२३ असार २०८३, मंगलबार
विदेशबाट फर्केर कृषि कर्म

महामारीमा गाउँ फर्किएका मेघनाथ : यसपालि ४३५ मुरी धान फलाए, अब 'पहाडिया चामल' बेच्ने योजना

'मेहनत गरे साउदी/कतारभन्दा धेरै पैसा नेपालमै कमाउन सकिन्छ'
मंसिर २९, २०८१
बुटवल
महामारीमा गाउँ फर्किएका मेघनाथ : यसपालि ४३५ मुरी धान फलाए, अब 'पहाडिया चामल' बेच्ने योजना

गाउँदेखि शहरसम्म देश छोडेर परदेश जाने लर्को छ । रोजगारी होस् वा अध्ययनका नाममा अधिकांश युवा विदेश गइरहेका छन् र जान चाहन्छन् । देशमा रोजगारीको अवसर नभएपछि विदेशिनुको विकल्प नरहेको उनीहरू तर्क गर्छन् ।

विदेशिनेको लर्को लागिरहेका बेला नेपालमै बसेर ‘माटोमा सुन फलाउनेहरू’को पनि कमी छैन । गुल्मीको धुर्कोटका मेघनाथ अर्याल यसैका उदाहरण हुन् । 

विदेशबाट फर्किएर उनले गाउँमै कृषिमा ‘तरक्की’ गरेर देखाएका छन् । धुर्कोट गाउँपालिका–५ रजस्थल चौरासीका ५३ वर्षका अर्यालले यसपालि गाउँमै ४३५ मुरी धान फलाए ।

केही आफ्नो र केही खेत भाडामा लिएर १२८ रोपनीमा धान रोपेका उनले ४३५ मुरी धान फलाएर धेरैको ध्यान मात्रै खिचेनन्, कृषि कर्मका लागेकाहरूलाई हौसला पनि दिएका छन् । उनले गरेको कर्म नेपालमा केही हुँदैन भनेर विदेश पलायन हुन खोज्नेहरूलाई जवाफ पनि हो ।

साढे दुई लाख रूपैयाँ खर्चिएर धान रोपेका उनले विदेशजस्तै मेहनत गरे देशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने देखाएका छन् । मेघनाथले धान मात्र फलाएका छैनन् उनले गोठमा भैँसी पनि पालेका छन् ।  व्यवसायीक रूपमा दूध पनि उत्पादन गर्छन् ।

उनी विदेशबाट फर्किएका व्यक्ति हुन् । अर्याल सन् २०१० मा दक्षिण कोरिया गएका थिए । उनी त्यहाँ तीन वर्ष बसे । त्यसपछि अर्याल बुटवलमा बस्दै आएका थिए ।  कोभिड महामारीपछि उनी गाउँ फर्किएका हुन् ।

गाउँका मानिस शहर पसेर खेतीयोग्य जमिन बाँझिँदै गएको देखेपछि आफू गाउँ फर्केको उनी बताउँछन् । ‘कृषि जीवन हो, परिश्रम सफलता हो,’ अर्याल भने, ‘सही योजना, परिश्रम र नयाँ प्रविधिको प्रयोगबाट कृषिलाई आय स्रोतको मुख्य माध्यम बनाउन सकिन्छ । कृषिमा लगानी र मेहेनत गर्दा मात्र नेपाली युवाले विदेशको विकल्प स्वदेशमा पाउन सक्छन् ।’

मेहनत गर्नेलाई गाउँमा खान/लाउन कुनै दुःख नहुने उनी बताउँछन् । ‘बसाइँसराइका कारण ग्रामीण क्षेत्रका उर्वर भूमि बाँझिन थालेपछि म गाउँ फर्किएँ,’ उनले भने, ‘जब म कोरियामा गरेको परिश्रम सम्झिन्छु, यहाँ अझै मेहनत गर्न हौसला आउँछ। मेरो कर्मप्रतिको समर्पण र कृषि गर्ने चाहना अब कहिल्यै परिवर्तन हुने छैन । यो शुरूआत मात्रै होइन, मेरो अबको जीवनभरिको प्रेरणाको आधार पनि हो ।’

मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक नजिकै उनले घर बनाएका छन् । विस. २०५९ सालमा कोरिया पुगेर २०६२ सालमा स्वदेश फर्किएका अर्यालले शहरजस्तो महल गाउँमा बनाएका छन् । घर नजिकै अहिले २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी छन् । दैनिक ८० लिटर दूध उनले तम्घास पठाउँछन् ।

परदेश मोहले गाउँ रित्तिरहेका बेला अर्यालले चार सय मुरी धान फलाए । उनले धानमात्रै फलाएका छैनन्, गोठमा टन्नै भैँसी पनि पालेका छन् । दैनिक ८० लिटर दूध बेच्छन् ।

तराईं झरेकालाई पहाडको चामलको स्वाद चखाउने उद्देश्य राखेका उनले चामल ‘प्याकेजिङ’ गर्ने योजना बनाएका छन् । अहिले गाउँबाट साढे २०० रुपैयाँ प्रतिकिलो चामल बजार पुग्ने गरेको छ। धानको भुस भैँसीलाई दानाको रूपमा प्रयोग गरिरहेका छन् ।

‘कृषिमा मेहनत गरियो भने साउदी/कतारभन्दा धेरै पैसा गाउँमै कमाउन सकिने रहेछ । अर्काको देशजस्तो कठिन काम पनि गर्नु पर्दैन । विदेशजस्तैगरी कृषिमा मेहनत गरियो भने यहाँ त उद्यमी पो भइन्छ,’ अर्याल भन्छन्, ‘सरकारले कृषिमा आधुनिकीकरण गरेर लगानी बढाए धेरै नेपालीले कामकै लागि विदेशिनु पर्दैन । कृषिमा पैसा मात्र होइन, रोजगारीसमेत सिर्जना हुन्छ ।’

नेपालको कृषि क्षेत्र विकास भए अर्थतन्त्रमा सुधार आउने उनको विश्वास छ । यसले बेरोजगारी दरसमेत घट्ने अर्याल बताउँछन् । उनी थप्छन्, ‘खाडीका देशले बालुवामा सुन फलाएको आफ्नै आँखाले देखेको छु । ती देशमा कृषि क्षेत्रको विकासमा नेपालीले नैं काम गरिरहेका छन् । नेपालमा यहाँको माटो र मौसमले समेत साथ दिएका कारण कृषिका लागि यो भूमि उर्वर छ,’ उनी भन्छन् । धान भित्र्याएलगत्तै जग्गामा उनले मकै खेती, घाँस र तरकारी लगाइरहेका छन् ।

उनलाई श्रीमती ताराको दरिलो साथ छ । अर्यालको कृषि कर्मका कारण स्थानीय दर्जनौँ व्यक्तिले रोजगारी पाएका छन् । अर्यालले वि.स.२०७७ सालमा गाउँ फर्किएका उनले एक करोड लगानीमा २०७८ देखि व्यावसायिक भैँसीपालन शुरू गरेका थिए ।

उनले खेती गरिरहेको फाँटमा सिँचाइको ठूलो संकट छ । मेघनाथ पालिकासहित थुप्रैपटक प्रदेश र संघ सरकार गुहार्न पुगे पनि सिँचाइ योजना परेको छैन । ‘उपयोगी ठाउँमा काम नहुने बिडम्बना छ’ उनले भने, ‘पालिकाबाट स्रोतअनुसार स–साना काममा सहयोग भने गरेको छ ।’

राज्यको नीति किसानको पक्षमा नरहेको उनको भनाइ छ । ‘विदेशमा रहेका साथीभाइले धेरै राम्रो गरेको भन्नुहुन्छ । सबै क्षेत्रबाट बधाई पाउँदा खुसी छु । किसानको पक्षमा राज्यको नीति नहुँदा भने दुःख लाग्छ,’ उनले भने ।  

कृषि उपजको समर्थन मूल्य, भूमि बैंक तथा खेतीयोग्य जमिनको पूर्ण सदुपयोग, अर्गानिक खेतीलाई प्रोत्साहन, दक्ष प्राविधिकको उपलब्धता र बजारीकरण, युवा शक्तिलाई आकर्षण गर्न सके नेपालको कृषि क्षेत्रले फड्को मार्न सक्ने अर्याल बताउँछन् ।

कृषि क्षेत्रमा तीन तहका सरकारबीच समन्वय र सहकार्यगरी उत्पादनमा जोड दिनुपर्ने उनी बताउँछन् ।

कृषि क्षेत्रतर्फ वास्तविक किसानलाई बिउविजन, मल तथा सिँचाइको सहज आपूर्ति गराएर उत्पादन लागत घटाउँदै भारतीय उत्पादनसँग प्रतिस्पर्धी नबनाएसम्म कृषि क्षेत्रबाट ठूलो अपेक्षा गर्न नसकिने अर्यालको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्