
लुम्बिनी बौद्ध विश्वविद्यालयले पहिलोपटक मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने भएको छ । मंसिर १४ गते २०औं वार्षिकोत्सव, तेस्रो विशेष दीक्षान्त समारोह र १७औं सभाको अवसरमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न लागिएको हो ।
मंगलबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा मानार्थ विद्यावारिधि उपाधिसँगै विश्व विद्यालयबाट विभिन्न तहमा उत्तीर्ण भएका विद्यार्थीहरूलाई दीक्षित गर्न लागिएको रजिस्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए ।
उनका अनुसार भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न लागिएको हो ।
यस्तै स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी २८९ जना विद्यार्थीहरू दीक्षित हुने रजिस्ट्रार आचार्यले बताए ।
जसमा स्नातकतर्फ ८८ जना, स्नातकोत्तरतर्फ १८६ जना, विद्यावारिधितर्फ ७ जना, पीजीटीतर्फ ८ जना विद्यार्थी रहेका छन् ।
दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ जना विद्यार्थीहरूलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिने रजिस्ट्रार आचार्यले बताए ।
२०औं वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली आउने कार्यक्रम छ ।
कार्यक्रमको अवसरमा शान्ति निर्माण र दिगो विकासका लागि गौतम बुद्धका शिक्षाहरू अन्वेषण गर्दै विषयक अन्तर्राष्ट्रिय सेमिनार पनि हुनेछ ।
साउथ एसिया फाउन्डेसनसँगको सहकार्यमा हुने सेमिनारमा १० वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सेमिनारमा पूर्वमन्त्रीहरू, राजदूतहरू, पूर्व राजदूतहरु, विदेशी विश्वविद्यालयका उपकुलपतिहरूको सहभागिता रहने रजिस्ट्रार आचार्यले बताए ।
२०६१ साल मंसिर १४ गते स्थापित विश्वविद्यालयका लुम्बिनी, बुटवल, देवदहमा आंगिक क्याम्पसहरू सञ्चालनमा रहेका छन् ।
दाङ, काठमाडौं, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसहरूमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन् ।
विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको सूचना अधिकारी चुडामणि पोखरेलले जानकारी दिए ।
विभिन्न शैक्षिक कार्यक्रमहरूमा २ हजार ३०८ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ६८ जना विदेशी विद्यार्थीहरूसमेत रहेका छन् ।