
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘सेभेन अप’मा कुनै पनि बाह्य पदार्थको मिसावट नभएको पुष्टि गरेको छ ।
विभागको आकस्मिक बजार अनुगमन टोलीले पेप्सीकोलास्थित सेभेन अपको उत्पादक वरुण वेभरेजमा स्थलगत अनुगमन गर्दा कुनै पनि कैफियत नभेटेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको संयुक्त टोलीले पेप्सीकोलास्थित वेभरेजको उद्योगमा अनुगमन गरेको थियो ।
विशेष गरी वरुणले उत्पादन गर्ने सेभेन अपमा बाह्य पदार्थ भेटिएको भन्दै उजुरी परेको थियो ।
उजुरीपछि विभागले गरेको अनुगमनमा सेभेन अपको प्रशोधन तथा भण्डारणमा कुनै पनि बाह्य पदार्थ भएको बोतल नभेटिएको जानकारी दिएको हो ।
अनुगमन टोलीले उद्योगबाट केही नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको छ ।
मानव स्वास्थ्यको ख्याल राख्दै अर्को आदेश नआएसम्म तत्कालका लागि सेभेन अपको बिक्री वितरणमा रोक लगाइएको छ ।
उजुरीपछि गरिएको अनुगमनमा कैफियत नभेटिएको र तत्कालका लागि नमूना सङ्कलन गरेर परीक्षण गर्ने काम भइरहेको विभागले जनाएको छ ।
