
भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताएका छन् । दक्षिण भारतीय चलचित्र ‘टाइसन नाइडु’को छायाङ्कनका लागि नेपाल आएका अभिनेता श्रीनिवासले चन्द्रागिरीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालीको माया र सत्कारको प्रशंसा गर्दै लागि धन्यवाद दिए ।
उनले भने, “म नेपाल आउन चाहेर पनि आउन सकेको थिइनँ । कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ । यो चलचित्रको कथा नेपालसँग जोडिएकाले हामीले यही आएर छायाङ्कन गर्ने निर्णय गरेका थियौँ । यो चलचित्रले नेपाली कलाकारलाई दक्षिण भारतीय चलचित्रसँग जोड्नेछ ।”
चलचित्र द्वन्द्वप्रधान रहेको जानकारी दिँदै उनले आफूलाई यहाँ नेपाली खाना र परिकार मन परेको बताए । नेपालमा पोखरापछि काठमाडौँमा छायाङ्कन गरिएको जानकारी दिँदै उनले पशुपतिनाथको दर्शन गरेर मात्र स्वदेश फर्किने बताए ।
सन् २०१४ मा ‘अल्लुडु सीनु’ नामक तेलुगु चलचित्रमार्फत अभिनययात्रा सुरु गरेका थिए ।