
बहुप्रतीक्षित चलचित्र लाज शरणम्ले युनिभर्सल सर्टिफिकेट पाएको छ ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले आइतबार लाज शरणम्लाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अर्थात् चलचित्र सबैले हेर्न मिल्नेगरि प्रमाणपत्र पाएको निर्देशक कुमार कट्टेल ‘जिग्री’ले बताएका छन् ।
चलचित्र यही फागुन १४ गते शिवरात्रिमा प्रदर्शनमा आउनेछ । चलचित्र प्रदर्शनका लागि बोर्डले अनुमति दिएको छ ।
यसअघि हत्या आरोपमा जेल जीवन बिताइरहेका पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमले चलचित्रको पात्रको हुलिया आफूसँग मिल्ने, आफ्नो अनुमति नलिएर प्रयोग गरेको भन्दै उच्च अदालत पाटनमा चलचित्रविरुद्ध मुद्दा दायर गरेका थिए ।
आलमले फिल्मको पोष्टरमा आफ्नो नक्कल देखाइएको र यसले आफ्नो अवहेलना भएको जिकिर गर्दै मुद्दा दायर गरेका थिए ।
उच्च अदालतले सेन्सर पास नहुन्जेलसम्मका लागि चलचित्रका कुनै पनि प्रचारका काम नगर्न अन्तरिम आदेश दिएको थियो ।
चलचित्रमा सीताराम कट्टेल ‘धुर्मुस’, मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, अर्पण थापा, रेणु योगी, माला लिम्बू, अर्जुन घिमिरे (पाँडे), बुद्धि तामाङ, हरिश निरौला (कक्रोच), सागर लम्साल (बले), प्रियना आचार्य (मुन्नी) लगायतका कलाकारहरूको अभिनय छ ।
‘लाज शरणम्’ जिग्री-पाँडे टिमको पहिलो फिचर फिल्म हो । यो फिल्मको अधिकांश दृश्य हिमाली जिल्ला डोल्पाका विभिन्न क्षेत्रमा छायांकन गरिएको छ भने बाँकी दृश्य काठमाडौं लगायतका क्षेत्रमा खिचिएको छ ।
