
नेपाली कांग्रेसको इतर पक्षका नेता डा. शेखर कोइराला पार्टी संस्थापनसँग भिड्ने मुडमै देखिएका छन् । पार्टी सर्कुलरका बाबजुद कोशीमा पालिका सभापतिको भेला नरोकेका शेखरले पार्टीले गरेको प्रदेश सम्मेलन भने बहिष्कार गरेका छन् ।
कांग्रेसले २२ मंसिरको कोशी प्रदेश सम्मेलनअगाडि कुनै भेला नगर्न औपचारिक सर्कुलर गरेको थियो । तर, शेखरले विराटनगरमा मंसिर १९ र २० गते पालिकास्तरीय सभापतिको भेला आयोजना गरे ।
शनिबार सभापति, केन्द्रीय पदाधिकारी र शीर्ष नेताको उपस्थितिमा विराटनगरमा कोशी प्रदेश सम्मेलन भयो । तर, शेखरले सो सम्मेलन बहिष्कार गरे ।
पार्टीले उपस्थितिका लागि निम्तो पठाए पनि शेखरले बेवास्ता गरिदिए । प्रदेश सम्मेलन छाडेर शेखर शनिबार चितवनस्थित केन्द्रीय सदस्य दिनेश कोइरालाका बुवाको शोकसभामा सहभागी भए । शेखरका स्वकीय सचिव दिनेश थपलिया ढिला गरी निमन्त्रणा आएकाले कोशी प्रदेशको सम्मेलनमा शेखर सहभागी नभएको बताउँछन् ।
‘२२ गतेको कार्यक्रमका लाग १७ गते बिहान मात्रै पार्टीले निमन्त्रणा पठायो । तर, चितवनमा शोक सभाको कार्यक्रम पहिले नै तय भएको थियो । यसैले विराटनगरको कार्यक्रममा शेखर दाइ जान नसक्नुभएको हो,’ थपलियाले भने, ‘बाहिर आएजस्तो बहिष्कार गरेको होइन ।’
तर, कोशी प्रदेशस्थित पालिका सभापतिको भेला रोक्न पार्टीले पठाएको सर्कुलरमा शेखरले असन्तुष्टि जनाएको थपलियाले बताए । अघिल्लो दिन नै शेखरको सचिवालयले चितवन कांग्रेसको लेटरहेडबाटै कार्यक्रममा सहभागी हुने जानकारी सार्वजनिक गरेको थियो । चितवन पुगेर पालिका सभापतिको भेला रोक्न केन्द्रले पठाएको सर्कुलरमा चित्त नबुझेको उनले बताएका थिए ।
‘कोशीमा पालिकास्तरीय सभापतिको भेला पूर्वनिर्धारित नै थियो । मैले कार्यक्रम बहिष्कार गरेको होइन । तर, केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर आधिकारिक होइन भनिदियो । मिलेर गर्ने भनेको कार्यक्रमलाई यस्तो भनेपछि मेरो चित्त दुखेको हो,’ शेखरले भनेका थिए, ‘नआउनुपर्ने वक्तव्य आएपछि म पहिले नै तय भएको कार्यक्रममा सहभागी हुन आएको हुँ ।’
एमालेमा केपी ओलीले भनेको जे पनि मान्नुपर्ने स्थिति रहे पनि कांग्रेसमा यस्तो परम्परा नमान्ने चेतावनी समेत शेखरले देउवालाई दिए । शेखरले पहिले नै तय भएको भने पनि पालिकास्तरीय सभापतिको भेला नराखिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘मंसिर २२ गते कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला भनी प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने/नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले मंसिर २२ मा हुने सम्मेलनपूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराइन्छ’ विज्ञप्तिमा उल्लेख छ ।
शेखरले कार्यक्रम बहिष्कार गरेपछि महामन्त्री गगन थापाले समेत असन्तुष्टि जनाए । प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै थापाले पार्टीसँग संयोजन नै नगरी भेला र प्रशिक्षणको कार्यक्रम गर्न नहुने बताएका थिए ।
‘यसअघि पनि रुपन्देहीले १६५ क्षेत्रीय सभापति र कास्कीले ७७ जिल्ला सभापतिको भेला बोलाउन खोज्दा हामीले केन्द्रले घोषणा गर्दा संयोजन गर्नुस् भन्यौं,’ सर्कुलरका बाबजुद शेखरले भेला नरोकेबारे गगनले भने, ‘कुनै पनि नेतालाई देशभर घुम्न, संगठन गर्न निषेध छैन, यसैले समन्वय र संयोजन गरेर मात्रै कार्यक्रम गरौं भनेका हौं । अरू त्यस्तो केही भनेको छैन ।’
सभापतिसँग आफ्नो पनि सबै कुरा नमिल्ने भन्दै गगनले पाएको जिम्मेवारी र पदअनुसार सबैले काम गर्नुपर्ने बताएका थिए । गगनले असन्तुष्टि जनाएपछि शेखरलाई शनिबार चितवनमा सञ्चारकर्मीले उनीसँगको सम्बन्धबारे प्रश्न गरे । तर, शेखरले आफू सभापतिमा उठ्ने पक्का भएकाले गगन के गर्छन् भन्नेमा आफू जानकार नभएको टिप्पणी गरे ।
‘म सभापतिमा उठ्ने क्लियर छ । गगनजी के गर्नुहुन्छ, उहाँको कुरा हो,’ शेखरले सञ्चारकर्मीसँग भने, ‘उहाँले के गर्नुहुन्छ, उहाँसँग सोध्नुस् । हामीबीच खटपट छैन । केही कुरा भए बसेर मिलाउन सकिन्छ ।’
१४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई चुनौती दिन शेखर र गगन एउटै कित्तामा उभिएका थिए । सभापतिमा शेखर पराजित भए । तर, महामन्त्रीमा गगन विजयी भए । संसदीय दलको नेताको चुनावमा शेखर समूहले देउवाविरुद्ध गगनलाई उम्मेदवार बनायो । तर, शेखर पक्षको ३३ मध्ये २५ मत मात्रै गगनले प्राप्त गरे । यसपछि दुई नेताबीचको सम्बन्ध चिसिँदै आएको छ । देउवाले अब सभापतिमा दाबेदारी गर्न मिल्दैन । यसैले देउवालाई खुशी पार्न दाबेदारहरूबीच केही समययता प्रतिस्पर्धा नै चलेको छ ।
यही बेला शेखर संस्थापनमाथि दबाब बढाउने रणनीतिमा देखिएका छन् । कांग्रेसमा १४ औं महाधिवेशनपछि शेखरलाई सभापतिपछिको वरीयता नदिएको विषयमा विवाद कायम छ । यसपटक पनि शेखरले आफूलाई सभापतिपछिको वरीयता दिने र त्यसैअनुसार कार्यक्रममा सहभागी गराउने भए सम्मेलनमा आउन सक्ने जनाउ दिएको बताइन्छ ।
शेखरनिकट नेता डा. गोविन्दराज पोखरेल सामान्य विषयलाई ठूलो बनाएर चर्चा गरिएको बताउँछन् ।

‘शेखर दाइ केही दिन अगाडिमात्रै मोरङ र सुनसरीका कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यसैले पहिल्यै तय भएकाले चितवनको कार्यक्रममा पुग्नुभयो,’ पोखरेलले भने, ‘पार्टीमा के–के भयो भनेर ठूलो इस्यु बनाइयो । तर, यो स्पेसल कार्यक्रम पनि थिएन । उहाँमात्रै होइन, उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मासमेत जानुभएन ।’
यद्यपि, पालिका सभापतिको भेला रोक्न पार्टीले गरेको सर्कुलरले स्थितिलाई बिथोल्ने काम गरेको पोखरेलले बताए । ‘पार्टीका वडा, पालिका र जिल्लाले कार्यक्रम गर्न नपाउने तानाशाही चरित्र हो । कम्युनिस्ट पार्टी र पञ्चायतमा मात्र यस्तो हुन्थ्यो,’ पोखरलले लोकान्तरसँग भने, ‘कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले नै कार्यक्रम नगर भन्ने सोच राख्नु र विज्ञप्ति जारी गर्नु हदैसम्मको अलोकतान्त्रिक कदम हो । यस्तो प्रवृत्तिको विरोध भइरहन्छ ।’
पार्टीको गतिविधिसँग असन्तुष्टि राखेका शेखरले चितवन पुगेर रवि लामिछानेलाई १२ बजे उठाएर पोखरा लैजानु अमानवीय भएको पनि बताएका थिए । पार्टी र सरकारका काम गराइका विषयमा फरक मत राख्दै शेखरले यसपटक रविको बचाउमा बोलेका हुन् ।
कांग्रेस नेता गुरु घिमिरे कांग्रेसमा अब महाधिवेशनकेन्द्रित ध्रुवीकरण देखिन थालेको बताउँछन् ।
‘अहिले विराटनगरको कार्यक्रमलाई लिएर देखिएको समस्या नेतृत्वका कारण सिर्जित भएको हो, किनकि पेचिलो स्थिति यसपटक प्रकट भयो । प्रजातान्त्रिक पार्टीमा राजनीतिक समझदारी नहुने, आपसी परामर्श, निर्णय प्रक्रियामा जिम्मेवार नेतालाई सहभागी नगराउने हुँदै आयो । पार्टीको विचलन रोकिएन,’ घिमिरेले भने, ‘यसपटक शेखर दाइले सुर कसेको देखिन्छ । उहाँको वरिपरि धेरै साथीहरू संगठित हुन र एउटा बाटो तय गर्नुपर्छ भन्ने देखिएको छ । छरपस्ट अवस्थालाई कति कुशलतासाथ अगाडि बढाउनुहुन्छ, यसैले शेखर दाइको बाटो तय गर्छ ।’
आफ्नो टीमबाट जितेका महामन्त्री थापा आफूसँगै असन्तुष्ट बने पनि शेखरले अन्य नेताको साथ लिने गरी गतिविधि अगाडि बढाएका हुन् । इतरसमूहको प्रमुख नेताको हैसियतमा शेखरले दोस्रो तहका नेतालाई आफ्नै वरिपरि राख्नेगरी रणनीति बनाएका छन् ।
अब कोशीको जस्तै कार्यक्रम नियमितरूपमा अन्य प्रदेशमा पनि गर्ने, दोस्रो तहका नेतालाई सहभागी गराउने र ध्रुवीकरण थप बढाउने रणनीतिमा शेखर छन् । देउवाको अनिवार्य अवकाशको बेला भएकाले उनकोजस्तो कमजोरी नगर्ने कुशल नेता कांग्रेसले खोजेको घिमिरे बताउँछन् ।
‘सभापतिको अब सक्रिय राजनीतिबाट अवकाश हो । यस्तो मोडतर्फ अगाडि बढेको नेतालाई विश्वासमा लिएर अगाडि बढौं भन्ने नेताहरूलाई लाग्नु स्वभाविक हो । अकस्मात निधन हुँदा गिरिजाबाबु र सुशीलदाले बिदाइको भूमिका देखाउन सक्नुभएन,’ घिमिरले भने, ‘नेृतत्वमा आउनका लागि संस्थाका कमजोरीलाई हटाएर सिद्धान्त तथा विधानअनुसार चल्ने/चलाउने व्यक्ति र आत्मकेन्द्रित अवस्थाबाट उठेर संस्थाकेन्द्रित हुनुपर्ने अवस्था छ । अन्यथा नेतृत्व फेरिने, पार्टी उही बाटोमा हिँड्ने विचलन जारी रहन्छ ।’
कांग्रेसका एक केन्द्रीय सदस्य पछिल्लो समय शेखर कोइरालाले ‘अल्टर अल्टर कुरा’ र गतिविधि गर्दै हिँडेको बताउँछन् । ‘१४ औं महाधिवेशनदेखि अहिलेसम्म शेखर दाइको कदम एकनाशको छैन । पछिल्लो समय त उहाँका कुरा र काम अल्टर देखिएका छन्,’ ती नेताले भने, ‘कोशीमा पार्टीले समन्वय गरेर मात्रै कार्यक्रम गर भन्दा मान्नुभएन । भिड्ने हिसाबले पालिका सभापतिको कार्यक्रम गर्नुभयो । तर, दुई दिनपछि हुने प्रदेश सम्मेलनलाई बहिष्कार गर्नुले उहाँको व्यवहार एकनास छैन भन्ने देखाउँछ ।’
ध्रुवीकरण नगरी एक खालको मान्छेलाई फाइदा नहुने लागेकाले उनीहरूले शेखरलाई उचालेको समेत ती नेताले बताए ।
शेखरले बहिष्कार गर्दा शशांकले छोपे अवसर
शेखरले विराटनगरको कार्यक्रम बहिष्कार गर्दा कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले अवसर छोपेका छन् । उनले सभापति देउवालाई विराटनगरस्थित कोइराला निवासमा स्वागत गरेका थिए । देउवाले कांग्रेसमा कसलाई विरासत बिसाउँछन् भन्ने अलमल छ । तर, शेखरले संस्थापनसँग भिड्ने गरी कार्यक्रम बनाउँदै गर्दा शशांक देउवालाई थप नजिक्याउने ध्याउन्नमा देखिएका हुन् ।
शेखर असन्तुष्ट भइरहँदा शशांकले कांग्रेस राजनीतिको ऐतिहासिक स्थल कोइराला निवासमा देउवासँग अर्थपूर्ण भेट गरेका हुन् । सयौं नेता/कार्यकर्तासहित शशांकले देउवालाई चिया खुवाएर प्रदेश सम्मेलनमा पठाएका हुन् । शशांक पनि सभापतिका लागि देउवाबाट आशीर्वाद पाउने दाउमा छन् ।
१३ औं महाधिवेशनमा फरक समूहबाट महामन्त्री जित्दा र १४ औं महाधिवेशनपछि शशांकले सभापतीय प्रणाली भन्दै देउवालाई नचिढ्याउने नीति लिएका छन् ।
तर, कांग्रेसका एक नेता देउवाको आशीर्वादभन्दा शशांकले बढी ‘शो अप’ गरेको बताउँछन् ।
‘सभापतिको आशीर्वाद पाऊँ भनेर शेखर नभएको मौकामा कोइराला निवासमा देउवासँगै फोटो खिचाएको हुन सक्छन्,’ ती नेताले भने, ‘यसमा सभापतिको भन्दा शशांक दाइको फोटो 'शो अप'कै उद्देश्य हो भन्ने लाग्छ ।’
देउवालाई शशांकले स्वागत गरेको फोटो शेखरका स्वकीय सचिवले पनि सार्वजनिक गरेका थिए । ‘कोशी प्रदेश सम्मेलन उद्घाटनका लागि विराटनगर आउनुभएका नेपाली कांग्रेसका सभापति श्रद्धेय शेरबहादुर देउवा विराटनगरस्थित कोइराला निवासमा’ सामाजिक सञ्जालमा फोटो शेयर गर्दै शेखरका स्वकीय सचिव थपलियाले लेखेका थिए ।
शेखरको टीमले यसरी फोटो सार्वजनिक गर्नुमा कोइरालाहरू एकढिक्का हुँदैछन् भन्ने सन्देश लुकेको पनि हुन सक्ने एक नेताले बताए ।