०७ असार २०८३, आइतबार
सुस्त कार्यशैलीको असर

पेट्रोलमा इथानोल मिश्रण कहिलेदेखि ?, २२ वर्ष अघिको निर्णय अझै भएन कार्यान्वयन

बैशाख ९, २०८२
काठमाडौं
पेट्रोलमा इथानोल मिश्रण कहिलेदेखि ?, २२ वर्ष अघिको निर्णय अझै भएन कार्यान्वयन

पेट्रोलमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने विषय करिब २२ वर्षदेखि अलपत्र परेको छ । २०६० सालमा नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरे पनि यो बहसमा नै सीमित भएको छ । 

कतिसम्म भने इथानोल मिश्रण गर्न सकिने विषयमा राजपत्रमा समेत प्रकाशित भइसकेको थियो । 

२०६० मंसिर २९ गते नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । तर, यो व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन । आखिर किन ? 

यसले हाम्रो राज्य संयन्त्रको काम गर्ने शैली मात्र उदांगो पारेको छैन, वातावरण र मानव स्वास्थ्यमा कति हेलचेक्य्राइँ भइरहेको छ भन्ने देखाउँछ । 

चालु आर्थिक वर्षको शुरूआतमै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले इथानोको मिश्रणको नीतिगत व्यवस्था र इथानोलको मूल्य निर्धारण गर्ने प्रतिबद्धता सार्वजनिक मञ्चबाटै जनाएका थिए । 

यसका साथै मन्त्री भण्डारीले तीन महिनाभित्र मन्त्रालय सुधार कार्य योजनामा पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याउने उल्ले गरेका थिए । 

उनले यसो भनेको पनि अहिले करिब ८ महिना बितिसकेको छ । पेट्रोलमा इथानोल मिश्रणको विषय कहाँ पुग्यो ? यसको खोज गर्दा नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगिन्छ । 

बारम्बार इथानोलको विषयमा अध्ययन भए र कयौं प्रतिवेदन पनि तयार भए । तर, हालसम्म कुनै निचोड निस्कन सकेको छैन । यसपटक भने उद्योग मन्त्रालयले जसरी पनि यसको कुनै न कुनै निष्कर्ष निकाल्ने तयारी गरेको छ । 

*करिब तीन महिनाअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा इथानोलको विषयलाई पूर्णता दिन समिति बनाइएको थियो । उक्त समितिले पेट्रोलमा इथानोल मिसाउने कार्यविधिको ड्राफ्ट तयार परिसकेको जनाएको छ । 

समितिले बनाएको कार्यविधिको ड्राफ्ट राय तथा सुझावका लागि अर्थ मन्त्रालय, कृषि मन्त्रालय र कानून मन्त्रालयमा पठाइएको मन्त्रालयका सहसचिव पोखरेलले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट राय सुझाव आएपछि मन्त्रिपरिषद्‌मा कार्यविधि लैजाने तयारी रहेको छ । 

‘समितिले आफ्नो काम करिब करिब सम्पन्न गरिसकेको छ । हामीले इथानोल मिश्रणको कार्यविधिको ड्राफ्ट गरेका छौं’, उनले भने, ‘मन्त्रालयहरूबाट राय सुझाव पनि आइसकेको छ भने, केही मन्त्रालयबाट राय सुझाव आउन बाँकी छ । त्यसपछि मन्त्रिपरिषद्‌मा लैजान्छौं ।’

नेपाल आयल निगमका अनुसार १० देखि १५ प्रतिशत पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्न सकिन्छ । तर, यसका लागि स्पष्ट कानून नै आवश्यक रहेको निगमको भनाइ छ । 

इथानोल मिश्रणको कार्यविधि आइसकेपछि कसरी कार्यान्वयन गर्ने ? के कस्ता चुनौतीहरू रहेका छन् त्यसको विगतदेखि नै गृहकार्य र अध्ययन गरिरहेको निगम तयारी निगमका प्रवक्ता मनोज कुमार ठाकुर बताउँछन् ।

ठाकुरका अनुसार नेपाल आयल निगम पनि इथानोल मिश्रणका लागि करिब करिब तयारी अवस्थामा रहेको छ । 

१० प्रतिशतको इथानोल मिश्रणले सवारी साधनमा प्रभाव नपर्ने इन्जिनियर मणिराम भुसाल बताउँन् । सवारीको माइलेजमा पनि तात्त्विक फरक नपर्ने उनको भनाइ छ ।

‘अहिलेसम्मको अध्ययनलाई हेर्दा १० प्रतिशतसम्मको इथानोल मिश्रणले इन्जिनमा केही असर नगरेको पाइन्छ । १० प्रतिशतभन्दा बढी हुँदै गर्दा सवारीको ट्याक्निकालेटी अनुसार असर पर्छ’, उनले भने, ‘माइलेजमा पनि खास्खै फरक पर्दैन, त्यही १ प्रतिशत जति मात्रै फरक पर्छ ।’

अमेरिकामा १० प्रतिशत, ब्राजिलमा २७ प्रतिशत, भारतमा १५ प्रतिशत र चीनमा १० प्रतिशत पेट्रोलमा इथानोलको मिश्रण हुँदै आएको छ । 

इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने प्रारम्भिक अनुमान छ । इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग गर्ने जनाइएको छ । 

इथानोलको मिश्रणका लागि नेपालमै यसको उत्पादन गर्न सकिने नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । पेट्रोलमा इथानोलको मिश्रण भएपछि नेपालमै इनाथोल उद्योग नै खडा गर्न सकिने उनको भनाइ छ ।

उखु, न्यापिर घाँस, सिमल तरुल, सजिवनजस्ता कार्बोहाइड्रेटयुक्त जैविक प्राकृतिक स्रोतबाट प्राप्त हुने कच्चा पदार्थलाई कुहाएर अल्कोहलमा परिणत गरी पेट्रोलियम पदार्थमा मिश्रण गर्ने (जसलाई बायोइथानोल भनिन्छ) गरिन्छ । 

उखुको मोलासेस अर्थात् खुदोबाट इथानोल उत्पादन गर्न सकिने विभिन्न अध्ययन र समितिहरूको बैठकमा कुरा उठ्दै आएको छ । जुन नेपालमा सम्भव रहेको उनको भनाइ छ । तर, त्यसका लागि नीतिगत रूपमा सरकारले स्पष्ट व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

*सच्याइएको ।

salt training

कमेन्ट गर्नुहोस्