
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक ३१ लाख ५१ हजार रूपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रासहित पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार दिउँसो १ बजे बाटिक एयरको उडान नम्बर ओडी–१८३ मार्फत काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका यात्रुको जाँचका क्रममा उक्त रकम बरामद गरिएको हो ।
पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताज अली र ५० वर्षीय एमडी जाकिर होस्साइन रहेका छन् । उनीहरूले विदेशी तथा नेपाली मुद्रालाई सुटकेसभित्र फल्स बटम बनाई लुकाएर लैजान खोजेको अवस्थामा ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोहम्मद इन्ताज अलीबाट १० लाख २५ हजार रूपैयाँ तथा एमडी जाकिर होस्साइनबाट १२ लाख ३४ हजार नेपाली रूपैयाँ, एक हजार अमेरिकी डलर र २० हजार मलेसियन रिङ्गिट बरामद भएको छ । बरामद सबै मुद्राको नेपाली मूल्य ३१ लाख ५१ हजार रूपैयाँ बराबर रहेको छ ।
प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानूनी कारबाहीका लागि दुवै नागरिकलाई बरामद मुद्रासहित राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले जनाएका छन् ।
उनका अनुसार अध्यागमन अभिलेखमा मोहम्मद इन्ताज अली २८ पटक र एमडी जाकिर होस्साइन ११ पटक नेपाल आवतजावत गरेको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सिलवालले बताए ।