०३ असार २०८३, बुधबार
विदेश भ्रमणको भोक

पालिकाका प्रतिनिधिको विदेश भ्रमण मोह: २ वर्षमा सय बढी उडे, एकैजना ४ पटकसम्म

विदेशी मञ्चमा सहभागी हुँदा पनि परराष्ट्रसँग लिँदैनन् परामर्श, फर्किएपछि बुझाउँदैनन् प्रतिवेदन
माघ १७, २०८१
काठमाडौं
पालिकाका प्रतिनिधिको विदेश भ्रमण मोह: २ वर्षमा सय बढी उडे, एकैजना ४ पटकसम्म

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले २०८१ सालमै तीनपटक विदेश भ्रमण गरिसकेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अभिलेखअनुसार उनले २०८१ पुस ३ देखि १० गतेसम्म दक्षिण कोरिया भ्रमण गरेका थिए ।

'ग्रीन जब्स क्रिएसन' तथा 'रिसाइकलिङ'सम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि उनले दक्षिण कोरिया भ्रमणको स्वीकृति पाएका थिए । महानगरपालिका प्रमुखको विदेश भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गर्ने व्यवस्था छ । 

त्यसअघि २०८१ कात्तिक १९ देखि २३ गतेसम्म आचार्यले इजिप्ट भ्रमण गरेका थिए । वर्ल्ड फोरमको १२ औं सेसनमा सहभागी हुन भन्दै उनको इजिप्ट भ्रमण सरकारले स्वीकृत गरेको थियो ।

null

त्यसअघि २०८१ जेठ १ देखि ४ गतेसम्म उनले फिलिपिन्सको मनिला भ्रमण गरेका थिए । एसिया एन्ड द प्यासिफिक ट्रान्सपोर्ट फोरमको कार्यक्रममा सहभागिता जनाउन उनले फिलिपिन्स भ्रमण गरेका हुन् ।

आचार्य मात्र होइन, २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित सयभन्दा बढी जनप्रतिनिधिले विगत २ वर्षमा पटक–पटक विभिन्न देशको भ्रमण गरिसकेका छन् ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले त चारपटक विदेश भ्रमण गरिसकेकी छन् ।

२०८१ फागुन २ देखि ९ गतेसम्मका लागि उनको अष्ट्रिया भ्रमण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्वीकृत गरिसकेका छन् । इनर्जी इफिसिएन्सी इन नेपाल नामक कार्यशाला गोष्ठीमा सहभागिता जनाउनका लागि लामाले दिएको निवेदन मन्त्री गुप्ताले स्वीकृत गरेका हुन् ।

२०८१ असार १८ देखि २० गतेसम्म उनले इन्डोनेसिया भ्रमण गरेकी थिइन् । मेयर्स फोरमको अन्तरक्रियामा सहभागिताका लागि भन्दै उनी इन्डोनेसिया पुगेकी थिइन् । त्यसअघि २०८० मंसिर ८ देखि १७ गतेसम्म उनले चीन भ्रमण गरेकी थिइन् । अध्ययन/अवलोकन भन्दै उनले चीन भ्रमण गरेकी हुन्

त्यसैगरी, लामाले गत २०८० चैत ६ देखि ८ गतेसम्म दक्षिण कोरिया भ्रमण गरेकी थिइन् । एसिया प्यासिफिक अर्बन फोरमको कार्यक्रममा सहभागिता जनाउन भन्दै उनले दक्षिण कोरियाको भ्रमण गरेकी हुन् ।

काठमाडौं महानगरमा मेयर बालेनभन्दा उपमेयर सुनिताको बढी भ्रमण

काठमाडौं महानगरपालिकामा प्रमुख बालेन्द्र (बालेन) साहभन्दा उपप्रमुख सुनिता डंगोलले बढी विदेश भ्रमण गरेकी छन् ।

नगर प्रमुख बालेनले २०८१ असार ५ देखि ६ गतेसम्म ब्राजिल भ्रमण गरेका थिए । मेट्रो पोलिस बोर्ड अफ डाइरेक्टरको मीटिङमा सहभागिता जनाउन उनले ब्राजिल भ्रमण गरेका थिए ।

null

त्यसैगरी, २०८१ जेठ २० देखि २२ गतेसम्म उनले सिंगापुरको भ्रमण स्वीकृति पाएका थिए । नाइन्थ वर्ल्ड सिटिज सम्मिटमा सहभागिता जनाउनका लागि उनको सिंगापुर भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

औपचारिक कार्यक्रमका लागि भनेर उनको यो दुई देशको मात्र भ्रमण स्वीकृत भएको छ । तर, उपचारका नाममा भने उनले पटक-पटक भारत भ्रमणको स्वीकृति पाएका छन् ।

तर, उपप्रमुख डंगोलले भने धेरैपटक विदेश भ्रमण गर्ने अवसर पाएकी छन् ।

२०८१ कात्तिक १९ देखि २३ गतेसम्म उनले इजिप्ट भ्रमण गरेकी थिइन् । त्यसअघि २०८१ असार १७ देखि २१ गतेसम्म पोर्चुगल, २०८१ जेठ १ देखि १३ गतेसम्म संयुक्त अधिराज्य बेलायत र २०८० फागुन ७ देखि ११ गतेसम्म लोकल एन्ड रिजनल गभर्नमेन्ट एसेम्बलीमा भाग लिन उनले थाइल्यान्ड भ्रमण गरेकी थिइन् ।

त्यसैगरी, उपप्रमुख डंगोलले २०८० मंसिर ८ देखि १६ गतेसम्म स्पेसल भिजिट प्रोग्राम भन्दै अस्ट्रेलिया भ्रमण गरेकी थिइन् । काठमाडौं महानगरमा प्रमुख बालेन र उपप्रमुख सुनिताबाहेक विभिन्न वडाका वडाध्यक्षहरूले पनि विभिन्न देशको भ्रमण गरेका छन् ।

वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर र वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले उपप्रमुख डंगोल नेतृत्वको टोलीमा पोर्चुगल भ्रमण गरेका छन् ।

त्यसैगरी, उपप्रमुख डंगोलकै नेतृत्वमा वडा नम्बर २७ की वडाध्यक्ष सृष्टि कंशाकारले बेलायत भ्रमण गरेकी थिइन् ।

वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान सलग, वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले २०८१ कात्तिक २१ देखि २४ गतेसम्म स्पेन भ्रमण गरेका छन् ।

त्यसैगरी, २०८१ भदौ २१ मा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले चीन भ्रमण गरेका छन् ।

विदेश भ्रमणमा काठमाडौंका जनप्रतिनिधि अगाडि

देशका ७५३ स्थानीय तहमध्ये विदेश भ्रमण गर्न अवसर पाउनेमा काठमाडौं उपत्यकाकै स्थानीय तहका जनप्रतिनिधि बढी छन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले दोस्रो कार्यकालमा एकपटक मात्र विदेश भ्रमण गरेका छन् । २०८० चैत ६ देखि ७ गतेसम्म उनले संयुक्त राज्य अमेरिकाको वाशिंगटन डीसी शहर भ्रमण गरेका थिए । एनुअल ट्रान्सफर्मिङ कन्फ्रेन्समा भाग लिन उनी अमेरिका पुगेका थिए ।

तर, उपत्यकाका अन्य स्थानीय तहका जनप्रतिनिधिले भने पटक–पटक विदेश भ्रमण गर्ने अवसर पाएका छन् ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले २०८१ मंसिर १२ देखि १४ गतेसम्म ग्राजुएसन सेरेमोनीमा भाग लिन भन्दै थाइल्यान्ड भ्रमण गरेका छन् ।

त्यसअघि उनले २०८० माघ २९ देखि फागुन २ गतेसम्म ग्लोबल मेयर राउन्ड टेबलमा भाग लिन भन्दै यूएई भ्रमण गरेका थिए । त्यसअघि २०८० कात्तिक ११ देखि १२ गतेसम्म ग्लोबल कन्फ्रेन्स भन्दै चीन भ्रमण गरेका थिए ।

ललितपुरको महालक्ष्मी नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी महर्जन २०८१ असोज ४ देखि १४ गतेसम्म शैक्षिक अवलोकन भनेर नेदरल्यान्डमा पुगेकी थिइन् ।

त्यसअघि २०८१ साउन ६ देखि १० गतेसम्म बंगलादेश भ्रमण गरेकी थिइन् । बंगलादेशको चारवटा शहरमा भएका राम्रा कामको अवलोकन गर्न भनेर उनले भ्रमण गरेकी थिइन् ।

त्यसअघि २०८० भदौ ३ देखि १६ गतेसम्म उनले जापान भ्रमण गरेकी थिइन् ।

काठमाडौंकै नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेत र उपप्रमुख सुशीला अधिकारीले २०८० मंसिर ८ देखि १६ गतेसम्म विशेष भ्रमण कार्यक्रम भन्दै यूएई भ्रमण गरेका थिए । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले २०८१ मंसिर १२ देखि १४ गतेसम्म थाइल्यान्ड भ्रमण गरे ।

अन्य पालिका प्रमुखको पनि विदेश भ्रमण

काठमाडौं उपत्यकाबाहेकका महानगरका जनप्रतिनिधिहरूले पनि विदेश भ्रमणको अवसर पाएका छन् ।

भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले २०८१ जेठ ७ देखि १५ गतेसम्म चीन भ्रमण गरेका छन् ।

null

वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले २०७९ असोज ४ देखि ७ गतेसम्म सिटीनेटको कार्यक्रममा भाग लिन भन्दै मलेसियाको क्वालालम्पुर भ्रमण गरेका थिए । त्यसैगरी, विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले २०८१ असोज ९ देखि ११ गतेसम्म दक्षिण कोरियाको भ्रमण गरेका छन् ।

इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले २०८१ असोज २९ देखि कात्तिक १ गतेसम्म चीन भ्रमण गरेका थिए । सस्टेनेबल डेभलपमेन्टको उच्च स्तरको कार्यक्रममा भाग लिन भन्दै उनी चीन पुगेका थिए ।

त्यसअघि २०८० असोज १ देखि ४ गतेसम्म उनी दक्षिण कोरिया पुगेका थिए । २०८१ वैशाख ३० देखि जेठ ५ गतेसम्म उनले आर्मेनियाको भ्रमण गरेका थिए ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जु श्रेष्ठले दुईपटक विदेश भ्रमण गरेका छन् ।

उनले २०८० कात्तिक ६ देखि ८ गतेसम्म दक्षिण कोरिया र २०७९ असार २१ देखि २३ गतेसम्म अमेरिकाको न्युयोर्क शहर भ्रमण गरेका हुन् ।

दिक्तेल रुपाकोट नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले पनि दुईपटक विदेश भ्रमण गरिसकेका छन् ।

२०८१ भदौ १९ देखि ३१ गतेसम्म अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी भन्दै नगर प्रमुख भट्टराई र उपप्रमुख विशन राईले लिथुआनिया भ्रमण गरेका थिए ।

त्यसअघि २०८० मंसिर ९ देखि २४ गतेसम्म कोरियाका विभिन्न स्थानीय तहमा कृषि र शिक्षा क्षेत्रमा गरिएको नयाँ प्रविधिको प्रयोग अध्ययन/अवलोकन भन्दै उनीहरूले दक्षिण कोरिया भ्रमण गरेका थिए ।

त्यसैगरी, फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले २०८१ असार १८ देखि २० गतेसम्म मेयर्स फोरममा भाग लिन भन्दै इन्डोनेसियाको जकार्ता भ्रमण गरेकी छन् ।

त्यसअघि उनले २०८० कात्तिक ६ देखि ८ गतेसम्म दक्षिण कोरिया भ्रमण गरेकी थिइन् ।

वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा र भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती २०८० कात्तिक ६ देखि ८ गतेसम्म दक्षिण कोरिया पुगेका थिए ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढा र उपप्रमुख मीनाकुमारी पोखरेलले २०८० असोज ११ देखि २१ गतेसम्म संयुक्त अधिराज्य बेलायत भ्रमण गरेका थिए ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ र ६ नम्बर वडाका वडाध्यक्ष सागरमान महर्जनले २०८० असोज २ देखि ४ गतेसम्म दक्षिण कोरिया भ्रमण गरेका थिए । एसिया अर्बन लाइटिङ वर्कशपमा भाग लिन उनीहरू त्यहाँ पुगेका थिए ।

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले २०८० भदौ १७ देखि २६ गतेसम्म एक्स्पोजर भिजिट भन्दै बेलायत भ्रमण गरेकी थिइन् ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, कार्यपालिका सदस्य सन्तोष मेचेले २०८१ असोज ३ देखि ६ गतेसम्म द्विपक्षीय सम्बन्धको विषयमा छलफल गर्न भन्दै जापान भ्रमण गरेका छन् ।

जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेल र उपप्रमुख कृष्णमाया बुढाथोकीले २०८१ भदौ १ देखि ७ गतेसम्म चीनको मैत्रीपूर्ण भ्रमण गरेका छन् ।

त्यसैगरी, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खाँले २०८१ असोज ९ देखि ११ गतेसम्म दक्षिण कोरिया भ्रमण गरेका छन् ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपाने, लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाह, इश्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले २०८१ मंसिर १२ देखि १४ गतेसम्म थाइल्यान्ड भ्रमण गरेका छन् ।

वारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले २०८१ माघ १ देखि २ गतेसम्म थाइल्यान्डको भ्रमण गरेका छन् । कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद पोखरेल, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन मुसलमानको २०८१ फागुन १० देखि १६ गतेसम्मका लागि अमेरिका भ्रमण स्वीकृत भएको छ ।

अमेरिकाको टेक्सासमा हुने गैरआवासीय नेपाली संघको अन्तरक्रिया कार्यक्रममा भाग लिनका लागि मन्त्रालयद्वारा उक्त भ्रमण स्वीकृत भएको हो ।

नेपाल सरकारले २०७५ असोज ५ गतेको मन्त्रिपरिषदबाट स्थानीय तहका पदाधिकारीहरूको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ स्वीकृत गरेको थियो ।

सोही निर्देशिकाबमोजिम स्थानीय तहका पदाधिकारीले विदेश भ्रमण गर्नका लागि औपचारिकरूपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पठाउनुपर्ने हुन्छ ।

null

जिल्ला समन्वय समितिका प्रमुख र महानगरपालिकाका प्रमुखको हकमा नेपाल सरकार(मन्त्रिपरिषद्)ले विदेश भ्रमण मनोनयन स्वीकृत गर्छ भने त्यसबाहेकका स्थानीय तहका पदाधिकारीको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले भ्रमण स्वीकृत गर्ने गरेका छन् ।

भ्रमण गर्दा परराष्ट्रसँग लिँदैनन् परामर्श, भ्रमण प्रतिवेदन पनि बुझाउँदैनन्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखाका एक कर्मचारीका अनुसार धेरैजसो स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण अस्वीकृत  हुने गरेको छ ।

‘सरकारी निकायबाट आमन्त्रण नभएर विदेशका एनजीओ, आईएनजीओको आमन्त्रण आएको भन्दै विदेश भ्रमणका लागि निवेदन दिनुहुन्छ,’ ती कर्मचारीले लोकान्तरसँग भने, 'निर्देशिकाविपरीतका भ्रमणको हामीले फाइल नै उठाउँदैनौं । फाइल नउठाएपछि विदेश भ्रमण स्वीकृत हुने कुरै हुँदैन ।’

महिनामा कम्तीमा पनि १० वटा त्यस्ता आमन्त्रण अस्वीकृत हुने गरेको उनले खुलाए । विदेश भ्रमणमा जाने गरेका स्थानीय तहका पदाधिकारीको भ्रमण खर्च भने आमन्त्रण गर्ने आयोजक संस्थाकै हुने गरेको मन्त्रालयका ती कर्मचारीले  खुलाए । त्यसबाहेक मन्त्रालयद्वारा स्वीकृत नभएको अवस्थामा धेरैजसो स्थानीय तहका पदाधिकारीहरू निजी भ्रमण भन्दै मन्त्रालयको स्वीकृतिबेगर विदेश भ्रमणमा जाने गरेको उनले खुलाए ।

‘निजी भ्रमणमा जाने पदाधिकारीहरूको अभिलेख मन्त्रालयमा हुँदैन,’ ती कर्मचारीले लोकान्तरसँग भने ।

null

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले केही महिनाअघि बेलायत भ्रमण गरेका थिए । तर, उनको बेलायत भ्रमणको अभिलेख संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भेटिएन ।

विदेश भ्रमणमा जाने स्थानीय तहका पदाधिकारीले विदेशमा हुने सभा, समारोह तथा बैठकमा गरिने सम्बोधन, भाषण वा छलफलको विषयवस्तु र नेपालको धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालय, नेपाली नियोग र अन्य सम्बन्धित निकायसँग परामर्श गर्नुपर्ने भनेर निर्देशिकामा स्पष्ट उल्लेख छ ।

तर, स्थानीय तहका पदाधिकारीहरूले विदेश भ्रमण गर्दा निर्देशिकाको प्रावधानबमोजिम परराष्ट्र मन्त्रालय र नेपाली नियोगसँग परामर्श गर्ने गरेका छैनन् ।

विदेश भ्रमण गर्ने पदाधिकारीले भ्रमण सम्पन्न भएको मितिले १५ दिनभित्र भ्रमणको उपलब्धि, प्राप्त गरेको ज्ञान र सुझाव समेत उल्लेख गरी दुईप्रति प्रतिवेदन स्थानीय तहको कार्यालयमा बुझाउनुपर्ने उक्त निर्देशिकामा उल्लेख भए पनि प्रायजसोले भ्रमण प्रतिवेदन बुझाएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्