
विश्व फुटबलको महाकुम्भ, फिफा विश्वकप यतिबेला आफ्नो अन्तिम अध्याय लेख्ने तयारीमा छ । फाइनलमा सोमबार राति दुई पूर्वविजेता अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन् ।
स्पेन र अर्जेन्टिनाबीचको फाइनल खेल अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बजे शुरू हुनेछ । यो उपाधि भिडन्तले विश्व फुटबलका दुई फरक दर्शनलाई आमनेसामने गराउने छ ।
एकातिर, लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना छ, जो लगातार दोस्रो पटक विश्व विजेता बन्ने सपना बुनिरहेको छ ।
अर्कोतिर छ, लुइस डे ला फुएन्टको स्पेन, जो ३७ खेलदेखि अपराजित रहँदै एउटा नयाँ युगको सूत्रपात गर्न तम्तयार देखिन्छ ।
गोल्डेन स्टेट वारियर्सका स्टार स्टेफन करीदेखि विश्वभरका करोडौं समर्थकको आँखा अहिले लियोनल मेसीमाथि केन्द्रित छ ।
३९ वर्षीय मेसीका लागि यो सम्भवतः अन्तिम विश्वकप हो । अर्जेन्टिनाको यात्रालाई हेर्ने हो भने यो कुनै चलचित्रको कथाभन्दा कम लाग्दैन ।
नकआउट चरणका चारवटै खेलमा अर्जेन्टिनाले कि पछि परेको अवस्थालाई उल्ट्याएको छ, कि खेलको अन्तिम समयमा गोल गरेर जित निकालेको छ ।
अर्जेन्टिनाको १९ गोलमध्ये १२ गोल ७५औं मिनेटपछि नै भएका छन् । यसले टोलीको अटुट मनोबल र अन्तिम समयसम्म पनि हार नमान्ने प्रवृत्तिलाई प्रष्ट पार्छ ।
अर्कोतिर, स्पेनको कथा भने अर्जेन्टिनाको ठीक विपरीत छ । सन् २०२४ को युरो च्याम्पियन स्पेन यो विश्वकपमा फरक लयमा छ ।
सात खेल खेल्दा स्पेनले जम्मा एक गोल खाएको छ । फ्रान्सजस्तो शक्तिशाली टोलीलाई समेत पन्छाउँदै फाइनलसम्म आइपुगेको स्पेनको मुख्य हतियार बलमाथिको नियन्त्रण हो ।
स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले हराउँदा देखाएको संयमित खेल शैली र अर्जेन्टिनाले नकआउट चरणमा संघर्षपूर्ण जित निकाल्दै गरेको यात्राले फाइनललाई थप रोमाञ्चक बनाउने छ ।
प्रशिक्षक लुइस डे ला फुएन्टको रणनीति प्रष्ट छ, ‘मह’को महत्त्व नभए ‘मौरी’को पनि अस्तित्व रहँदैन । अर्थात्, व्यक्तिगत प्रदर्शनभन्दा पनि टोलीको संगठित खेललाई उनले प्राथमिकता दिँदै आएका छन् ।
फाइनल खेलमा स्पेनले विश्व फुटबलका सर्वकालीन महान खेलाडी मेसीलाई गोल वा असिस्ट गर्नबाट रोक्ने योजना बन्नु पक्का छ ।
यसका लागि रोड्रीको भूमिका निर्णायक हुनेछ । मेसीलाई पेनाल्टी बक्सभन्दा टाढै राखेर बल नियन्त्रणमा लिने स्पेनको योजना सफल भएमा मेसीको जादु फिका पर्न सक्छ ।
यसैगरी, यो फाइनल केवल अर्जेन्टिनी स्टार मेसीको ‘बिदाइ’ मात्र होइन, १९ वर्षीय स्पेनिस भविष्य लामिन यामालको ‘उदय’ पनि हो ।
स्पेनिस क्लब बार्सिलोनामा मेसीको बलियो उत्तराधिकारीका रूपमा हेरिएका यामालले फाइनलमा निर्णायक गोल गर्ने बलियो सम्भावना छ । यामालको गति र फुर्तिलोपनलेअर्जेन्टिनाको डिफेन्सको कठिन परीक्षा लिने पक्का छ ।
विश्वकपको ठूलो मञ्चमा रहे पनि मेसी धैं चर्चाको केन्द्रबाट टाढै बस्न रुचाउँछन् । फाइनलअघिको पत्रकार सम्मेलनमा समेत मेसीको सट्टा गोलरक्षक एमिलियानो मार्टिनेज उपस्थित भए ।
यसबारे अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी भन्छन्, ‘उनी विश्वले देखेका अहिलेसम्मकै महान फुटबलर हुन् । ३९ वर्षको उमेरमा पनि उनले जसरी टोलीलाई फाइनलसम्म डोर्याएका छन् । त्यो अविश्वसनीय छ ।’
मेसीको यो अन्तिम विश्वकप हो कि होइन भन्ने प्रश्नमा प्रशिक्षक स्कालोनीले हाँस्दै जवाफ दिएका छन्, ‘उनी सधैं हामीलाई अचम्ममा पार्छन्, त्यसैले केही भन्न सकिँदैन ।’
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । सन् २००७ मा खिचिएको त्यो तस्वीरमा २० वर्षका मेसीले तीन महिनाको शिशु यामाललाई काखमा लिएको देखिन्छ ।
आज, १९ वर्षपछि तिनै यामाल विश्वकपको फाइनलमा आफ्ना आदर्श मेसीविरुद्ध मैदानमा उत्रँदै छन् । यसबारे, मेसीले निकै भावुक प्रतिक्रिया दिएका छन्, ‘अहिले हामी आमनेसामने छौं । मलाई यतिबेला लाग्छ, यो तस्वीरले निकै अनौठो कथा बोलिरहेको छ !’
उनले यामालको खुलेर प्रशंसा गर्दै भनेका छन्, ‘उनी अहिले विश्वका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनको भविष्य उज्वल छ । तर, सोमबार राति हामी दुवैले आ–आफ्नो टोलीका लागि सर्वश्रेष्ठ प्रदर्शन दिने प्रयास गर्नेछौं ।’
त्यो तस्वीरले अहिले विश्व फुटबलको वर्तमान र भविष्यलाई स्पष्ट रूपमा दर्साएको छ । मेसी आफ्नो करिअरको अन्तिम ठूलो मञ्चमा छन्, जबकि यामाल आफ्नो करिअरको शुरूआती शिखरमा ।
स्पेनका प्रशिक्षक फुएन्ट भने आफ्ना युवा स्टार यामाललाई मेसीसँग तुलना गर्न चाहँदैनन् । उनले भनेका छन्, ‘मेसी इतिहासका अद्वितीय खेलाडी हुन् । मैले लामिनलाई यो कुरा स्पष्ट रूपमा सम्झाएको छु । स्पेनको बल भनेको हाम्रो सामूहिक एकता नै हो ।’
अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले पनि स्पेनिस टोलीको प्रशंसा गर्दै भनेका छन्, ‘उनीहरू फाइनलमा छन्, किनकि उनीहरू उत्कृष्ट टोली हुन् । फाइनल खेल कत्तिको कठिन हुनेछ भन्ने कुरा हामीले राम्ररी बुझेका छौं ।’
सोमबारको खेल कसले जित्ला, त्यो त मैदानले नै बताउँला । तर, यो खेल दुई पुस्ताको मिलन र बिदाइको साक्षी भने पक्कै बन्नेछ ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीको टोलीले भावनात्मक ऊर्जा र अन्तिम मिनेटको चमत्कारमा विश्वास गर्छ भने स्पेन धैर्यता र स्पष्ट रणनीतिमा ।
तथ्याङ्कले स्पेनलाई थोरै बलियो देखाए पनि फुटबलमा मैदानको जादु सधैं निर्णायक हुन्छ । त्यसैले, मेटलाइफ स्टेडियममा सोमबार हुने भिडन्त केवल एउटा खेलमात्र हुने छैन । बरु, यो इतिहास र भविष्यबीचको ऐतिहासिक लडाइँ पनि हुनेछ ।
सन् १९६२ मा पेलेको ब्राजिलपछि लगातार दुईपटक विश्वकप जित्ने सपना बोकेको अर्जेन्टिनाका लागि यो खेल जीवन–मरणको लडाइँ जस्तै हुनेछ ।
अर्कोतिर, सन् २०१० को च्याम्पियन स्पेन आफ्नो सन्तुलित र अनुशासित खेलमार्फत अर्को उपाधि कुम्ल्याउने योजनामा रहने छ ।
त्यसैले, सोमबार राति न्यू जर्सीको आकाशमुनि मेसीले आफ्नो सुनौलो करिअरमा अर्को एउटा ऐतिहासिक अध्याय थप्नेछन् वा स्पेनले विश्व फुटबलमा एउटा नयाँ युगको शुरूआत गर्नेछ ।
स्पेनको संगठित आक्रमण वा अर्जेन्टिनाको अन्तिम समयको चमत्कार, कसले बाजी मार्ला ? सारा विश्वको आँखा अब त्यही ९० मिनेटको खेलमा केन्द्रित रहने छ ।