
प्राविधिक हिसाबले पार्टीको संस्थापनतिरै भए पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्कामाथि दबाब बढाउने गतिविधि हुन थालेका छन् । खड्का रहेको समूहभित्रैबाट केही दिनअगाडि १० भाइ(उनीबाहेक)ले खड्कालाई झस्काउने गरी देउवा निवासमै टीमको नेता तोक्न माग गरेका थिए ।
यसको केही दिनमै खड्काको गृहजिल्ला सुर्खेतमा इतर खेमाका नेता डा. शेखर कोइरालालाई रणनीतिकरूपमा सामान्य कार्यक्रममा समेत भव्य स्वागत गरिएको छ ।
फागुन २ गते देउवा निवासमा संस्थापन निकटका ११ नेताले देउवापछिको कमान्डर तोक्न माग गरेका थिए । तर, यसरी माग गरिँदा उपसभापति खड्का भने छलफलको केन्द्रमा थिएनन् ।
१५ औं महाधिवेशनमा देउवाको दाबेदारी नहुने भएपछि यो टीमबाट उपसभापति खड्काले स्वतः सभापतिको उम्मेदबार बन्न पाउनुपर्ने मत राख्दै आएका छन् । तर, देउवाले मुख खोलेका छैनन् । देउवाले आफूपछि को भन्ने प्रस्ट नपारिरहेका बेला फागुन २ गते खड्काबाहेकका मुख्य चार नेताले दाबेदारी पेश गरेका थिए ।
फागुन २ गते विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेताहरू कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउँद र उमाकान्त चौधरी बूढानीलकण्ठ पुगेका थिए । तर, निधि, सिटौला, शशांक र सिंहले आफूहरू चारमध्ये एक जनालाई सभापतिको उम्मेदवार बनाउनुपर्ने आशय व्यक्त गरेका थिए ।
पछिल्लो ११ भाइको बैठकको व्यवस्थापन समेत सिटौलाले नै गरेका थिए । बैठकमा नेता खड्कालाई पनि बोलाइएको थियो । तर, ४ नेता बढी अग्रसर हुन खोजेपछि खड्का केहीबेर मात्रै बसेर बाहिरएका थिए ।
आफ्ना कुरा राखेपछि खड्का ‘मेरो स्वर भासिएको छ’ भन्दै बाहिरिएका हुन् । त्यसपछि अरू नेताले निर्धक्क भएर आफ्नो कुरा राखेको नेताहरू बताउँछन् ।
खड्का बाहिरिएपछि उनै नेतृत्त्वको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा गरेको कार्यक्रममा अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई नबोलाइएको भन्दै नेताहरूले असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि देउवाले खड्कालाई फोन गरेर यस्ता कार्यक्रममा केन्द्रीय नेतालाई अनिवार्य उपस्थित गराउन भनेका थिए ।
पोखराको कार्यक्रमप्रति आपत्ति जनाउनेमा देउवा टीमका पूर्व पदाधिकारीबाहेक शेखर कोइराला पनि थिए । उनले आफूलाई नबोलाइएको भन्दै आक्रामक अभिव्यक्ति दिएका थिए ।
खड्काको सोही कदमपछि सुर्खेतमा शेखर पक्षले एउटा भव्य कार्यक्रम गर्ने तयारी गरेको थियो, जसको उद्देश्य फरक–फरक प्रदेशमा कार्यक्रम गर्ने र नेताहरूलाई सन्देश दिने अन्तर्गत नै थियो ।
सदरमुकाम सुर्खेत कर्णालीका अन्य जिल्लाका लागि रणनीतिक स्थान हो । यहाँका नेताले तय गर्ने रणनीतिले सबै जिल्लामा प्रभाव पार्छ । यही सुर्खेतमा अहिलेसम्म संस्थापनको प्रतिनिधित्व गर्दै आएका खड्काको अह्रनखटन चल्दै आएको छ ।
संस्थापनको नेतृत्त्व खड्काले गर्दा इतर पक्षबाट सुर्खेतमा हृदयराम थानीले प्रतिनिधित्व गर्छन् । सुर्खेतमा अलग समूहका यी नेताहरूले कहिल्यै स्वस्थ र हार्दिक सम्बन्ध बनाएका छैनन् । बरु एकअर्कालाई निषेध गर्ने, इख लिने र पेल्ने यिनीहरूको राजनीतिको विशेषता हो ।
यसैले शेखर पक्षले खड्कालाई रणनीतिक रूपमा दबाब दिन खोजेको देखिन्छ । यसै योजनाअनुरूप समूहका नेता शेखरलाई प्रमुख अतिथि बनाएर इतर पक्षले गत बिहीबार भव्य कार्यक्रम गरेको हो ।
‘जेमा पनि पावर, पहुँच र रवाफ देखाउन थाले । साथीहरूका फुर्तिफार्ति बढी नै हुन थाले । यस्तै हो भने हामीले पनि एउटा कार्यक्रम गरेर देखाउनुपर्छ भनेरै कार्यक्रम गरेका हौं,’ नेता हृदयराम थानीले भने, ‘शेखर कोइरालालाई बोलाएर कार्यक्रम गरेपछि जनताले रुचाए । भव्य भयो । प्रभावशाली नेता आउँदा अरू पक्षका नेताले पनि प्रभावशाली उपस्थित जनाउनुभयो ।’
जनताको बीच जाँदा उनीहरूले उत्साह देखाउँछन् भन्ने सन्देश सुर्खेतले दिएको उनी बताउँछन् ।
‘शेखर कोइराला परिवारको नेता हो । यसैले उहाँ आउँदा उत्साह देखियो । तर, महाधिवेशनका लागि धेरै समय बाँकी भएकाले यही एउटै कार्यक्रमले सबै कुराको मूल्यांकन गर्दैन,’ थानीले भने, ‘जुनसुकै पक्षका नेता हुन्, जनताको बीच जाँदा उत्साह पाइन्छ । एउटा जिम्मेवार नेतालाई रुचाउँछन् भन्ने सन्देश सुर्खेतले दिएको छ । जसलाई हामीले अर्थपूर्ण मानेका छौं ।’
१४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग टक्कर गरेका शेखर फेरि पनि उम्मेदवार बन्ने तयारीमा छन् । शेखरले कोशी, सुदूरपश्चिमपछि गत बिहीबार कर्णालीको सुर्खेतमा आफ्नो प्रभाव देखाउन खोजेका हुन् । तर, यो कार्यक्रम अन्यत्र जस्तो सामान्य थिएन ।
शेखर सभापतिमा पराजित भएपछि केन्द्रीय सदस्य मात्रै हुन् । सांसद पनि छन्, तर एउटा समूहका नेता हुनुका बाबजुद उनी शीर्ष वरीयताका नेता होइनन् । पार्टीले औपचारिक कार्यक्रम पनि उनका लागि राख्ने कुरा भएन । तर, कांग्रेसको पूर्व आप्रवासी विभागले गरेको सो कार्यक्रम एकदमै भव्य थियो । बाजागाजा, दुबोको माला, घाँटी पुरिने गरी सयपत्रीका माला र खाँदाको भव्य प्रयोग भएको थियो । गत बिहीबार सुर्खेतमा शेखरलाई गरिएको भव्य स्वागत प्रधानमन्त्री वा कांग्रेस सभापतिलाई गरिनेभन्दा कम थिएन ।

विराटनगरमा कार्यक्रम नै नगर्न पार्टीले उर्दी जारी गरेको थियो । तर, सुर्खेतमा संस्थापन निकटका प्रभावशाली नेता नै स्वागतका लागि बुकी लिएर पुगेका थिए, जसमा कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही, कर्णाली कांग्रेस सभापति ललितजंग शाही समेत सामेल थिए । यी दुई नेता समेत कोइरालालाई स्वागत गर्न विमानस्थलमै पुग्नुलाई कतिपयले अर्थपूर्ण रूपमा हेरेका छन् । केन्द्रीय कार्यसम्पादन समिति एवं केन्द्रीय सदस्य समेत रहेका शाही संस्थापन पक्षकै नेता हुन् । तर, पछिल्लो समय उनी सभापति देउवासँग असन्तुष्ट रहेको नेताहरू बताउँछन् ।
शाही र संस्थापन पक्षका नेताले उत्साहपूर्वक शेखरलाई स्वागत गरेपछि इतर पक्ष थप उत्साही भएको छ । ‘शेखर दाइ वरिष्ठ नेता मात्र होइन, सभापतिका लागि फेरि प्रतिस्पर्धा गर्ने नेता हुनुहुन्छ । वैकल्पिक नेता पुग्दा नेता/कार्यकर्ताले उत्साही भएर स्वागत गरे । कार्यकर्ताकहरू खुशी भएर आए,’ युवा नेता भुपेन्द्रजंग शाहीले भने, ‘प्रदेश संसदीय दलका नेता नेता जीवन शाही, प्रदेश सभापति र इतर टीमका जिल्ला सभापतिले हार्दिकतापूर्वक स्वागत गरेर गुटबन्दीभन्दा माथि उठ्नुपर्छ भन्ने सन्देश दिनुभयो ।’
सभापतिको परम्परागत गुट नरहने हुँदा अहिलेदेखिका संकेतको अर्थ धेरै हुने शाही बताउँछन् ।
‘महाधिवेशनको चित्र अहिले नै आइसक्यो भन्ने होइन । तर, कांग्रेसमा परम्परागत गुट अब रहँदैनन् भन्ने धेरैले बुझिसके । एउटै पार्टी भएर पनि छुवाछुतजस्तो, निषेधजस्तो हुनुहुन्न । सुर्खेतमा एकता देखाउने र हार्दिकता साट्ने काम भएको छ,’ शाहीले भने, ‘अहिले टीम अदलबदल भइसकेको पनि छैन । तर, भोलि समय आएपछि जीवन दाइ शेखरसँग रहँदैनन् भन्न सकिँदैन । फरक टीमको नेता शेखर दाइलाई स्वागत गर्न एयरपोर्टमै आउनु कम्ता ठूलो सन्देश होइन ।’
कोइरालाले ११ भाइको बूढानीलकण्ठगमनले फरक नपार्ने भनेर सुर्खेतमै बोलेका थिए । आफू सभापतिमा उठ्ने पक्का भएको पनि उनले दोहोर्याएका थिए । चुनावपछि महाधिवेशन गरे कांग्रेस कमजोर हुने शेखरको भनाइ थियो । शेखर दुई दिन बसेर फर्किएका थिए । सुर्खेतमा लामो समयदेखि संस्थापनबाट पेलिएको महसुस इतर पक्षले गरेको छ । लामो समयदेखि खड्काबाट पेलिनुपरेपछि उनकै गृह जिल्लामा शेखर पक्षले खड्कालाई देखाउने र दंग्याउने नीति लिएको छ ।
‘पोखरामा हाम्रो नेतालाई कार्यक्रममा नबोलाएर के गरियो, सबैले बुझेका छन् । सुर्खेतको निषेधको राजनीतिको के चर्चा गर्नु ?,’ शेखर समूहका एक नेता भन्छन्, ‘राजनीतिमा शक्ति स्थायी होइन भन्ने बूढानीलकण्ठमा ११ भाइको बैठकमा उपसभापतिले नपाउनुभएको भाउबाट बुझिन्छ । उहाँ नै त्यो टीमसँग चिढिने दिन आउनेछ । यसैले शक्तिको आडम्बर देखाउनु हुँदैन भन्ने सन्देश प्रवाह गरेका हौं ।’

युवा नेता भुपेन्द्रजंग शाही सुर्खेतमा शेखर र पूर्णबाहादुरको लडाईं नभएको बताउँछन् ।
‘सुर्खेतमा शेखर र पूर्णबहादुरको लडाईं होइन । जुधाउनुपर्ने कारण पनि छैन । भोलि एक ठाउँमा रहँदैनन् भन्न सकिँदैन,’ शाही भन्छन्, ‘निषेधको राजनीति भए पनि शेखर आउँदा हार्दिकता देखियो । उम्मेदवारी घोषणा गर्नुभएका वरिष्ठ नेता आउँदा सबै गए । पार्टीमा ऊर्जा र उत्साह देखियो । यो नै ठूलो कुरा हो ।’
खड्का आफैं नआए पनि उनकै टीमका मान्छेले समेत स्वागत गरेपछि शेखर टीम उत्साही छ । ‘जीवन शाहीले उच्च राजनीतिक संस्कार देखाउनुभयो । यसको महत्त्व र अर्थ छ,’ शाहीले भने, ‘शेखर दाइ जाँदा उहाँकै नेताले स्वागत गर्नुभयो । जिल्ला सभापतिले दुबोको माला लगाउनुभयो । यसको महत्त्व र अर्थ खुल्दै जानेछ ।’
देउवाले सभापतिको उम्मेदवार नबनाउँदा खड्कासामु आफैं समूह बनाउने वा अर्कोतिर जाने विकल्प मात्र हुनेछ । देउवाले सिटौला र शशांकमध्ये एउटालाई रोजे खड्का समस्यामा पर्न सक्छन् । यस्तोमा आफ्नै टीम बनाए पनि खड्कालाई जित्न सहज हुने छैन । यस्तोमा सानो टीममै रमाउने वा अर्को टीमलाई साथ दिनेमध्येको विकल्प रोज्नुपर्ने स्थितिमा खड्का हुनेछन् । संस्थापनले अपमान नै गरे गुट विघटनमा अन्ततः खड्काका लागि शेखर टीम नै रोज्नुपर्ने स्थिति आउने नेताहरू बताउँछन् ।
‘गुट विघटनको उत्कर्ष अब नेताहरूले नसोचेको गरी अघि बढ्नेछ । यस्तोमा नेताहरू परम्परागत गुट भनेर बस्दैनन्,’ कांग्रेसका एक नेता भन्छन्, ‘यस्तोमा आफू अनुकूल नभएमा जोसुकै नेताका लागि पनि बाध्य भएर टीम फेर्नुपर्ने अवस्था आउनेछ ।’
सुर्खेत पुगेर फर्किएपछि शेखरले शनिबार आफूपक्षीय नेताको भेला गरेका थिए । भेलामा नेताहरूले समयमा महाधिवेशन गर्न दबाब दिने, समूहका गतिविधिलाई निरन्तर जारी राख्ने, असन्तुष्ट नेतालाई फकाउने नीति तय गरेको एक नेताले जानकारी दिए ।
पढ्नुहोस्, यो पनि:
कांग्रेसका ११ भाइ देउवाको दैलोमा पुग्दा शेखर टीममा उत्साह !
सभापतिमा गगनलाई रोक्न देउवासामू कांग्रेसका ‘११ भाइ’को एकस्वर !
देउवाले विरासत बिसाउने पात्र खोजिरहँदा बूढानीलकण्ठमा बीपीपुत्रको ‘इन्ट्री’ !