२५ जेठ २०८३, सोमबार

हर्क साम्पाङलाई कारबाही गर्ने तयारीमा ट्राफिक प्रहरी

जेठ २४, २०८३
काठमाडौं
हर्क साम्पाङलाई कारबाही गर्ने तयारीमा ट्राफिक प्रहरी
फाइल फोटो

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाहीको तयारी गरिएको छ ।

एक हातले सवारी साधनको ह्यान्डल र अर्को हातले मोबाइल फोन समातेर 'भिडियो लाइभ' गर्दै लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएको भन्दै ट्राफिक प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीका अनुसार साम्पाङलाई २४ घण्टे पुर्जी थमाउने तयारी भइरहेको छ । 'उहाँलाई पुर्जी थमाउँछौँ, त्यसपछि उहाँले जरिवाना तिर्नुपर्ने हुन्छ,' एसपी गिरीले भने, 'उहाँले कुदाउनुभएको मोटरसाइकलको ब्लूबुक हेरेपछि कसुरको संख्या थाहा हुन्छ । पहिलो पटकको गल्ती रहेछ भने ५ सय रुपैयाँ जरिवाना हुन्छ ।'

केही दिनअघि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (लाइभ) गर्दै मोटरसाइकल चलाउने क्रममा सन्तुलन गुमाउँदा दुर्घटनामा परेर साम्पाङ सामान्य घाइते भएका थिए । उक्त दुर्घटना कटारीबाट धरानतर्फ आउने क्रममा भएको प्रहरीले जनाएको छ ।

घाइते भएपछि पनि उनले कोशी नदी क्षेत्रमा पुगेर पुनः भिडियो बनाएर सार्वजनिक गरेका थिए ।

सवारी चालक आफैंले लापरबाहीपूर्ण ढङ्गले भिडियो वा फोटो खिच्दै सवारी साधन कुदाउनु सवारी तथा यातायात व्यवस्था ऐन विपरीत भएको प्रहरीको ठहर छ ।

दुर्घटनामा ठूलो मानवीय वा भौतिक क्षति नभए पनि यस्तो लापरबाहीलाई निरुत्साहित गर्न कानूनअनुसार जरिवाना गरिने ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक भायोलेसन सिस्टम (टीभीएस)मा चालकको अनुमतिपत्र (लाइसेन्स) वा सवारी दर्ता किताब (ब्लूबुक) को नम्बर प्रविष्टि गरेपछि कसुरको संख्याका आधारमा जरिवाना रकम तय हुनेछ ।

नियमअनुसार पहिलो पटकको गल्ती भए ५०० रुपैयाँ, दोस्रो पटक भए १,००० रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी भए १,५०० रुपैयाँ जरिवाना बेहोर्नुपर्नेछ । जरिवानाको पुर्जी जारी भएपछि सम्बन्धित व्यक्तिले नेपाल सरकारको राजस्व खातामा बैंक वा डिजिटल वालेटमार्फत रकम जम्मा गरेपछि मात्र नियन्त्रणमा लिइएका कागजात फिर्ता पाउनेछन् ।

साम्पाङ प्रत्यक्ष सम्पर्कमा नआएको खण्डमा 'नागरिक एप' मार्फत समेत कारबाही गर्ने तयारी ट्राफिक प्रहरीको छ ।

संविधान र कानूनको नजरमा सबै नागरिक समान हुने भएकाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले पनि नियमको पूर्ण पालना गर्नुपर्ने सन्देश दिन यो कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

साम्पाङ आफैंले सार्वजनिक गरेको भिडियोले नियम उल्लंघनको पुष्टि गरिसकेकाले कारबाहीबाट उम्किने ठाउँ नरहेको ट्राफिक अधिकारीहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्