
नेपाल ट्रस्टको कार्यालयमा सञ्चालक समितिका तीन सदस्यले सहसचिवसरह मासिक सेवासुविधा बुझ्दै आएका छन् । फूलटाइम काम नै गर्नुनपर्ने ती सदस्यले सवारीसहित मासिक १ लाख २५ हजार रुपैयाँ बुझ्दै आएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको ट्रस्टको कार्यालयमा नियुक्त हुने सञ्चालक समितिका तीन सदस्यले सहसचिवसरहको मासिक पारिश्रमिक, गाडी, चालक, इन्धन, मर्मत र बैठक तथा भ्रमण भत्ता बुझ्ने गरेको पाइएको छ ।
प्रधानमन्त्री संरक्षक रहने तथा प्रधानमन्त्रीले तोकेको मन्त्री सञ्चालक समितिको अध्यक्ष रहने समितिका मनोनीत सदस्यलाई कर्मचारीसरहको सेवा सुविधा दिने गरेको पाइएको हो ।
सञ्चालक समिति सदस्यहरू याङ्जोम शेर्पा, सुनिताकुमारी गौतम र देवीचन्द्र उपाध्यायले कर्मचारीसरह नै मासिक तलब, भत्तासहित सेवासुविधा पाउने गरेका छन् । नेपाल ट्रस्ट कार्यालय स्रोतका अनुसार ती सदस्यहरू एक महिना वा १५ दिनमा आएर सबै दिनको हाजिरी गरेर मासिक तलब भत्ता बुझ्दै आएका छन् ।
‘प्रधानमन्त्री कार्यालयद्वारा राजनीतिक नियुक्ति पाउने तीन सदस्यले मासिकरूपमा सहसचिवसरह तलब, भत्तासहित अन्य सुविधा पाइरहेका छन्,’ उक्त स्रोतले लोकान्तरसँग भन्यो, ‘तीनै सदस्यलाई गाडी ट्रस्टको कार्यालयले नै उपलब्ध गराए पनि सहसचिव बराबरको तलब, चालक, इन्धन र मर्मतबापत मासिक एकमुष्टरूपमा १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।’
त्यसरी मासिक तलब सेवासुविधा बुझ्ने गरेका ती सदस्यलाई कार्यालयमा छुट्टाछुट्टै च्याम्बर समेत उपलब्ध गराइएको छ । त्यसबाहेक एक/एकजना कार्यालय सहयोगी र पीए समेत कार्यालयले उपलब्ध गराएको छ ।
२०८० जेठ २ गतेको मन्त्रिपरिषद् बैठकले तीनै जनालाई ट्रस्टको सञ्चालक समिति सदस्यका रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम प्रधानमन्त्री कार्यालयले २०८० जेठ २४ गते तीनै जनालाई ४ वर्षका लागि नियुक्तिपत्र प्रदान गरेको थियो ।
नेपाल ट्रस्ट ऐन, २०६४ को दफा (७) उपदफा (१) को खण्ड (घ) बमोजिम तथा नेपाल ट्रस्ट नियमावली, २०६५ को नियम ९ उपनियम (१) बमोजिम पारिश्रमिक र सुविधा पाउने गरी नियुक्ति दिइएको नियुक्तिपत्रमा उल्लेख छ ।
नेपाल ट्रस्ट ऐन,२०६४ को दफा (७) मा सञ्चालक समितिको प्रावधान छ ।
प्रधानमन्त्रीले तोकेको नेपाल सरकारको कुनै मन्त्री सञ्चालक समितिको अध्यक्ष रहने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्बन्धित क्षेत्र हेर्ने सचिव, नेपाल ट्रस्टको कार्यालयको कार्यकारी सचिव र नेपाल सरकारले नियुक्त गरेका वा तोकेका एकजना महिलासहित तीनजना व्यक्ति सदस्य रहने व्यवस्था छ । नेपाल ट्रस्टको कार्यालयको सहसचिव सदस्य सचिव रहन्छन् । ऐनको सोही प्रावधानअनुसार सरकारले नियुक्ति दिएको थियो ।
सोही ऐनको दफा (७) को उपदफा (२) मा त्यसरी नियुक्त हुने सदस्यको योग्यताबारे पनि व्यवस्था गरिएको छ । व्यवस्थापन वा समाजसेवाको क्षेत्रमा कामको अनुभव हासिल गरेको, नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको र ट्रस्टसँग कुनै किसिमको ठेक्कापट्टा वा व्यापारिक कारोबारमा संलग्न नभएको वा ट्रस्टको सम्पत्तिसँग कुनै किसिमको स्वार्थ नरहेको योग्यता निर्धारण गरिएको छ ।
सदस्य नियुक्तिका लागि ऐनमै कुनै शैक्षिक योग्यता उल्लेख गरिएको छैन । त्यसकारण सरकारले सञ्चालक समितिमा आफ्ना कार्यकर्ता भर्ती गर्ने गरेको हो ।
त्यसरी नियुक्ति पाएका तीनजना सदस्यमध्ये याङ्जोम शेर्पा नेकपा एमाले, सुनिताकुमारी गौतम र देवीचन्द्र उपाध्याय नेकपा माओवादी केन्द्रको कोटाका हुन् । शेर्पाको यो दोस्रो कार्यकाल हो । यसअघि पनि उनले ४ वर्ष सञ्चालक समिति सदस्यका रूपमा काम गरेर सहसचिव बराबरको सेवा सुविधा लिइसकेकी छन् । यसअघि सीताराम सापकोटा, प्रवीणराज दाहाल र शेर्पाले राजनीतिक नियुक्ति पाएका थिए ।

नेपाल ट्रस्ट नियमावली, २०६५ मा सदस्यको पारिश्रमिक र सुविधाबारे उल्लेख गरिएको छ । नियमावलीको नियम ९ मा सञ्चालक समितिका सदस्यमध्ये राजनीतिक नियुक्ति पाउने हुने तीन जनाको पारिश्रमिक र सुविधाबारे उल्लेख गरिएको छ ।
‘त्यस्ता सदस्यहरूमध्ये ट्रस्टमा पूरा समय काम गर्ने सदस्यले नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीले पाएसरहको पारिश्रमिक र सुविधा पाउने छ,’ नियमावलीमा उल्लेख छ । नियमावलीमा पूरा समय काम गर्नेले मात्र त्यस्तो पारिश्रमिक र सेवासुविधा पाउने उल्लेख छ । तर, त्यसरी नियुक्त हुने सदस्यहरूले नियमित काम गर्नुपर्दैन ।
त्यसैगरी, नियम ९ को उपनियम २ मा भने समितिका अन्य सदस्यहरूलाई समितिको बैठकमा आमन्त्रण गरिने नेपाल सरकारका पदाधिकारी वा विशेषज्ञले समितिको बैठकमा भाग लिएबापत नेपाल सरकार, अर्थ मन्त्रालयले निर्धारण गरेको मापदण्डबमोजिम बैठक भत्ता मात्र पाउने उल्लेख छ ।
पहिले नियमावलीमा त्यस्ता सदस्यलाई पारिश्रमिक दिनुपर्ने प्रावधान थिएन । तर, पछि २०७६ असोज २७ गते मूल नियमावलीमा संशोधन गर्दै त्यस्ता सदस्यलाई सहसचिव बराबरको पारिश्रमिक दिने व्यवस्था गरिएको ट्रस्टका एक कर्मचारीले बताए ।
मूल नियमावलीको नियम ९ मा सदस्यको सुविधाबारे उल्लेख थियो । समितिका सदस्यहरूले समितिको प्रत्येक बैठकमा भाग लिएबापत १ हजार रुपैयाँ बैठक भत्ता पाउने मात्र प्रावधान राखिएको थियो
सञ्चालक समितिको बैठकमा उपस्थित हुने वा सुविधा प्रदान गर्नेगरी बनाइएको ऐन तथा नियमावली नै संशोधन गर्नुपर्ने ट्रस्टका एक कर्मचारीको कथन छ ।
यस विषयमा सञ्चालक समिति सदस्य याङ्जोम शेर्पाले ऐन-नियमअनुसार नै तलब भत्ता बुझ्ने गरेको बताइन् । विगतमा सामाजिक क्षेत्रमा काम गरेको आधारमा आफूले नियुक्ति पाएको उनको जिकिर छ ।
‘कर्मचारीजस्तो दिनहुँ कार्यालय नै जानुपर्ने काम हाम्रो होइन । हाम्रो काम बोर्डमा हुन्छ,’ उनले लोकान्तरसँग भनिन्, ‘बोर्डले गरेको निर्णय कार्यान्वयन गराउन हामीले भूमिका निर्वाह गर्छौं ।’
उनी एसएलसी मात्र उत्तीर्ण रहेको ट्रस्टका कर्मचारीको आरोप छ । शैक्षिक योग्यता के हो भन्ने विषयमा उनले प्रतिक्रिया दिन मानिनन् ।
‘मेरो शैक्षिक योग्यताभन्दा पनि ऐन–नियमले जे योग्यता मागेको छ, त्यसैका आधारमा नियुक्ति भएको हो,’ उनले थपिन्, ‘योग्यता नपुग्ने हो भने मैले दोस्रोपटक नियुक्ति पाउँदिनथेँ होला ।’
त्यसैगरी, अर्का सदस्य देवीचन्द्र उपाध्यायले भने राजनीतिक, सामाजिक क्षेत्रमा काम गरेको आधारमा नियुक्ति पाएको बताए ।
‘हुन त मैले मास्टर्स नै गरेको हो । तर, राजनीतिमा लागेकै आधारमा नियुक्ति पाएको पनि सत्य नै हो,’ उनले लोकान्तरसँग भने, ‘कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य थिएँ । यता भएपछि उता राजीनामा दिएको हो ।’
उनले पनि सहसचिवसरह तलब र सेवासुविधा पाउँदै आएको पुष्टि गरे । एकमुस्ट तलब नबुझेको तथा ड्राइभर समेत राखेको उनले बताए ।
‘१०/१५ दिनमा गएर सबै दिनको हाजिरी गर्ने गरेको आरोप गलत हो । दिनहुँ कार्यालय जाने गरेको छु,’ उनले थपे, ‘ट्रस्टको सम्पत्ति सोधीखोजी गर्ने, विवाद मिलाउने, मुद्दा मामिलामा सहजीकरण गर्ने काम गरिरहेको छु ।’
अर्की सदस्य सुनिताकुमारी गौतमसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क भएन । विभिन्न समयमा विभिन्न मन्त्री सञ्चालक समितिको अध्यक्ष हुने गरेका छन् ।
अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सञ्चालक समिति अध्यक्ष छन् । विगतमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल सञ्चालक समितिको अध्यक्ष भइसकेका छन् ।
६८ जना कर्मचारीको दरबन्दी रहेको नेपाल ट्रस्टको कार्यालयमा ३४ जना कार्यालय सहयोगी नै छन् । विशिष्ट श्रेणीको सचिव १ जना, सहसचिव १ जना, उपसचिव ३ जना, अधिकृत ४ जना, नायब सुब्बा १४ जना, खरिदार ६ जना र कार्यालय सहयोगी ३४ जना छन् । कार्यालयमा कर्मचारीहरू समेत नियमित आउने गरेका छैनन् ।