जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्म १७ हजार १५२.१४६ केजी गाँजा बरामद गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले चालु आवको अहिलेसम्ममा सो परिणामबराबरको लागुऔषध गाँजा बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।
त्यसैगरी, प्रहरीले एक हजार ५६३.६९ ग्राम ब्राउनसुगर, ३२ हजार ७३ पिस ट्याब्लेट÷क्याप्सुल र १३० बोतल डाइलक्स डिसीसहित लागुऔषध बरामद भएको उनले बताए ।
लागुऔषध कारोबारको अरोपमा ६०२ जना पक्राउ परेकामा ३९७ वटा मुद्दा दर्ता भइसकेका उनले जानकारी दिए । त्यसैगरी, ११२ वटा सवारीसाधन नियन्त्रणमा र चालु आवमा ४३६ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ ।