
वाल्मिकी विद्यापीठको नाममा तयार गरिएको नक्कली पत्रका आधारमा आठ विदेशी नागरिकले नेपालमा अध्ययन भिसा प्राप्त गरेको खुलासा भएको छ ।
प्राप्त विवरणअनुसार वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी १० विदेशी नागरिकका लागि साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कागजात पेस गरिएको थियो । मन्त्रालयले यही जेठ २१ गते गरेको निर्णयका आधारमा ती नागरिकका लागि अध्यागमन विभागमा अध्ययन भिसा सिफारिस गरिएको थियो ।
अध्यागमन विभागले सिफारिस गरिएका १० जनामध्ये आठ जनालाई यसअघि नै अध्ययन भिसा जारी गरिसकेको जनाएको छ । भिसा पाउनेमा ६ जना चिनियाँ, एक जना दक्षिण कोरियाली र एक जना रुसी नागरिक रहेका छन् ।
अध्यागमन विभागको अभिलेखअनुसार उनीहरू अघिल्ला वर्षहरूमा पर्यटक भिसामा नेपाल आउने–जाने गर्दै आएका थिए । कतिपय विदेशी नागरिक विगत सात वर्षदेखि नै नेपाल आवतजावत गरिरहेको देखिएको छ ।
बाँकी दुई जनाको भिसा जारी गर्ने क्रममा कागजातमाथि शंका उत्पन्न भएपछि गरिएको जाँचमा पेस गरिएका पत्र नक्कली रहेको खुलेको हो । ती पत्रमा सम्बन्धित विदेशी नागरिकहरू वाल्मिकी विद्यापीठमा संस्कृत साहित्य विषयको दुई वर्षे आचार्य तहमा भर्ना भएको उल्लेख गरिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–९ निवासी सुबोध शुक्ल र एक चिनियाँ महिला पक्राउ परेका छन् । उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो ।
विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेकी चिनियाँ नागरिकबाट नेपाल संस्कृत विश्वविद्यालयको नाममा जारी भएको भनिएको ‘संस्कृत साहित्य प्रशिक्षण शुल्क’ उल्लेख गरिएको आम्दानी भरपाइसमेत बरामद भएको जनाइएको छ ।
पक्राउ परेका शुक्लले यसअघि पनि विदेशी नागरिकलाई भिसा सिफारिस गराई नेपाल ल्याउने गरेको स्वीकार गरेका छन् । शुक्लकै माध्यमबाट जारी भएका अन्य सिफारिसहरूको आधिकारिकताबारे समेत थप अनुसन्धान भइरहेको छ ।
अध्यागमन विभागले नक्कली कागजातका आधारमा जारी भएका अध्ययन भिसा रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । साथै भिसा प्राप्त गरिसकेका अन्य विदेशी नागरिकहरूको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।
अनुसन्धानबाट थप कसुर प्रमाणित भएमा सम्बन्धित विदेशी नागरिकलाई पक्राउ, जरिवाना, निष्काशन तथा भविष्यमा नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन सकिने जनाइएको छ । नेपाली नागरिक संलग्न रहेको पुष्टि भए सरकारी कागजात कीर्ते सम्बन्धी कसुरमा कानूनी कारबाही अघि बढाइनेछ ।