
नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडा/चुट्का’मा आधारित छ ।
सार्वजनिक ‘मखमली’ गीतले यस चलचित्रका अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई व्यक्त गरेको छ ।
गण्डक क्षेत्रमा चर्चित मानिने यो भाका चलचित्रमा भने पूर्वी नेपालको पाँचथरको संस्कृतिमा मिसाइएको छ । यस चलचित्रको छायांकन पाँचथर र नेपाल-भारत सिमाना फालेलुङमा गरिएको छ ।
गीतमा सुजन चापागाईं र सुनिता थेगिमको स्वर रहेको छ भने हर्क साउदको शब्द रचना र गायक चापागाईंकै संगीत रहेको छ ।
दीप गुरुङले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा अभिनेता विल्सन विक्रम राईलाई रोचक भूमिकामा राखिएको छ ।
२०८२ सालको वैशाख २६ गते रिलिज हुने यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।
नवीन चौहानले निर्देशन गरेको ‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रालिले निर्माण गरेको पहिलो फिचर चलचित्र हो ।