२४ असार २०८३, बुधबार

तिलगंगा आँखा प्रतिष्ठान रूपनगरको प्रभावकारी सेवा, हजारौँ लाभान्वित

पुस २१, २०८१
काठमाडौं
तिलगंगा आँखा प्रतिष्ठान रूपनगरको प्रभावकारी सेवा, हजारौँ लाभान्वित

तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित 'तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र'ले सेवा शुरू गरेको एक वर्ष पुग्नै लाग्दा २ हजार ४०० भन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको छ ।

गत वर्ष माघ १९ गते औपचारिक रूपमा उद्घाटन गरिएको यस अस्पतालले आँखा जाँच, चश्मा परामर्श, चश्मा निर्माण, र सामान्य शल्यक्रियासमेत उपलब्ध गराउँदै आएको छ ।

वार्षिक रूपमा सञ्चालन हुने निशुल्क आँखा शिविर यस वर्षदेखि आवधिक रूपमा सञ्चालन हुने योजना छ । मङ्सिरको दोस्रो हप्तामा आयोजित निशुल्क आँखा शिविरमा एक हजारभन्दा बढी व्यक्तिको आँखा जाँच गरिएको थियो ।

तीमध्ये ४०६ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको आँखा केन्द्रका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । शिविरका लागि तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँबाट विशेषज्ञ चिकित्सकहरूको टोली आउने गरेको छ ।

यस अस्पतालले स्वास्थ्य स्वयंसेविका र विद्यालयका शिक्षक-शिक्षिकाहरूलाई आँखा स्वास्थ्य सम्बन्धी तालिमसमेत प्रदान गरेको छ ।

अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदका अनुसार हालै सम्पन्न दुई तालिममा ३० जना स्वास्थ्य स्वयंसेविका र ३३ जना शिक्षक-शिक्षिकालाई तालिम दिइएको थियो।

'तालिम प्राप्त गरेकाहरूले गाउँ र विद्यालयमा सामान्य आँखा जाँच गर्न थालेका छन्,' साउदले भने ।

तिलगंगा आँखा प्रतिष्ठान, कञ्चनरूप नगरपालिका र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रको सहकार्यमा सञ्चालित यो अस्पतालले नयाँ नेतृत्व पाएको छ । वरिष्ठ नेत्र सहायक धर्मराज यादवले आजदेखि प्रमुखको जिम्मेवारी सम्हालेका छन् । पूर्वप्रमुख चन्द्रकान्त चौधरी सरूवा भई बिदा लिएका छन् ।

आइतवार आयोजित विदाई तथा स्वागत कार्यक्रममा कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका अध्यक्ष अमर श्रेष्ठले चौधरीज्यूलाई कुशल सेवा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै धर्मराज यादवलाई स्वागत गरे । \

रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले प्रतिष्ठानले गाउँलाई प्रदान गरिरहेको स्वास्थ्य सेवा विशिष्ट रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्