विद्युत् आपूर्ति नियमित नहुँदा जिल्ला अस्पताल हुम्लाको स्वास्थ्य सेवा प्रभावित बनेको छ। हिउँदयाममा दैनिक विद्युत् भार कटौतीले अस्पतालको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. प्रतीक्षा भारतीले जानकारी दिइन् ।
अस्पतालमा एक्स-रे, प्रयोगशाला र दमका सेवा सञ्चालन गर्न कठिनाइ भएको उनले बताइन्। जसका कारण दैनिक दर्जनौं बिरामी मर्कामा पर्ने गरेका छन्। अस्पतालमै विद्युत् अनियमित भएपछि बिरामीहरू दिनभर कुराउनुपर्ने र टाढाबाट आएका बिरामीहरू झन् बढी समस्यामा पर्ने गरेका छन्।
तीन-चार दिनयता घाम नलागेर बाक्लो बादल लागेका कारण अस्पतालको सौर्य ऊर्जाले काम गरेको छैन। साथै, हेल्दुम वितरण केन्द्रले १४ घण्टासम्म लोडसेडिङ गर्दा समस्या झन् बढेको छ। अस्पतालका शय्यामा भर्ना भएका ६ जना दमका बिरामीलाई अक्सिजन दिन गाह्रो भएको डा. भारतीले बताइन्। अधिकांश दमका बिरामीलाई फर्काउनुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ।
विद्युत् कार्यालयले खोलामा पानी कम भएका कारण सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा विद्युत् भार कटौती गर्नुपरेको जनाएको छ। विद्युत् कार्यालय प्रमुख जीतेन्द्र शाहले भने अस्पतालमा नियमित विद्युत् उपलब्ध गराएको दाबी गरेका छन्।
‘अस्पतालको आन्तरिक समस्याले विद्युत् लाइन उपलब्ध नभएको हुनसक्छ, हामीले अस्पताललाई विद्युत् कटौती गरेका छैनौं’ उनले भने।
अस्पताल मात्रै नभएर अन्य कार्यालय, स्थानीय उद्योग र सर्वसाधारण समेत विद्युत् कटौतीको मारमा परेका छन्।