०९ साउन २०८३, शनिबार

वडा सदस्यको लोभलाग्दो मेवाखेती, सात महिनामा १८ लाख आम्दानी

बैशाख ९, २०८२
काठमाडौं
वडा सदस्यको लोभलाग्दो मेवाखेती, सात महिनामा १८ लाख आम्दानी

नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले मेवाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय उनले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ । मेवा टिपेर बजार पठाउन उनी अहिले व्यस्त छन् । 

तीन बिघामा मेवाखेती गरेका महतोले अहिले ६ टन मेवा बिक्री गरिसकेका छन् । मेवा बिक्रीबाट करिब १८ लाख रूपैयाँ आम्दानी भएको उनले बताए ।

मेवाको बिक्रीमा खासै समस्या नभएको उनी बताउँछन् । उत्पादन भएको मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ । वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो माग गरेअनुसार पठाउँदै आएको उनको भनाइ छ । केही मेवा काठमाडौं पनि बिक्री गरेको महतोले बताए । 

गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट बिक्री शुरू गरेका हुन् । असोजबाट फल पाक्न थालेको अहिलेसम्म लगातार बजारमा पठाउँदै आएका छन् ।

‘मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाका माग थियो, तर त्यता पठाइनँ वीरगन्जमै खपत भएको छ’, उनले भने । 

मेवा प्रतिकेजी ३० देखि ४० रूपैयाँसम्ममा बिक्री हुने गरेको किसान महतोले बताए । मेवाखेतीमा करिब १३ लाख खर्च भएको र यो याममा हालसम्म करिब पाँच लाख फाइदा लिइसकेको उनले जानकारी दिए । 

अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनी बताउँछन् ।  उक्त समयसम्म करिब  २०–२१ लाखको मेवा बिक्री हुने उनको अनुमान छ । 

मेवाखेतीबाट उनले आम्दानीमात्र लिएका छैनन्, स्थानीय २२ जनालाई कामका आधारमा ज्याला प्रदान गर्नेगरी रोजगारी दिएका छन् । 

मेवा लगाएदेखि विभिन्न समयमा यसको गोडमेल गर्ने, टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब  ९ लाख ज्यालाबापत बुझेको उनको भनाइ छ । कामदारसहित मुख्यगरी कम्पोस्ट मल र बीउमा खर्च हुने उनले बताए ।

शुरूमा लगानी गर्दा ६ महिनासम्म आम्दानी नहुने हुँदा केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी दिन थाल्ने हुँदा मेवाखेती त्यति गाह्रो पेसा नभएको उनको भनाइ छ ।  

अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको भनाइ छ । हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुनः नयाँ बोट लगाउनुपर्ने उनी बताउँछन् । उनले रेडलेडी प्रजातिको मेवाखेती गरेका छन् । 

मेवाखेतीका लागि कावासोती नगरपालिकाले तीन लाखसम्मको अनुदान उपलब्ध गराएको महतोले बताए । मेवाखेती गर्नुअघि उनले उक्त जग्गामा खरबुजाखेती गरेका थिए । खरबुजाबाट समेत राम्रो आम्दानी भएको महतोले बताए । 

कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत रहेका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि अनुकरणीय बनेका छन् । रोजगारीका लागि सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले स्वदेशमा समेत मेहनत गरे राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेका छन् ।

‘मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसेँ । अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठिकै छ, मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन केही त गर्नैपर्‍यो’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्