरे। यसरी नै हरेक साताको दुई दिन हरिहर भवन र सिभिल मलमा स्वदेशी उत्पादन बिक्री गर्दै आएको उनले सुनाए।

नेपाली अर्गानिक उत्पादनहरूको ‘कलेक्सन’ गरिएको खुल्ला प्रदर्शनीमा मानिसहरूको रूचि पनि त्यत्तिकै मात्रामा हुने शम्भु सुनाउँछन्। खुल्ला रूपमा बिक्री गरिने सामानहरूमा नेपाली उपभोक्ताहरू बढी आकर्षित हुने गरेको उनले बताए। 

यसको प्रमुख कारण भनेको अर्गानिक उत्पादनप्रतिको आकर्षण रहेको उनको भनाइ छ। यद्यपि, केही सामानहरू बाहिरबाट पनि ल्याइएका छन्। वर्षभरी नै यसरी साताको दुई दिन सडक र मलमा सामान बिक्री गर्ने गरेको उनले बताए। यसका साथै कुनै-कुनै मेला महोत्सवमा पनि नेपाली उत्पादनहरूको कलेक्सनलाई प्रदर्शनी गराउने गरेको राईले सुनाए। 

स्वदेशी कलेक्सनमा दाल, मस्यौरा, बेल्चंडा, अमला धुलो, फर्सीको बियाँ, कोदोको पिठो, चनाको सातु, जौको सातु, तोरीको गुद्रुक, खैरो तील, पहेलो मकैको च्याख्ला, जौको पिठो, तोरीको तेल, टिमुर-गुन्द्रुक, ओखर, चोकोफेल (नेपालमै बनेको चकलेट), मह, ड्राय फुड्स, गेडागुडी, घिउ, ग्रिनटी लगायत २०० भन्दा बढी उत्पादनहरू रहेछन्।

null

नेपालमै बनाइएका उत्पादनहरूलाई पनि राम्रो ब्रान्डिङ गरेको देखिन्छ। बाटेको धूपलाई पनि आकर्षक रूपमा प्याकेजिङ गरेर स्वदेशी कलेक्सनले बिक्री गर्दै आएको छ। राईका अनुसार यसरी हरिहर भवन अगाडि बिहान ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म खुला प्रदर्शन गर्दा करिब १० देखि १२ हजारसम्मको कारोबार हुने गरेको छ।
नेपाली उपभोक्ताहरूका साथै घुम्न आएका पर्यटकहरूले पनि यस्ता उत्पादनहरूमा रूचि देखाउने गरेको राईको भनाइ छ। 

‘हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट त्यहाँका उत्पादन कलेक्सन गर्ने गरेका छौं’, उनले भने, ‘जुन अहिले यहाँ प्रदर्शन गरेर बिक्री गरिरहेका छौं। सातामा दुई दिन हामी यसरी बाटोमा प्रदर्शन गर्ने गर्दछौं।’

अधिकांश किराना पसलमा नपाइने नेपाली उत्पादनहरूको कलेक्सन गरेर बिक्री गरिरहेका राई करिब डेढ वर्षदेखि यसमा लागेका छन्। जुन ‘मुना बजार’ नामक बजारले गर्दै आएको छ। 

मुना बजारले पोखरा, इमाडोल, भैंसेपाटी, गोल्फुटार र सानेपामा स्वदेशी उत्पादनहरूको कलेक्सन गरेर सञ्चालन गरिरहेको छ। यसका साथै मुना बजारले अनलाइनमार्फत पनि सामान बिक्री वितरण गर्दै आएको छ।  

null

salt training

कमेन्ट गर्नुहोस्