११ साउन २०८३, सोमबार

मौसमले रोक्न सकेन फ्रान्सको शानदार लय

असार ९, २०८३
काठमाडौं
मौसमले रोक्न सकेन फ्रान्सको शानदार लय

मौसमको खराबीका कारण दुई साढे दुई घण्टासम्म खेल रोकिए पनि त्यसले फ्रान्सको सानदार लयलाई रोक्न सकेन। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’को खेलमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेको जादुमयी प्रदर्शनको मद्दतले फ्रान्सले इराकी टोलीलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ३२ (नकआउट चरण) मा आफ्नो स्थान सुरक्षित गरेको हो।

मौसम प्रतिकूल बनेपछि खेल करिब साढे दुई घण्टा ढिलो गरी शुरू भएको थियो र बीचमा रोकिएको थियो। तर, खेल मैदानमा फर्किएपछि फ्रान्सका कप्तान किलियन एम्बाप्पे पूर्ण रूपमा छाए । उनको तीव्र गति र आक्रामक खेलअघि इराकी रक्षापंक्ति निरिह देखियो। 

खेलको सुरुवातमै आक्रामक बनेको फ्रान्सका लागि १४औँ मिनेटमा किलियन एम्बाप्पेले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा पनि आफ्नो दबाब कायमै राख्यो । खेलको ५४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

इराक खेलमा फर्कने प्रयास गरिरहेका बेला खेलको ६६औँ मिनेटमा ओसमान डेम्बेलेले गोल गरेपछि फ्रान्सले ३–० को सहज र सुनिश्चित जिततर्फ कदम बढायो।

अर्कोतर्फ, इराकका लागि विश्वकपको मञ्च पुनः एकपटक निराशाजनक साबित भएको छ। विश्वकप इतिहासका कुल ६ खेलमा इराकको यो लगातार छैटौँ पराजय हो । 

खेलका केही अंशहरूमा इराकी खेलाडीहरू अली अल-हमादी र जिदान इकबालले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरे पनि उनीहरूले फ्रान्सका गोलकिपर माइक मेग्नानलाई वास्तविक रूपमा कुनै ठुलो चुनौती दिन वा संकटमा पार्न सकेनन्।

पराजयसँगै इराक विश्वकपको समूह चरणबाटै बाहिरिने सङ्घारमा पुगेको छ। तर, इराकका लागि अझै पनि झिनो आशा बाँकी नै छ । समूह चरणको आफ्नो अन्तिम खेलमा सेनेगलविरुद्ध सानदार जित निकाल्न सकेमा इराकले आफ्नो विश्वकप यात्रालाई जीवितै राख्न सक्नेछ, अन्यथा उसको यात्रा यहीँ टुङ्गिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्