
एक हप्ता अघिसम्म दिनदिनै सरकार ढल्ने दाबी गरेर राजनीतिमा तरंग ल्याएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बोली फेरिन थालेको छ ।
नयाँ वर्ष लागेयता दिनहुँजसो नै प्रचण्डले अहिले नै सरकार ढल्छ, भोलि नै ढल्छ, बजेटअगाडि ढल्छ भन्दै राजनीतिमा तरंग नै ल्याएका थिए ।
वैशाख ११ गते पार्टीको संसदीय दल बैठकमा त प्रचण्डले ‘नयाँ समीकरणको आधार बनिसक्यो, देउवा (कांग्रेस सभापति शेरबहादुर देउवा)जी थाइल्यान्डबाट फर्किएपछि थप कुरा हुन्छ’ भन्दै सनसनी ल्याउन खोजे ।
गर्भनर नियुक्तिको किचलो र शिक्षक आन्दोलनका कारण सरकारमा रहे पनि कांग्रेस केही असन्तुष्ट भएकै थियो । यसैलाई देखाएर दिनहुँ सरकार ढल्ने दाबी गरेका प्रचण्डको बोली पछिल्ला दिनमा फेरिन थालेको छ ।
सरकार ढल्ने दाबी गर्न छाडेर प्रचण्ड ‘अब ठूलो जनआन्दोलनको तयारी गर्नुपर्नेछ’ भन्न थालेका छन् । मजदुर दिवसको अवसरमा बिहीबार प्रचण्डले आफूहरू विगतमा गरेका कमजोरी सच्च्याउन लाग्ने बताए । साथै, ठूलो आन्दोलनका लागि तयार हुन कार्यकताई निर्देशन दिए ।
‘हामीलाई एकपटक फेरि जनताको तागत र शक्ति चाहिएको छ । हामी आफ्ना कमी–कमजोरी सच्च्याउन तयार छौं,’ प्रचण्डले भने, ‘म मजदुर साथीहरूलाई आग्रह गर्छु, राम्रो तयारीमा जुट्नुस्, छिट्टै ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ ।’
प्रचण्ड यत्तिमै रोकिएनन्, यथास्थितिवादीसँग मिलेर सरकारमा जाने रुचि नभएको बताए ।
‘फेरि एकचोटि यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन,’ प्रचण्डले भनेका थिए, ‘हामी जनतासँगै र हाम्रो वर्गसँगै ठीक छौं । तपाईंहरू कोही पनि कन्फ्युजनमा नपर्नुहोला ।’
‘सरकार ढल्छ’ भनेर प्रचण्डले गरिरहेको दाबीलाई देउवाले थाइल्यान्ड भ्रमणबाट फर्किँदा एयरपोर्टमै खण्डन गरिदिएका थिए । छोटो प्रतिक्रिया दिँदै शेरबहादुर देउवाले समीकरणमा ‘केही समस्या छैन, यो ठीक छ,’ भनेका थिए ।
यता हल्लाखल्ला भएर केही समस्या आउन खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच संवाद जारी नै रहेको थियो । देउवाले थाइल्यान्डबाटै नेपालमा भएका हल्लाबारे प्रधानमन्त्रीसँग सोधखोज गरेका थिए ।
ओलीले शिक्षामन्त्री चयन, ऊर्जा राज्यमन्त्रीको बर्खास्तीका विषयमा देउवासँग निरन्तर संवाद गरेका थिए । देउवाको एक साताको विदेश भ्रमणका क्रममा दुईबीच दुईपटक टेलिफोन संवाद भएको थियो ।

देउवा १२ वैशाखमा नेपाल फर्किएपछि ओली र देउवाबीच भेट भएको थियो । लगत्तै दुवैले लामो संवाद गर्दै गभर्नर नियुक्तिमा किचलो नगर्ने, आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने सहमति गरेका थिए । सो सहमतिपछि सरकारले शिक्षकसँग वार्ता गरेर ९ बुँदे समझदारी गरिसकेको छ । सो समझदारीअनुसार सरकारले शिक्षकका लागि उपचार, बिदा, दुर्गम भत्ता, ग्रेड संख्या र उपचारसहितका विषय सम्बोधन गरेको थियो । असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता पनि सरकारमा रहेका प्रमुख दलले व्यक्त गरेका थिए ।
ओली र देउवाबीच गभर्नर नियुक्तिको प्रक्रिया पनि एकदुई दिनभित्रमा टुंग्याउने समझदारी भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।
‘यसअघि पनि सरकारमा रहेका प्रमुख दुई दलबीच खटपट आएको होइन । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले दिनहुँ सरकार ढल्छ भनेर सरकारबाट बाहिरिनुको पीडा मात्रै व्यक्त गर्नुभएको हो,’ प्रधामनन्त्रीनिकट स्रोतले भन्यो, ‘सरकार ढल्ने नै अवस्थामा पुगेको भए अहिलेसम्म अर्कै स्थिति बन्थ्यो । तर, प्रचण्डले सार्वजनिक खपतका लागि मात्रै मिडियालाई हेडलाइन दिनुभएको हो ।’
स्थिति अर्कै रहेको थाहा पाएपछि प्रचण्डले बोली फेरेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।
‘प्रचण्डले दाबी गरेकोजस्तो हुन्थ्यो भने परिस्थिति धेरै पर पुग्थ्यो होला । हामी पर्याप्त संवादमा हुँदा स्थिति त्यस्तो थिएन । प्रचण्डजीले एकोहोरो रटान मात्रै लगाउनुभएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘आफूले हप्ता/दश दिन मिडियालाई दिएको हेडलाइनले काम नगरेपछि अहिले प्रचण्डजी हामी जनतासँगै ठीक छौं, सरकारमा जाँदैनौं भन्न थाल्नुभएको छ । यो सत्ताबाहिर बस्नुपर्दाको छटपटीमात्रै हो ।’
सरकारको काम गराइसँग असन्तुष्टि जनाएका कांग्रेस महामन्त्री गगन थापाले समेत गठबन्धनबारे तलमाथि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामी गठबन्धनबारे तलमाथि गर्ने पक्षमा छैनौं,’ थापाले केही दिनअगाडि पार्टीको उद्योग विभागले गरेको कार्यक्रममा भनेका थिए, ‘तर, सरकारले नतिजा दिनेगरी काम गर्नुपर्छ भन्ने हाम्रो मत हो ।’
प्रचण्डले निरन्तर सत्ता ढल्ने दाबी गरिरहँदा केही दिनअगाडि माओवादीकै महासचिव देव गुरुङले त्यसविपरीत अभिव्यक्ति दिएका थिए । ‘हामी सरकार ढाल्ने पक्षमा छैनौं । यो सरकार अहिले ढल्न पनि हुँदैन,’ प्रचण्डका विश्वासपात्र समेत रहेका गुरुङले केही दिनअगाडि भनेका थिए, ‘सरकारको विषयमा पार्टीभित्रसमेत कुनै कुराकानी भएको छैन ।’
प्रचण्डले सरकार ढल्ने मात्रै होइन, माओवादीले साथ दिने तर सरकारमा नजाने भनेर कांग्रेसलाई ‘कार्ड’ फालेका थिए । प्रचण्डकै शैलीमा माओवादी उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पनि कांग्रेसले सरकार बनाए माओवादीले साथ दिने बताएका थिए ।
राजनीतिक विश्लेषक शंकर तिवारी कार्यकर्तालाई उत्साही बनाउन दिनदिनै प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएको बताउँछन् । ‘प्रचण्डको व्यक्तित्वमा अनेकन बलिया पक्ष छन्, केही कमजोर पक्ष छन् । अस्थिरता एउटा कमजोरी हो । भीडको अगाडि पुगेपछि, दिनदिन रोजरोज अभिव्यक्ति दिनुपर्दा त्यो स्वाभाविक बन्न पुगको छ । कार्यकर्तालाई उत्साहित बनाइराख्न नेताले त्यस्ता अभिव्यक्ति दिन्छन्, जुन तत्काल पूरा हुँदैनन्,’ तिवारीले लोकान्तरसँग भने ।