
स्वदेशमा रोजगारी नहुँदा नेपाली युवाहरू कसरी ठगीको चक्रव्युहमा फस्छन् भन्ने एउटा भयावह उदाहरण मोरङको रतुवामाई क्षेत्रमा देखिएको छ । रोमानिया पठाउने प्रलोभन देखाएर एउटै गिरोहले सयौँ युवाहरूबाट ५ करोडभन्दा बढी रकम ठगी गरेको रहस्य खुलेको छ ।
अहिले मोरङको इलाका प्रहरी कार्यालय सिजुवामा पीडितहरूको रुवाबासी छ भने ठगीका मुख्य योजनाकार र उनका मतियारहरू प्रहरी हिरासतमा पुगेका छन् । वैदेशिक रोजगारीको नाममा भएको यो ठगी प्रकरणले गाउँबस्तीमा आर्थिक र मानसिक संकट निम्त्याएको छ ।
ठगीको यो जालो मोरङको रतुवामाई नगरपालिका–८, दाम्राभिट्टामा रहेको केएसए. (काँश) इन्टरनेसनल ग्रुप नामक म्यानपावरबाट शुरू हुन्छ । यसका मुख्य सञ्चालक हुन् ३७ वर्षीय उद्धव पाठक । पाठकले गाउँकै सोझा युवाहरूलाई लक्षित गरी रोमानियाको आकर्षक सपना बाँडेका थिए ।
पीडित नारायणप्रसाद भट्टराईले बताएअनुसार, म्यानपावरले शुरूमा ‘अफर लेटर’ आएको भन्दै १ लाख रुपैयाँ असुल्ने गर्दथ्यो । ‘हामीले विश्वासमा परेर पैसा बुझायौँ । कम्पनीको खाता नभएकाले अकाउन्टेन्ट अभि भण्डारीको व्यक्तिगत खातामा पैसा हाल्यौँ,’ भट्टराईले भने । ७ नम्बर वडाका बासिन्दा भट्टराईले १ लाख रुपैयाँ बुझाए पनि ५–७ महिनासम्म वर्क पर्मिट नआएपछि मात्र उनलाई आफू ठगिएको शङ्का लागेको थियो ।
ठगीमा सञ्चालक पाठकलाई साथ दिने मुख्य व्यक्ति हुन् लेखापाल अभि भण्डारी । भण्डारी रतुवामाई नगरपालिका वडा नं. ९ की वडा सदस्य तारा भण्डारीका छोरा हुन् । राजनीतिक र सामाजिक पहुँचका कारण युवाहरूले उनीहरूमाथि सहजै विश्वास गरेका थिए । तर, त्यही विश्वास अहिले उनीहरूका लागि गलपासो बनेको छ ।
पीडित पदमबहादुर खुलालका अनुसार यो ठगीको आयतन निकै ठूलो छ । उनका अनुसार शुरूको दिन नै प्रहरीमा निवेदन पर्दा १ करोड ३० लाख रुपैयाँ बराबरको ठगीको विवरण संकलन भएको थियो । ‘शुरूमा अफर लेटर भनेर १ लाख लिने, त्यसपछि वर्क पर्मिट आयो भनेर अर्को १ लाख लिने यिनीहरूको तरिका रहेछ,’ खुलालले भने । खुलालका अनुसार यो गिरोहले मोरङ र झापा मात्र होइन, संखुवासभा, भोजपुर, ताप्लेजुङ र चितवनसम्मका युवाहरूलाई ठगेको छ । प्रहरीका अनुसार अहिले उजुरी दिनेको संख्या २७६ पुगिसकेको छ । यसरी प्रतिव्यक्ति २ लाख देखि ४ लाखसम्म असुली गरिएको पाइएको छ । भिसा लागेका भनिएका १२–१३ जना महिलाहरू ७ लाखसम्म बुझाएको खुलालको दाबी छ ।
पीडितहरूका अनुसार उद्धव पाठक रोमानियामा रहँदा विलासी जीवन बिताउने गर्दथे । उनले त्यहाँ ‘नेपाली होस्टल’ चलाएर कामदारहरूलाई बन्धकजस्तै बनाउने र अतिरिक्त पैसा असुल्ने गरेको आरोप छ । उनले ठगी गरेको पैसा रोमानियाका क्यासिनोहरूमा उडाउने गरेको र मदिरामा ठूलो रकम खर्च गर्ने गरेको त्यहाँ पुगेका नेपाली कामदारहरूले बताएका छन् ।
पाठककी श्रीमती लेखामाया पाण्डे अझै रोमानियामै रहेको र उनले पनि त्यहाँको नेटवर्क सम्हालिरहेको प्रहरीको दाबी छ । पाठक भने केही समयअघि नेपाल आएर काठमाडौंमा लुकीछिपी बसिरहेका थिए । उनलाई पीडितहरूले नै फेला पारेर प्रहरीको जिम्मा लगाएका हुन् । पाठक पक्राउ परेपछि उनीसँगै लेखापाल अभि भण्डारी पनि प्रहरीको फन्दामा परेका छन् ।
इलाका प्रहरी कार्यालय सिजुवाका इनिस्पेक्टर कैलास लिम्बूका अनुसार हालसम्म ४ करोड भन्दा बढी ठगी पुष्टि भइसकेको छ । ‘अझै उजुरी आउने क्रम जारी छ, यो रकम ५ करोड नाघ्न सक्छ,’ मिश्रले भने ।
अनुसन्धानमा केही जटिलताहरू पनि देखिएका छन् । धेरै पीडितहरूले नगदमै लेनदेन गरेका छन्, जसको बैंक ट्रान्सफर वा कुनै ठोस प्रमाण छैन । लेखापाल अभि भण्डारी र उद्धव पाठकले कतिपयको पैसा व्यक्तिगत खातामा हाल्न लगाएका छन् भने कतिपयलाई ‘नक्कली’ वर्क पर्मिट थमाएर चुप लगाएका छन् । हिरासतमा रहेका पाठकले आफ्नो जग्गा बेचेर पैसा तिर्ने आश्वासन त दिएका छन्, तर पीडितहरूलाई उनको कुरामा अब विश्वास छैन । प्रहरीले पाठक र भण्डारीविरुद्ध ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
वैदेशिक रोजगारीका नाममा भएको यो संगठित ठगीले गाउँका सयौँ घरको चुल्हो निभ्ने अवस्थामा पुर्याएको छ । कसैले मिटरब्याजमा ऋण लिएका छन्, कसैले श्रीमतीको सुन धितो राखेका छन् त कसैले भएको एक टुक्रा जग्गा बेचेका छन् ।
रोमानिया पुगेर पैसा कमाउने र परिवारलाई सुख दिने सपना बोकेका युवाहरू अहिले प्रहरी कार्यालयको गेटमा आफ्नो डुबेको पैसा कसरी फिर्ता पाउने भन्ने चिन्तामा टोलाइरहेका छन् । धेरै युवाहरूले विदेश जानकै लागि ऋण लिएकाले अहिले साहुको कचकच र ब्याजको भारले उनीहरूलाई मानसिक तनाव दिएको छ । कतिपयले त आफ्नो पासपोर्ट समेत म्यानपावरबाट फिर्ता लिन निकै संघर्ष गर्नुपरेको बताएका छन् ।
पक्राउ परेकाहरूलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । तीन जना भने फरार छन् ।