२५ जेठ २०८३, सोमबार
सम्पादकीय

दशौं वर्षमा लोकान्तर– 'बेथितिविरुद्धको लडाइँमा निर्भीक र अविचलित रहनेछौं'

बैशाख २४, २०८२
काठमाडौं
दशौं वर्षमा लोकान्तर– 'बेथितिविरुद्धको लडाइँमा निर्भीक र अविचलित रहनेछौं'

खोजमूलक समाचारमा भिन्न पहिचान बनाउन सफल नेपालको डिजिटल पत्रिका लोकान्तर डट्कम नवौं वर्ष पूरा भएर आज दशौं वर्षमा प्रवेश गरेको छ । 

सर्वप्रथम त यस अवसरमा हामी हाम्रा प्रिय पाठक, विज्ञापनदाता, समाचार स्रोतलगायत सबै शुभेच्छुकप्रति आभार प्रकट गर्दछौं ।

पछिल्लो एक दशकमा आएका कोरोना महामारी र आर्थिक मन्दीलगायत चुनौती पार गर्दै हामीले ९ वर्ष पूरा गरेका छौं । तमाम अप्ठ्यारा चिर्दै हामीले खोजी पत्रकारिताको धारलाई भुत्ते हुन दिएका छैनौं ।

कम्तीमा पनि प्रत्येक साता हामीले एउटा खोज स्टोरी प्रकाशित गरिरहेका छौं । प्रत्येक दिनजसो हामी खोजमूलक सामग्री दिइरहेका छौं । 

९ वर्षको अवधिमा हामीले खोजपत्रकारितामार्फत यस्ता कयौं अनियमितता, भ्रष्टाचार र विकृतिको पर्दाफास गरेका छौं, जसले राज्यका निकायलाई सुधार गर्न बाध्य बनाएको छ ।

काठमाडौंको सिंहदरबारदेखि गाउँको सिंहदरबारसम्म जहाँ बेथिति हुन्छ, त्यहाँ हाम्रो नजर पुगेको हुन्छ । 

लोकान्तरमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले एक्सन लिएका, अख्तियारले छापा छानेका तमाम घटना र उदाहरण छन् । 

पछिल्लोपटक लाइसेन्स घोटालाको पर्दाफास गरेपछि अख्तियारले यातायात कार्यालयमा छापा मारेको थियो । लोकान्तरमा समाचार प्रकाशित भएपछि न्यायाधीशहरू समेत बर्खास्तीमा परेका उदाहरण समेत छन् । 

हामी सूचना मात्र दिइरहेका छैनौं, त्यसको गहिराइसम्मको विश्लेषण पनि गरिरहेका छौं । 

पछिल्लो समय देशमा दुईपटक भएका सरकार परिवर्तनमा सबैभन्दा अघि शृङ्खलाबद्ध समाचार ब्रेक गरेर हामीले पाठकलाई सूचित गरेका थियौं । त्यही साखका कारण सचेत पाठकहरूले सत्ता फेरबदलबारे आइरहने अफवाहको भर नपरी वास्तविकता जाँच गर्न लोकान्तरलाई सहारा बनाएको प्रतिक्रियाले हामीलाई उत्साही बनाएको छ । 

काम गर्ने क्रममा त्रुटि, अपरिपक्व क्रियाकलाप भएका हुन सक्छन् । त्यसबाट पाठ सिक्दै आगामी दिनमा अझै परिपक्व, जिम्मेवारीयुक्त र विश्वसनीय सामग्री सम्प्रेषणमा ध्यान केन्द्रित गर्ने हाम्रो पूर्वप्रतिबद्धता फेरि दोहोर्‍याउन चाहन्छौं ।

यहाँहरूको निरन्तरको खबरदारी, शुभेच्छा र मार्ग निर्देशनविना हामी आफ्नो गन्तव्यमा सही ढंगले नपुग्न पनि सक्छौं । त्यसैले हाम्रा हरेक सामग्रीमा प्राप्त हुने सुझाव, प्रतिक्रिया, आलोचना,  प्रशंसा, गाली सबै हाम्रा लागि स्वीकार्य छन् ।

‘निरन्तर तथ्यको खोज’ नारा दिएर हामीले २०७३ वैशाखमा जुन उद्देश्यले लोकान्तर डट्कम स्थापना गरेका थियौं, त्यसमा हामी अविचलित छौं ।

राज्य संयन्त्रमा हुने अनियमितताविरुद्ध हामी आगामी दिनमा अझ सशक्त रूपमा प्रस्तुत हुनेछौं । भ्रष्टाचार र अनियमितताको विरोध तथा सुशासनको पक्षमा हामी पहरेदारी गरिरहने छौं । 

salt training

कमेन्ट गर्नुहोस्