२६ असार २०८३, शुक्रबार
उपचुनावपछिको हौसला

उपनिर्वाचनले हौसिएको माओवादी– दशकपछि एक्लै चुनाव लड्ने आत्मविश्वास !

मंसिर २०, २०८१
काठमाडौं
उपनिर्वाचनले हौसिएको माओवादी– दशकपछि एक्लै चुनाव लड्ने आत्मविश्वास !

मंसिर १६ गते भएको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कुनै चमत्कार गरेको होइन । ४४ पदमा निर्वाचन हुँदा अत्यधिक पदमा जितेर कांग्रेसलाई पछाडि पारेको पनि छैन । एउटा (ग्रामथान) गाउँपालिकाको अध्यक्ष कांग्रेसबाट खोस्न सफल भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुख माओवादी होइन, कांग्रेसले जितेको हो । तर, कीर्तिपुरमा एमालेलाई पछाडि पारेको माओवादी जितेको कांग्रेसभन्दा उत्साहित देखिन्छ । कांग्रेसले कीर्तिपुरमा जीत दोहोर्‍यायो, तर उत्साह भने माओवादीमा बढी छ ।

चुनावी समीक्षा गर्न बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले कीर्तिपुरमा पराजित भए पनि कार्यकर्ता जितेसर उत्साहित रहेको टिप्पणी गरे ।

माओवादीले उपनिर्वाचनमा ११ वटा पद जितेको छ । उसले यसअघि आफैंले जितेका हुम्लाको सर्केगाड गाउँपालिका र रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष जोगायो । माओवादीले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख कांग्रेसबाट खोस्यो ।

अघिल्लोपटक ८ वटा जितेकोमा माओवादीले एक पालिका प्रमुख, एक उपप्रमुख र एक वडाध्यक्ष गरी ३ पद थप्यो, जुन कांग्रेसको १९ भन्दा ८ ले कम हो । तर, तेस्रो स्थानमा रहेको एमालेभन्दा ३ ले बढी हो । यीमध्ये पनि कीर्तिपुरमा कांग्रेसभन्दा मात्र पछि परेको विषयमा माओवादीले उत्सव नै मनाएको छ । कांग्रेससँग ७७९ मतान्तरले पछि पर्नु र एमालेलाई २१८ मतले पछाडि पार्नुलाई माओवादीले प्रतिष्ठा मानेको हो । 

‘कीर्तिपुरमा कांग्रेसको मत ९ हजारबाट घटेर ५ हजारमा आयो । एमाले आफूलाई व्यवस्थित संगठनको भएको पार्टी भनेर दाबी गर्छ, उसैलाई जित्यौं । एमालेलाई जित्नु भविष्यका लागि राम्रो आधार बन्नु हो,’ प्रवक्ता सापकोटाले भने, ‘स्वतन्त्रको हल्लाका बीच मत रक्षा मात्रै नगरी बढाउँदा र अर्को चुनावका लागि आधार तय गर्दा माओवादीका साथीहरू उत्साहित भएका हुन् ।’

अध्यक्ष प्रचण्डले पदाधिकारी बैठकमा पनि माओवादी अब एक्लै चुनाव लड्न सक्ने पार्टीका रूपमा अगाडि बढेको टिप्पणी गरेका छन् । ‘हाम्रो प्रारम्भिक चुनावी समीक्षामा नतिजा उत्साहजनक भएकाले अध्यक्षसहितका नेताले खुशी व्यक्त गर्नुभएको छ । यो नतिजाले माओवादी एक्लै लड्न सक्छ भन्ने देखाएको छ,’ सापकोटाले भने, ‘एक्लै लड्दा मात्रै विचार, रणनीति, कार्यनीति, स्पष्टसँग जनताको बीचमा लान सकिन्छ, पहिचान स्थपित गर्न सकिन्छ भन्ने निष्कर्ष माओवादीको छ । स्वतन्त्रहरूले प्रभाव पार्छन् भनिएका बेला प्रतिस्पर्धा आएर दोस्रो भएकोमा पार्टी पंक्ति उत्साही छ ।’ 

null

२०६४ मा काठमाडौं– १० बाट प्रचण्ड विजयी भएका थिए । यही प्रभाव क्षेत्रमा २०७० मा प्रचण्ड तेस्रो हुन पुगे । २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जन कांग्रेसका राजकुमार नकर्मीसँग ५ हजार मतान्तरले पराजित भएका थिए । उनी एमाले उम्मेदवारभन्दा पनि १५ सय मतले पछाडि थिए ।

उनै महर्जनले अघिल्लोपटक (४०९०) भन्दा बढाएर ४५५५ मत ल्याएका छन् । कांग्रेस र एमालेको मत घट्दा आफ्नो मत बढेपछि माओवादी कीर्तिपुरको नतिजालाई लिएर माओवादी उत्साही देखिएको हो । त्यसो त यसपटक कम मत पनि खसेको थियो । 

सीटको हिसाबले दोस्रो भए पनि एक्लै चुनाव लड्दाको सन्देशसहित माओवादीले आफ्नो बार्गेनिङ शक्ति बढेको महसुस गरेको छ । ‘प्रतिस्पर्धाको हिसाबले उपनिर्वाचन महत्त्वपूर्ण र शानदार रहन पुग्यो । सीट संख्यामा हामी दोस्रो भयौं । यस अर्थमा साथीहरूमा उत्साह आएको हो । माओवादी थप एकताबद्ध बन्दा अझै बलियो बन्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ,’ सापकोटाले भने, ‘यस्तो परिदृश्यमा वामपन्थीबीच वृहत् एकताका लागि माओवादीले नेतृत्व गर्ने स्थिति बन्दै गएको छ ।’

पार्टी दोस्रो भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुसियालीमा तत्काल विज्ञप्ति जारी गरे । कतिपय ठाउँमा कांग्रेस र एमाले मिले पनि एक्लै चुनाव लडेको माओवादीलाई जनताले रुचाएको उनको भनाइ छ । ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ,’ निर्वाचनमा पार्टी दोस्रो भएपछि विज्ञप्ति जारी गर्दैै प्रचण्डले भनेका थिए, ‘यसबाट हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।’

आफू नेतृत्वको सरकारले शुरू गरेको सुशासनको एजेन्डालाई समेत जनताले अनुमोदन गरेको प्रचण्डले बताए । ‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा नयाँ संकल्पको रूपमा लिएको थियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’

एक्लै चुनाव लड्ने उद्घोष

२०६४ को पहिलो संविधानसभामा माओवादीले प्रत्यक्षमा १२० र समानुपातिक १०० सहित २२० सीट जितेर पहिलो दल भएको थियो । तर, त्यसपछि टुटफुटको अनेक शृंखला भोगेको माओवादी निरन्तर ओरालो लाग्यो । २०७० मा माओवादीले १५४ सीट गुमाउँदा ८३ मा सीमित भयो । त्यसपछि २०७४ मा एमालेसँग मिलेर लड्दा ८३ बाट ५३ मा झर्न पुग्यो ।

२०७९ मा माओवादी फेरि कांग्रेससँग मिलेर चुनावमा उत्रियो । तर, यो चुनावमा माओवादी झन् ३२ सीटमा खुम्चियो । तेस्रो दल भए पनि एमाले, कांग्रेस र फेरि एमालेसँग मिलेर माओवादीले सरकारको नेतृत्व गर्‍यो । तर, पहिलो र दोस्रो ठूलो दलसँग बार्गेनिङ गरेको भन्दै माओवादीलाई गत असार ३० गते यता कांग्रेस–एमालेले सरकारबाहिर राखेका छन् । धेरै वर्षपछि सत्ताबाहिर पुगेर उपचुनावमा राम्रो नतिजा ल्याएपछि माओवादी हौसिएको छ ।

null

माओवादी ठूला दलसँग टाँसिएर मात्रै अस्तित्व रक्षा गर्न सक्छ भन्ने भाष्य निर्माण भइरहेको थियो, किनकि २०७० यता माओवादी एक्लै चुनाव लडेको छैन । तर, ११ वर्षपछि केही ठाउँमा कांग्रेस र एमाले मिल्दा पनि जित्न सक्दा माओवादी आगामी निर्वाचन एक्लै लड्ने उद्घोष गर्ने स्थितिमा पुगेको छ । 

‘अब विगतका सबै कमजोरीको समीक्षा गर्दै २०८४ को चुनावका लागि धेरै राम्रो तयारी गर्छौं । राम्रो गर्न उपचुनावले आधार प्रदान गरेको छ । हामी बीचमा केही बरालियौं । अहिले आएर जनता र हाम्रो मन एकै ठाउँमा भएजस्तो भएको छ,’ प्रवक्ता सापकोटाले भने, ‘जनतालाई पनि अन्तिममा हाम्रो हित गर्ने पार्टी माओवादी नै हो कि जस्तो लागेको छ । हामीलाई पनि यति महान जनता र वर्गसँग जोडिने कुरामा कमी भएको हो कि भन्ने लागेको छ । जनता र पार्टीको कुरा मिलेपछि २०८४ सालको चुनावमा परिवर्तन र अग्रगमनका पक्षमा रहनेछौं ।’ 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ उपनिर्वाचनले माओवादीलाई सत्तामा नभई संगठनमा जाऊ भन्ने सन्देश दिएको बताउँछन् । ‘उपनिर्वाचनको नतिजाले माओवादी धेरै फुर्किन जरुरी छैन । तर, पहिलेभन्दा राम्रो नतिजा आएकाले सत्ताबाहिर बस, संगठन गर भन्ने सन्देश प्रवाह भएको छ,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘पार्टी नेतृत्वपंक्ति बिग्रिए पनि माओवादीका तलका आधार र कार्यकर्ता बिग्रिएका छैनन् भन्ने उपचुनावले देखाएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्