
भारतीय अभिनेता गोविन्दा पछिल्ला केही दिनदेखि अचानक स्वास्थ्यमा समस्या देखिएपछि फेरि चर्चामा छन्।
विधान सभा निर्वाचनमा शिवसेना (शिन्दे समूह)का उम्मेदवारहरूको पक्षमा प्रचार गर्न आयोजित र्यालीमा सहभागी हुँदा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको हो। र्यालीका क्रममा अचानक छातीमा दुखाई भएपछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको हो।
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, गोविन्दा पचोरामा शिवसेना (शिन्दे समूह)का उम्मेदवारहरूको समर्थनमा र्यालीमा सहभागी भएका थिए। जब र्याली जलगाउँमा पुग्दै थियो, त्यसैबेला उनको छातीमा तीब्र दुखाइ शुरू भयो। स्वास्थ्य बिग्रिएपछि उनलाई तुरुन्त अस्पताल पुर्याइएको थियो।
हालसम्म उनको स्वास्थ्यबारे थप जानकारी सार्वजनिक भएको छैन। केही रिपोर्टका अनुसार, गोविन्दा राति नै घर फर्किएका बताइएको छ।
उनलाई केही दिनअघि मात्रै खुट्टामा गोली लागेको थियो। १ अक्टोबरको बिहान गोविन्दाको खुट्टामा गोली लागेको थियो। त्यो बेला उनी घरमा एक्लै थिए । एक कार्यक्रममा सहभागी हुन कोलकाता जाने तयारी गरिरहेका थिए। घरमा राखिएको रिभल्वर सफा गर्ने क्रममा उक्त दुर्घटना भएको थियो।
गोविन्दाले बन्दुक सफा गरेर दराजमा राख्न लागेका थिए। तर, अचानक बन्दुक खस्न पुग्यो र मिसफायर हुँदा गोली उनको खुट्टामा लाग्यो। उनलाई तुरुन्तै मुम्बईको क्रिटी केयर अस्पतालमा भर्ना गरिएको थियो। तीन दिनपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो।