०२ असार २०८३, मंगलबार
नेकपा एसका दु:ख

त्रासैत्रासमा माधव नेपाल !

माघ ८, २०८१
काठमाडौं
त्रासैत्रासमा माधव नेपाल !

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी त्रासैत्रासमा छ । २०७८ भदौ २ गते माधव नेपालको नेतृत्वमा एमालेबाट छुट्टिएर बनेयताको ३ वर्षमा नेकपा एस निरन्तर त्रासमा चल्दै आएको छ । 

कहिले पार्टीका जिम्मेवार नेताको पलायन, कहिले पार्टी नै फुट्ने त कहिले भरोसा गरेकाप्रतिकै अविश्वासले अध्यक्ष नेपाल निरन्तर त्रसित बन्दै आएको नेताहरू बताउँछन् । 

वामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने गरी मिलिसकेको विषयको च्याप्टर क्लोज भएको घटनाबाट समेत नेपाल त्रसित बनेको एक नेताले बताए ।

‘केही दिन अगाडिसम्म निरन्तर वार्ता गरेर वामदेव गौतम नेकपा एसमा आउने पक्का भएको थियो । उहाँ आफैंले उत्साही भएर अब माधव कमरेडसँगै जाने पनि बताउनुभयो,’ नेकपा एसका ती नेताले भने, ‘उत्साही वामदेवले नेपालसँग तपाईंको पार्टीका धेरैले मलाई असल अभिभावक मानेको पाएँ भन्दै सुनाएपछि उहाँ (नेपाल) झसंग हुनुभएछ । ल बर्बाद मलाई पनि किनारामा पुर्‍याएर पार्टी फुटाउँछन् भन्ने त्रासले वामदेवलाई नेकपा एसको ढोका बन्द हुन पुगेको हो ।’

वामदेवले उत्साह जगाएर धेरै नेता/कार्यकर्ता ल्याउने आश्वासन नेपाललाई दिएका थिए । तर, वामदेवले मलाई अभिभावक ठान्ने ठूलो पंक्ति छ भनेपछि नेपालले उनको फोन नै उठाउन छाडेको ती नेता बताउँछन् । यसपछि बाध्य भएर गौतम एमाले प्रवेशको तयारीमा पुगेको उनले बताए ।

तर, नेपाल ३ वर्षमा त्रासमा रुमल्लिएको यो पहिलोपटक होइन । शुरूदेखि नै असन्तुष्ट रहेका झलनाथ खनाल, एमालेमा नअटाएका भीम रावलदेखि रामकुमारी झाँक्री समेतका कारण पनि नेपाल त्रासमा रहने गरेको ती नेता बताउँछन् । 

‘अध्यक्ष नेपाल र सिंगो नेकपा एस रुमल्लिँदै आएको यो पहिलोपटक होइन । झलनाथ खनालदेखि झाँक्री र प्रेमबहादुर आलेसम्मले अत्याइरहेका छन्,’ ती नेता भन्छन्, ‘अर्कातिर कतिखेर अध्यादेश ल्याएर पार्टी फुटाइदिन्छन् भनेर पनि निरन्तर अत्यास र तनावमा नेपाल हुनुहुन्छ ।’

१० मध्ये आधाभन्दा बढी सांसदले पार्टी फुटाएर जान खोजेका कारण पनि नेपाल निरन्तर दबाब र तनावमा पर्दै आएको ती नेता बताउँछन् । नेताहरूको व्यवस्थापन, उचित जिम्मेवारी र आवश्यक अग्रसरता नलिए नेकपा एसमा झन् तनावको स्थिति आउने उनको चिन्ता छ ।

१० मध्ये आधाभन्दा बढी सांसदले पार्टी फुटाएर जान खोजेका कारण पनि नेपाल निरन्तर दबाब र तनावमा पर्दै आएको ती नेता बताउँछन् । नेताहरूको व्यवस्थापन, उचित जिम्मेवारी र आवश्यक अग्रसरता नलिए नेकपा एसमा झन् तनावको स्थिति आउने उनको चिन्ता छ ।

‘हाम्रै केही सांसदले अध्यादेश ल्याए पार्टी फुटाउन अग्रसर हुन्थ्यौं भनेर एमालेलाई गुहारेको साँचो हो । तर, कतिपय कानूनी हिसाबले पनि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन अप्ठ्यारो परेकाले पार्टी जोगिएको छ,’ ती नेता भन्छन्, ‘तर, नेतालाई उचित जिम्मेवारी दिएर व्यवस्थापन गर्न डराउने स्वभावका कारण पनि जोखिम र त्रास लिनुपर्ने स्थिति छ ।’

केन्द्रीय नेताले एकपछि अर्को गर्दै छाड्ने, जनप्रतिनिधि एमालेको सम्पर्क जाने स्थिति बन्दै गएको पनि नेकपा एस स्रोत बताउँछ । 

‘पार्टी बनेदेखि केन्द्रीय नेता, सदस्यदेखि सिंगो जिल्ला कार्यसमिति नै एमाले प्रवेशको लहरमा लागे । देशभर रौतहटबाहेक नेकपा एसले जितेका जनप्रतिनिधि एमालेको सम्पर्कमा पुगेका छन्,’ ती नेता भन्छन्, ‘अर्को चुनावको ६ महिना अगाडिसम्म नेकपा एसमा बस्ने र एमाले प्रवेशको योजनामा देशभरका जनप्रतिनिधि छन् । हामी एमालेमै आउँछौं भनेर धेरैले सम्पर्क  गरेका छन् । तर, पार्टी बेखबरजस्तो गरेर चुपचाप बसेको छ ।’

एमालेबाट पार्टी एकताको प्रस्ताव आउँदा नेपालले अस्वीकार गरेपछि अध्यक्ष ओलीले किस्ताकिस्तामा नेकपा एसका नेतालाई तान्ने नीति लिएको नेताहरू बताउँछन् । 

‘हिजो सँगै काम गरेको पार्टी हो, ठीकै छ, मूलघरमा आउनुहुन्छ भने मिलाएर जान सकिन्छ भनेर एमालेबाट प्रस्ताव नआएको पनि होइन,’ ती नेताले भने, ‘तर अध्यक्षले नै रुचाउनुभएन । यसपछि एमालेले टुक्राटुक्रा गरेर विस्तारै सिंगो पार्टीलाई छिन्नभिन्न बनाउने नीति लिएको छ ।’ 

भीम रावल रावल नयाँ अभियानमा र वामदेव गौतम एमालेमा प्रवेश गरेपछि नेकपा एससँग असन्तुष्ट नेतालाई देखाउने विकल्प झन् कमजोर भएर जाने देखिएको छ ।

‘१० मध्ये ६/७ जना सांसद जतिखेर पनि पार्टी फुटाउन भनेर बसेका छन् । अर्कोतिर एमालेसँग असन्तुष्ट छन् भनेर भीम रावल र वामदेव गौतमलाई देखाउने स्थिति पनि अब रहेन,’ ती नेता भन्छन्, ‘सुदूरपश्चिम भीम रावलको हुने, अरु असन्तुष्टलाई वामदेवले एमालेमा हुल्ने र पार्टीका जनप्रतिनिधि पनि एमालेको सम्पर्कमा जाने भएपछि अन्तिममा रौतहट जिल्ला र यहाँका प्रतिनिधि मात्रै नेपालसँग रहने जोखिम छ ।’ ओलीले गौतमलाई भित्र्याएर राष्ट्रिय सभामा सत्तारुढ दलको एक सीट बढाउने नीति लिएका छन् । 

समयमा चाहेको भए वामदेव र रावललाई नेपालले पार्टीमा भित्र्याउन सक्ने स्थिति भएको ती नेताले बताए । तर, दुवैले पार्टी कब्जा गर्ने र एमालेमा मिसाउने डर नेपालले पालेको ती नेताको जिकिर छ ।

‘एमालेसँग धेरै दूरी बढिसकेका वामदेव र रावललाई पार्टीमा ल्याउन सकेको भए एउटा सन्देश हुन्थ्यो । यस्तोमा भोलि एमालेसँग एकीकरण गर्दा पनि स्थिति बलियो हुन्थ्यो,’ ती नेता भन्छन्, ‘तर, समाधान होइन शंका मात्रै पाल्दा यी दुवै नेता आ–आफ्नो बाटोमा लागे । यस्तोमा कमजोर विकल्पमा पार्टी चलाइरहनुपरेको छ । अब झन् एमाले प्रवेश गर्ने क्रम बढेर जानेछ ।’

पार्टी निरन्तर कमजोर बन्दै गएपछि पछिल्लो समय माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा समाजवादी मोर्चालाई पुनः सक्रिय गराइएको छ । पार्टी फुटाउने अध्यादेशको डरले विरोध र दबाबको लागि मोर्चालाई सक्रिय गराउन खोजिएको हो । 

गत असोजमा जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुलीसहितका नेताहरूले योजनाबद्ध रुपमा पार्टी छाड्ने र विभाजन गर्ने प्रयास भएको भन्दै नेतृत्वलाई ज्ञापनपत्र बुझाएका थिए । अभियानलाई युवा नेतृ रामकुमारी झाँक्रीले समेत समर्थन गरेकी थिइन् । पदाधिकारी, पोलिटब्यूरो र ३४४ सदस्यीय केन्द्रीय कमिटी अवैध भन्दै खारेजीको माग गरेका थिए । 

२९९ जनाको केन्द्रीय कमिटी बनाउने निर्णयविपरीत ३२२ जनाको केन्द्रीय कमिटी बनाएको, राम्रा अनि योग्यभन्दा पनि आफ्नालाई छानेको भन्दै अझै असन्तुष्टि साम्य नभएको नेताहरू बताउँछन् ।

१० सांसदमध्ये किसान श्रेष्ठ, प्रेम आले, धनबहादुर बुढा, अम्मरबहादुर थापा र भानुभक्त जोशी निरन्तर अध्यक्षसँग असन्तुष्ट रहेको दाबी नेताहरूले गरेका छन् । 

प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मेटमणि चौधरी र शेरबहादुर कुँवर नेपाल पक्षका सांसद हुन् । तर, पछिल्लो समय कुँवर समेत नेपालसँग असन्तुष्ट रहेको नेताहरू बताउँछन् । 

‘वामदेवजी आफैं यता आउन तयार हुनुभएन । उहाँको अभियानका कोही हामीतिर, कोही एमालेतिर र कोही माओवादीतिर जाने देखियो,’ खतिवडाले भने, ‘तर पार्टी र नेतृत्वलाई कुनै त्रास र तनाव छैन । यो विरोधीले खडा गरेको भाष्य मात्रै हो ।’

प्रतिनिधिसभाका मात्रै होइन, राष्ट्रिय सभाका ८ मध्ये २/३ सदस्यसमेत पार्टी नेतृत्वसँग असन्तुष्ट रहेको बताइन्छ । 

समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले भने पार्टी कुनै त्रास र दबाबमा नरहेको दाबी गरे । 

‘वामदेवजी आफैं यता आउन तयार हुनुभएन । उहाँको अभियानका कोही हामीतिर, कोही एमालेतिर र कोही माओवादीतिर जाने देखियो,’ खतिवडाले भने, ‘तर पार्टी र नेतृत्वलाई कुनै त्रास र तनाव छैन । यो विरोधीले खडा गरेको भाष्य मात्रै हो ।’

पार्टीका धेरै असन्तुष्टि मिलिसकेको भन्दै उनले केही सांसदले पार्टी फुटाउँछु भने पनि उनीहरूसँग त्यस्तो तागत नभएको बताए । 

‘केही जिम्मेवार नेताले असोजतिर पार्टीप्रति चासो र चिन्ता जनाएर पार्टीलाई ज्ञापनपत्र नै बुझाउनुभएको थियो । तर, उहाँहरूको असन्तुष्टि मिलिसक्यो,’ उनले भने, ‘केही सांसदको असन्तुष्टि होला । पार्टी फुट्ने ठाउँ पाए, ह्वीप नलाग्ने भए एक हिसाबले अगाडि जान खोजेका थिए । तर, अध्यादेश ल्याएर हाम्रो पार्टी फुटाउन खोज्दा सरकार ढल्छ भन्ने भएपछि त्यो पूरा नहुने भयो । पार्टीबाट फुट्ने ठाउँ नपाएपछि र नसकेपछि उनीहरू रोकिएका छन् ।’

केही असन्तुष्टि बाँकी भए पनि एमाले वा माओवादीसँग मिसिन्छौं भन्ने पंक्ति एकदमै सानो भएको उनको दाबी छ । पछिल्लो समय पार्टीनिकट पत्रकार समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका नेता एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका छन् । यो घटनालाई ‘घाँडो पन्छिएको’ रूपमा पार्टीले लिएको उनले बताए । 

पढ्नुहोस्, यो पनि :

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !
 

salt training

कमेन्ट गर्नुहोस्