
अचेल मौसम परिवर्तन भइरहेको छ । बसन्ती बतास बहन थालेको छ। तपाईंले पक्कै महसुस गर्नुभएको होला बिहान र बेलुका चिसो हुन्छ भने दिउँसो पसिना आउन थालेको छ।
बदलिँदो मौसमले हाम्रो शरीरमा असर पार्छ । र, यस्तो समयमा विशेष सावधानी अपनाउन आवश्यक छ। सामान्य घरेलु उपायहरूबाट नै शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ।
मार्च महिनामा प्रवेश गर्दा केही विशेष सावधानी अपनाउनु आवश्यक छ। योग, मनतातो पानी र जडीबुटीयुक्त चिया (हर्बल टी) प्रतिरक्षा प्रणाली (इम्युनिटी) मजबुत बनाउनका लागि सहज उपाय हुन्।
पतञ्जलि योगसूत्र अनुसार हाम्रो अस्तित्व वातावरणीय परिवर्तनलाई महसुस गर्ने क्षमतामा निर्भर गर्दछ, त्यसैले परिवर्तनको समयमा योगलाई आत्मसात गर्नु आवश्यक हुन्छ।
नियमित योग तथा ध्यान (मेडिटेसन)लाई दिनचर्यामा समावेश गर्नु उचित हुन्छ। वास्तवमा, मौसम परिवर्तनसँगै खोकी तथा फोक्सोसम्बन्धी रोगहरूको खतरा बढ्ने गर्छ। यस्तो समस्याबाट जोगिन योगासनको सिफारिस गरिन्छ।
दोस्रो महत्त्वपूर्ण उपाय पानीसँग सम्बन्धित छ। स्वास्थ्य विशेषज्ञहरू दिनभर ७ देखि ८ गिलास पानी पिउन सल्लाह दिन्छन्। यसले शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन दिँदैन । पाचन प्रक्रियालाई मद्दत गर्छ र शरीरभित्रका विषाक्त पदार्थ (टक्सिन) बाहिर निकाल्छ। साथै, शरीरको तापक्रमलाई पनि सन्तुलनमा राख्छ।
तेस्रो, धेरै सामान्य तर महत्त्वपूर्ण उपाय हर्बल चिया पिउनु हो। किनभने मौसम परिवर्तनसँगै विभिन्न रोगहरू आउन सक्छन्। त्यसैले हर्बल चियालाई आफ्नो दिनचर्यामा समावेश गर्नु उपयुक्त हुने चिकित्सकहरू बताउँछन्। यसबाहेक, हर्बल चिया हाम्रा अग्रजले समेत पारम्परिक उपचारका रूपमा प्रयोग गर्ने गरेका थिए। यदि ताजा तुलसीका पात तथा अदुवा मिसाएर बनाइएको हर्बल टी सेवन गरियो भने यसका फाइदा झन् प्रभावकारी हुन्छन्।
एकातर्फ शरीरमा तापक्रम बढ्न थाल्छ भने अर्कोतर्फ वातावरणमा चिसोपन रहन्छ। सबैका लागि सचेत हुने समय यही हो। विशेष गरी वृद्धवृद्धा र बालबालिकामा मौसम परिवर्तनको प्रभाव बढी देखिने गर्छ। सानो लापरवाहीले तपाईंलाई विभिन्न रोगको जालमा पार्न सक्छ। त्यसैले सचेत रहनुहोस्।