२५ असार २०८३, बिहीबार

सात वर्षीया भूमिलक्ष्मीले लेखेको कथाको कथा

फागुन १५, २०८१
पाेखरा
सात वर्षीया भूमिलक्ष्मीले लेखेको कथाको कथा

कथाका तीन पात्र । ह्वेल, जलपरी र राजकुमारी । सुनौलो महलमा बस्ने राजकुमारीलाई लाग्थ्यो सबैभन्दा उत्कृष्ट ऊ नै हो । सबैभन्दा सुन्दर ऊ नै हो । सबैलाई होच्याउने उसको बानीले आजित थिए, उसका वरिपरिका साथी । सबैभन्दा बढी ह्वेल र जलपरीलाई गिज्याउँथी । ह्वेलको मोटो शरीर र जलपरीको खुट्टा नभएको भन्दै सधैं मजाक उडाउँथी । 

कथामा एकदिन राजकुमारीलाई समस्या आउँछ । पछि, राजकुमारीलाई आफ्नो गल्ती महसुस हुन्छ । राजकुमारीलाई कसरी आफ्नो गल्ती महसुस हुन्छ त्यो चाहिँ कथा पुरै पढ्नैपर्छ । कथाको सार छ – अरुलाई हेपाहा प्रवृत्ति देखाउनु हुँदैन । तर, यो कथा कुनै डिज्ने मुभिको भने होइन । सात वर्षीया भूमिलक्ष्मी पराजुलीले लेखेको कथा हो । हालै मात्र सात वर्ष पुगेकी उनले यो कक्षा ६ वर्षको हुँदै लेखेकी हुन् । जुन पुस्तक पोखरामा चलिरहेको नेपाल साहित्य महोत्सवको पहिलो दिन बिहीबार विमोचन भएको छ ।​

हँसिलो अनुहार, लजालु स्वभाव । उत्तर दिँदा हाँस्दै जवाफ दिने बानी । भूमिको हातमा सानैदेखि हो पुस्तक परेको । बालबालिकाले पढ्ने कथाका पुस्तक सानैदेखि किनिदिन्थे, अभिभावकले । भूमिलाई त्यसरी नै पढ्ने बानी बस्यो । पछि, कथा लेख्ने । यसमा श्रेय अभिभावकसँगै विद्यालयलाई पनि जान्छ । प्रयोगात्मक शिक्षामा जोड दिने विद्यालयले सिर्जनात्मक काममा लगाइरहन्छ विद्यार्थीलाई । भूमि पढ्ने माउन्ट एभरेष्ट प्रि-स्कूलमा समयसमयमा विद्यार्थीलाई गृहकार्य दिन्छन् –कथा लेख्ने, चित्र कोर्ने । 

गतवर्षको दशैं बिदामा विद्यालयले भूमिलाई गृहकार्य दिएको थियो, कथा लेख्ने । चित्रमा रुची भएकी भूमिले कथा सँगसँगै चित्र कोरिन् । यसरी बनेको हो, बिहीबार विमोचन भएको कथा । तर, उनले लेखेको कथा यो पहिलो भने होइन । प्रकाशित पुस्तक भने पहिलो हो । कथा प्रकाशन गर्नुको पनि कथा छ । उनको दिदी पर्नेले ९ वर्षको उमेरमा कथा प्रकाशन गरेकी थिइन् । पुस्तकमा दिदीको फोटो देखेर उनलाई उत्सुक भइन् ।

‘वैभवी दिज्युले बुक बनाउँदा मलाई पनि बुक बनाउन मन लाग्यो’, भूमिले भनिन् ।

null

उनी किताबको पछाडि कसैको फोटो देखे अभिभावकलाई सोध्थिन् –यिनीहरूको किन आएको ? भूमिको कौतुहलतामा अभिभावकको साथ भयो । आमा अनिता रानाभाटले लेख्न प्रोत्साहन गरिन् । 

‘यो किन आयो भनेर जिज्ञासु हुने गर्थिन् । उहाँको किताब किन छाप्यो, किन आयो ? भनेर सोध्थिन् ।  अनि म तिमीले पनि लेख न । तिम्रो पनि गर्न मिल्छ भन्थें । उसको दिदीको घरमै देखेपछि त ए हुँदो रहेछ भन्ने भयो उसलाई’, अनिताले सुनाइन् । 

तिम्रो कथामा के छ नि ? भन्ने प्रश्नमा उनी मुस्कुराउँदै जवाफ दिन्छिन्–  ह्वेल र मर्मेड । 

उत्सुक हुँदै फेरि थप्छिन्- अर्को प्रिन्सेस पनि छ । नराम्रो काम गर्छ । उसले बुलि गर्छ ।

सात वर्षीया बालिकाले लेखेको कथाको सार नै यही हो । उनीलाई थाहा छ, अरुलाई होच्याउँदा नराम्रो महसुस हुन्छ । त्यसैले भन्छिन्, ‘बुलि गर्न हुँदैन, अरुलाई ब्याड फिल हुन्छ ।’ 

कथा पढ्न र लेख्न रुचाउने भूमिको सबैभन्दा मनपर्ने विषय भने गणित र अंग्रेजी हो । भूमि यतिबेला डायरी अफ अ वीम्पी किड पढ्दैछिन् । अमेरिकन लेखकको सो पुस्तक बच्चाहरूले पढ्ने उपन्यास हो । जहाँ ग्रेग नामक बच्चाले आफ्नै दैनिकी डायरीमा लेख्छन् । २००७ मा पहिलोपटक प्रकाशित भएको सो पुस्तकको १० वटाभन्दा बढी पार्ट पुस्तक प्रकाशित भइसकेको छ । भूमिले चारवटा सकेर ५ औं पढ्दैछिन् ।

null

भूमिको प्रकाशित पुस्तकको चित्र उनैले कोरेकी हुन् । उनलाई चित्रमा पनि उत्तिकै सोख छ । विद्यालयमा वार्षिक रूपमा विद्यार्थीको चित्रकला प्रदर्शनी हुन्छ । उनले एकपटक आफ्नो चित्र बेचेकी पनि छन् । आफूलाई लिफ आर्ट मनपर्ने भूमि सुनाउँछिन् । चित्रमा रुची देखाउँदै उनी आफैं हजुरबुबासँग चित्र सिक्न पुगेको आमा अनिताले बताइन् । 

‘उसलाई एकदम आर्ट सिक्न मन रहेछ । अनि, यता दुर्गा हजुरबुबा हुनुहुन्छ नि आफैंले गएर म उहाँसँग सिक्छु भनेर अस्ति भ्याकेसनमा १०–१२ दिन गएर सिकेको हो’, अनिताले भनिन् । 

दुर्गा बरालसँग चित्र सिक्दै भूमि 
भूमिलाई अब चराको कथा लेख्न मन छ । आफूलाई चरा मनपर्ने भएकाले कथा लेख्ने भूमिले सुनाइन् । सानैदेखि साहित्यमा रुची राख्ने भूमि कृषक बन्ने सुनाउँछिन् ।

null

‘फार्मर बन्ने । प्लान्टस् ग्रो गर्ने । एनिमल्स पाल्ने । कुकुर बिरालो, घोडा, गाईभैँसी, कुखुरा र ‘पिंग’ पाल्ने’, भूमिले  भनिन् । 

कृषक किन बन्ने नि प्रश्नमा उनी हाँस्दै थप्छिन् – ‘किनभने केमिकल हालेको फुड किन्नुपर्दैन । अनि घरमै ओर्जिनल खाना खान पाइन्छ । केमिकलले हालेको त हामीलाई बिरामी बनाउन सक्छ । एनिमल पाल्यो भने हाम्रो वेष्ट खान्छ । खेल्न मिल्छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्