
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८२’ को मिति घोषणा भएको छ ।
मञ्चले बुधबार काठमाडौंमा एक कार्यक्रमबीच अवार्डको २३औँ संस्करण आगामी भदौ १८ गते नेपाल पुलिस क्लबमा आयोजना गर्ने घोषणा गरेको हो ।
अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ । गोल्छा ग्रुप लगातार १९औँ पटक अवार्डसँग जोडिएको हो ।
मञ्च र गोल्छा ग्रुपबीच अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता भएको थियो जुन, दोस्रो वर्षमा चलिरहेको छ ।
सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन् ।
निर्देशक गोल्छाले लगातार अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै नेपाली खेलकुदको स्तरवृद्धि गर्न आफूहरू निरन्तर लागिपरेको जानकारी दिए । ‘लगातार १९ वर्षदेखि मञ्चसँग जोडिन पाउँदा गर्व लागेको छ । हामी खेलकुदको विकासमा निरन्तर हातेमालो गर्दै हिँडिरहेका छौं,’ उनले भने ।
मञ्चका अध्यक्ष अधिकारीले गोल्छा ग्रुपसँगको निरन्तरको सहकार्यले अवार्डलाई झनै व्यवस्थित र वृहत् बनाउँदै लगेको बताए । उनले गोल्छा ग्रुपलाई धन्यवाद पनि दिए ।
मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्ट्स अवार्ड–२०८२ मा विभिन्न नौवटा विधामा अवार्ड प्रदान गरिने जानकारी दिए ।
उनका अनुसार यसपटकको विधा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड हुन् ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष खेलाडी युवा, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने पनि महासचिव खड्काले जानकारी दिए ।
यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी शुरू गरिसकेको बताइएको छ । प्रत्येक विधाको मनोनयनमा ५/५ जनालाई छनोट गरिने छ ।
लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा भने अवार्डकै दिन हुनेछ ।
भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन छिट्टै सार्वजनिक गरिने महासचिव खड्काले जानकारी दिए ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, पिपल्स च्वाइस अवार्ड, वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई भने जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ ।
यसैगरी, पल्सर स्पोर्ट्स अवार्ड–२०८२ लाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति पनि गठन गरिएको छ ।
गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, महिलातर्फ कराँतेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए ।
स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसी कुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बङ्गलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाटलाई सम्मानित गरिएको थियो ।