२५ असार २०८३, बिहीबार

प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार गरेर काठमाडौं पठाइयो

माघ २४, २०८१
संखुवासभा
प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार गरेर काठमाडौं पठाइयो
फाइल तस्वीर ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घण्टापछि एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

प्रसूति व्यथा लागेको १८ घण्टापछि भोटखोला–४ नामासेकी ३६ वर्षीया याङजम भोटेलाई बिहीबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थान अझै यातायातको पहुँच पुगेको छैन ।  

प्रसूति व्यथापछि बुधबार नामासे सामुदायिक स्वास्थ्य इकाईमा भर्ना भएकी भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फूर्पु भोटेले जानकारी दिए । 

प्रसूति व्यथा लागेको १८ घण्टापछि भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको उनले बताए । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ ।

भौगोलिक विकटताका कारण यहाँ नजिक बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको सुविधा छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचारमा समस्या हुँदै आएको छ । 

जिल्लामा हवाई उद्धार कार्यक्रम अन्तर्गत २०७७ देखि हालसम्म २४ जनाभन्दा बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयकी भवानी तिम्सिनाले बताइन् । उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवतीहरू १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका रहेका उनले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्