२८ जेठ २०८३, बिहीबार
प्राधिकरणमा विवादास्पद पात्रको नजर

विद्युत् प्राधिकरणको एमडीका लागि काण्डैकाण्डवाला पूर्वसचिव कार्कीको अस्वाभाविक दौडधूप

फागुन ९, २०८१
काठमाडौं
विद्युत् प्राधिकरणको एमडीका लागि काण्डैकाण्डवाला पूर्वसचिव कार्कीको अस्वाभाविक दौडधूप
तस्वीरमा पूर्वसचिव कार्की

नेपाल विद्युत प्राधिकरणका विवादास्पद प्रबन्ध निर्देशक कुलमान घिसिङको विकल्प बन्ने दाबी गर्दै अर्का एक विवादित पात्रले अस्वाभाविक दौडधूप थालेका छन् ।

नेपाल सरकारका पूर्व सचिवसमेत रहेका र यसअघि दुईपटक प्राधिकरणको जिम्मा सम्हालिसकेका अर्जुनकुमार कार्की यतिबेला प्राधिकरणको एमडी बन्न दौडधूपमा लागेका हुन् ।

यसअघि प्राधिकरणको जिम्मा सम्हाल्ने क्रममा कार्कीमाथि ट्रान्सफर्मरमा घोटाला गरेको आरोप लागेको थियो । प्राधिकरण स्रोतका अनुसार उनले पछिल्लो एक सातामा शक्तिकेन्द्र धाउने क्रम जारी राखेका छन् ।

हालका प्रबन्ध निर्देशक घिसिङले सरकारलाई साथ नदिएको भन्दै हटाउने तयारी भइरहेका बेला शक्तिकेन्द्रको आडमा काण्डै-काण्डमा मुछिएका र उमेर नाघेका कार्कीले ऊर्जा मन्त्रीलगायत सत्तारूढ दलका नेतासँग भेटघाट तीव्र बनाएका हुन् ।

कार्की उमेरले ६५ वर्ष पुग्नलागेका व्यक्ति हुन् । सार्वजनिक सेवाको पदमा नियुक्तिका लागि ६५ वर्षे उमेर हद लागू हुने सरकारी अभ्यासविपरीत उनी प्राधिकरणको नेतृत्व हत्याउन लागिपरेका हुन् ।

यसअघि २०६३ सालमा सिञ्चाइ विभागको सहसचिव हुँदा उनलाई सरकारले प्राधिकरणको नेतृत्व गर्न खटाएको थियो । उनी छुट्टै नियुक्ति नलिई सरकारी कर्मचारीको हैसियतमा प्राधिकरणको नेतृत्व गर्न पुगेका थिए ।

उनले पहिलोपल्ट २ वर्षका लागि प्राधिकरणको जिम्मेवारी सम्हालेका थिए ।

पहिलो कार्यकालमै दैनिक २ करोडको विद्युत चुहावट गर्ने गरी ट्रान्सफर्मर खरिद

त्यतिबेला खरिद गरिएका ट्रान्सफर्मरहरू अस्वाभाविक रूपमा पड्किन र जल्न थालेपछि प्राधिकरणले सञ्चालक चिरञ्जीवी पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिको सिफारिशका आधारमा सातवटा खरिद प्रक्रिया छानबिनमा परेका थिए । तीमध्ये थाइल्यान्डको सहवान्त र चीनको हुवावे सनलाइट कम्पनीको ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा चलायो । 

त्यसैक्रममा सबैभन्दा बढी विद्युत् चुहावट र अनियमितता भएको भनी ल्याब परीक्षणबाट प्रमाणित भएको एसभीआर कम्पनीको ट्रान्सफर्मरका लागि टेन्डरका क्रममा भएको अनियमितता छानबिन नै भएन । उक्त टेन्डर कार्कीकै जोडबलमा स्वीकृत भएको थियो ।

भ्रष्टाचारबाट जोगिन उनले त्यतिबेलै अख्तियारलगायतका अन्य निकायलाई प्रभावित गरेर आफूले स्वीकृत गरेको टेन्डरको छानबिन नै रोकेका थिए ।

आर्थिक वर्ष २०६३/६४ मा भारतको एसभीआर कम्पनीबाट ट्रान्सफर्मर खरिद गर्नेबेलामा कार्की नै प्राधिकरणको कार्यकारी निर्देशक थिए ।

अख्तियारका तत्कालीन विवादित प्रमुख लोकमानसिंह कार्कीसँगको सम्बन्ध निकै राम्रो र सुदृढ भएका कारण कार्यकारी निर्देशक कार्की मुछिने भएकाले सबैभन्दा बढी चुहावट र कमसल ट्रान्सफर्मर खरिद प्रक्रियाको फाइलमाथि अख्तियारले हात नै हालेको थिएन । 

ट्रान्सफर्मर प्रकरणमा मात्रै होइन, त्यसपछि त्रिपाल खरिद र गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा समेत कार्कीलाई जोगाइएको थियो । अख्तियार स्रोतले लोकान्तरलाई भन्यो, 'अहिले पनि ती फाइलहरू अख्तियारको दराजमा थन्किएर बसेका छन् ।'

त्यतिबेला खरिद गरेर ल्याइएको ट्रान्सफर्मरका कारण दैनिक २ करोड रुपैयाँको विद्युत चुहावट हुने गरेको प्रतिवेदनमै उल्लेख छ । त्यसपछि कार्की २०७० को भदौ महिनामा पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाइए ।

त्यतिबेला उनी सहसचिव थिए । खुला प्रतिस्पर्धाबाट प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका रामेश्वर यादव भ्रष्टाचारमा मुछिएपछि खाली भएको कार्यकारी पदमा सरकारले उनलाई खटाएको थियो ।

करिब १० महिनाको दोस्रो कार्यकालमा यसअघि आफैंले खरिद गर्दा भएको भ्रष्टाचार लुकाउन भरमुग्दर प्रयास गरेको प्राधिकरणका पूर्व कर्मचारीहरू बताउँछन् ।

भुइँचालोले देश थलिएका बेला कार्कीले घटाएको बहुचर्चित 'त्रिपाल काण्ड'

कार्की त्यसपछि सचिवमा बढुवा भएर शहरी विकास मन्त्रालय आए ।

उनी त्यहाँ रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितको नाममा त्रिपाल खरिद गर्दा अनियमितता गरेको ठहर गर्‍यो ।

२०७२ सालको वैशाख १२ मा ठूलो भुइँचालो गएपछि पीडितका लागि भनेर खरिद गरिएका त्रिपालहरूको गुणस्तर कमसल देखिएको भन्दै अख्तियारले कार्कीसहित अन्यलाई प्रचलित कानूनबमोजिम विभागीय कारबाही गर्न भनेको थियो । 

अख्तियारले कार्की लगायतलाई कारबाहीका लागि शहरी विकास मन्त्रालयमा लेखी पठाउने निर्णय पनि त्यतिबेला गरेको थियो । त्यतिबेला ११ करोड भ्रष्टाचार भएको ठहर अख्तियारको थियो ।

आफूमाथि लागेको आरोपबारे स्पष्टीकरणस्वरूप कार्कीले एक अनलाइनमा (बकपत्र) लेखेका थिए, 'केन्द्रीय कमान्डमा रही काम गरिएको त्रिपाल खरिद र वितरणमा म कहीँकतै संलग्न थिइनँ । तर, पनि शहरी विकास मन्त्रालयका कर्मचारीहरूले खरिद गरी वितरण गरेको त्रिपालको बिल भर्पाइ स्वीकृत गर्ने जिम्मेवारी मन्त्रालयको सचिवको हैसियतले मेरो हुने नै भयो ।'

त्यसअघि लोकमानसिंह कार्कीको फेभरमा रहेका अर्जुन कार्कीले त्यसपछि बनेका प्रमुख आयुक्तहरूमाथि दोष थुपार्दै भनेका छन्, 'ममाथि विभागीय कारवाही गर्ने निर्णयमा लोकमान सिंह कार्कीको भन्दा पनि नवीन घिमिरे र दीप बस्न्यातको विशेष भूमिका रहेको मेरो बुझाइ छ ।'

अख्तियारले त्रिपाल काण्डमा अनियमितता गरेको ठहर गर्दै उपसचिवद्वय होमनाथ भट्टराई र रामकृष्ण गुरागाइँ तथा नायब सुब्बा युवराज गिरीविरुद्ध मुद्दा दायर गरेको थियो । पछि उनीहरूले विशेष अदालतबाट सफाइ पाएका थिए ।

इम्बोस्ड नम्बर प्लेट र नेपाल ट्रस्टमा घोटाला

अख्तियारले शहरी विकास मन्त्रालयलाई कार्कीमाथि विभागीय कारवाही गर्न लेखी पठाएपछि कारबाहीस्वरूप उनलाई भौतिक योजना मन्त्रालयमा सरुवा गरियो ।

भौतिक योजना तथा यातायात सचिव हुँदा उनलाई करोडौं रुपैयाँको इम्बोस्ड नम्बर प्लेटसम्बन्धी ठेक्काको काम पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीका सम्धी रोहिणी थपलिया र उनका नातेदारलाई सुम्पने गरी निर्णय गरेको आरोप लाग्यो ।

त्यसपछि उनलाई त्यहाँबाट नेपाल ट्रस्टको कार्यालय पठाइयो । त्यहाँ पनि उनले प्रक्रिया  नपुर्‍याई ट्रस्टको जग्गा कौडीको भाउमा भाडामा दिई  भ्रष्टाचार गरेको आरोप लाग्यो । भ्रष्टाचार गरेको भन्दै त्यतिबेलै उनलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले कारबाही समेत गरेको थियो ।

विवादैविवादका बीच २०७६ साउन २१ गते उनले सचिवबाट अवकाश पाए ।

कसरी बन्न पुगे एमडीको क्यान्डिडेट ?

स्रोतका अनुसार प्राधिकरणका हालका एमडी घिसिङले ट्रान्सफर्मर खरिद तथा विभिन्न आयोजनामा घोटाला गरेको भन्दै पटक-पटक स्पष्टीकरण सोधिएपछि बिचौलियाहरूले आफूलाई फाइदा पुग्ने गरेर एउटा उपयुक्त पात्र खोज्न थाले । त्यही क्रममा कार्की फेला परे ।

रिटायर्ड जीवन बिताइरहेका कार्की प्राधिकरणको एमडी बन्न पाउने भएपछि उत्साहित भएर 'जे गर्न पर्छ म गर्छु, मलाई एमडी बनाइदिनुस्' भनेर लागेको स्रोतको दाबी छ ।

त्यसपछि ऊर्जामन्त्री दीपक खड्कासँग उनको भेट गराइयो । खड्काले अहिल्यै 'यस' वा 'नो' भन्न नसकिने र यसबारे निर्णय कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिने बताएका थिए ।

ऊर्जा मन्त्रालय स्रोत भन्छ, 'कार्की एमडीमा फिक्स भइसकेको होइनन्, तर उनले अस्वाभाविक दौडधूप गरिरहेका छन् ।'

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्राधिकरणका एमडी घिसिङलाई हटाउनेबारे ऊर्जामन्त्री खड्काले केही समय बोलेका थिए ।

स्रोतले भन्यो, 'त्यतिबेला मौखिक प्रस्ताव गएको हो, औपचारिक प्रस्ताव शुक्रबार (आज) बस्ने भनिएको बैठकमा जाने सम्भावना छ ।'

सरकारले घिसिङलाई जसरी पनि हटाउने तयारी गरेको तर वैकल्पिक व्यवस्था नगरेको भन्दै बिचौलियाको समूहले कार्कीलाई जसरी पनि एमडी बनाउने आश्वासन दिएको हो ।

तर, कार्कीले भने आफू कुनै दौडधूपमा नरहेको दाबी गरेका छन् । यसबारे लोकान्तरसँग कार्कीसँग संक्षिप्त कुराकानी गर्दै कार्कीले भने, 'म प्राधिकरणको एमडीको क्यान्डिडेट नै होइन । मैले दौडधूप गरेको भन्ने कुरा साँचो होइन ।'

पढ्नुहोस् यो पनि:


प्राधिकरणको बदमासी– कमिसनका लागि किनिएका अर्बौंका ट्रान्सफर्मरमा झार [भिडियो]

अर्बौंको ट्रान्सफर्मरमा झार उम्रेपछि कुलमानसँग स्पष्टीकरण माग, यसरी लुकाइएको थियो प्रमाण

कुलमानले अलपत्र पारेका १५ अर्बका ट्रान्सफर्मरमा खिया, किन चुप छ सरकार ?

'नक्कली ट्रान्सफर्मरको शहर' बनाएका कुलमान- सत्ता समीकरण फेरिएसँगै उद्योगी तर्साउने खेलमा

salt training

कमेन्ट गर्नुहोस्