![प्रादेशिक राजधानी बाँड्दै उम्मेदवार : दाङको लबिङमा महरा [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/mahara_MxLPcSykrM.jpg)
दाङ, १६ मंसिर – एकिकृत माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पाँच नम्बर प्रदेशको प्रादेशिक राजधानी दाङमै हुने बताएका छन् । उनले बर्दियादेखि नवलपरासीसम्मको लागि दाङ उपयुक्त ठाउँ भएकोले राजधानी दाङ नै उचित हुने बताए ।
दाङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका महराले दाङमा प्रादेशिक राजधानीको ‘ललिपप’ बाँडिरहेका छन् ।
दाङ सुरक्षाको हिसावले निकै राम्रो ठाउँ भएकोले पनि राजधानीको लागि उपयुक्त हुने उनले लोकान्तरलाई बताए । दाङमा केही भौतिक पूर्वाधारहरु रहेका र केही निर्माण गर्न सकिन महराको भनाइ छ ।
नेकपा एमालेका केही नेताले पाँच नम्बरको राजधानी बुटवल बनाउने लबिङ गरिरहेका बेला महरा चाहिँ दाङको लबिङमा छन् । ‘एमाले नेता शंकर पोख्रेल दाङलाई नै प्रादेशकि राजधानी बनाउने लाइनमा हुनुहुन्छ,’ महराले लोकान्तरसँग भने, ‘मलाई अरुले के भन्छन् भन्ने कुरामा मतलब छैन । राजधानी दाङ नै हुन्छ ।’
यसै सन्दर्भमा उनले यसपालीको चुनावमा वामपन्थी गठबन्धनले दुई तिहाई बहुमत ल्याउने बताए । उनले वामपन्थीले पाँच वर्ष हैन २० वर्षसम्म देशको शासन सत्ता सञ्चालन गर्ने दाबी गरे ।
साथै उनले आफूलाई अन्य जिल्लाबाट पनि चुनाव लड्न अफर आएको भएपनि आफू एक पटक दाङबाट चुनाव लडिसकेको व्यक्ति भएकोले फेरि पनि दाङ नै रोजेको बताए ।
उनले आफू राष्ट्रिय राजनीतिमा महत्व राख्ने व्यक्ति भएकोले कहाँबाट चुनाव उठ्यो भन्ने कुरा ठूलो नहुने समेत बताए ।