२५ जेठ २०८३, सोमबार

कथा- संयोगको श्रृंखला

जेठ ३, २०८२
काठमाडौं
कथा- संयोगको श्रृंखला

दुनियाँ तेज गतिमा दौडिरहेको बेला, अमेरिका, चीन र भारत संसारमा को भन्दा को अगाडि भन्ने होडबाजी चलिरहेको छ। विकास, समृद्धि र नागरिक कल्याण सबै क्षेत्रमा संसारले छलाङ मारेको छ। 

अर्कोतर्फ, संसारको एक कुनामा एउटा देश छ, जहाँ प्रकृति, वातावरण, पौरख सबै उच्च छन्। सम्भावना हुँदाहुँदै पनि देशभित्र अस्थिरता, अविकास र अव्यवस्थाको बादलले नछोएको कुनै क्षेत्र छैन। अग्ला अग्ला हिमालहरू छन्, हिमालभन्दा अग्लो त भ्रष्टाचार छ। शुद्ध नदीहरू बगेका छन्, तर त्योभन्दा धमिला पछौटेपन र विभेदका ढलहरू बगेका देखेर राजुलाई औडाह नहुने कुरै हुँदैन। त्यो देशमा यस्तो निकाय कुनै छैन, जो चरम भ्रष्टाचार, अनैतिकता र अराजकताबाट अछुतो होस्।

द्वन्द्वले जसरी गाउँबस्ती हुँदै पुरै देशमा खडेरीमा सल्किएको डढेलोजस्तै फैलिएको उसले देख्दैछ। त्यसैगरी उसको मनभित्र पनि लथालिङ्ग देशको हालत देखेर बेचैनी नबढेको भने होइन। तैपनि, भर्खर किशोर अवस्था पार गर्दै उच्च शिक्षा सकिएको छ। त्यो देशमा पढ्नु नै जागिर खानु पहिलो प्राथमिकता भएकोले उसको नहुने कुरै थिएन। जागिरको खोजीमा ऊ भौतारिँदैछ।

उसको जन्म र बसाइँ शहरमै छ। बिहानै चोकतिर चिया पिउन निस्किन्छ। त्यो चिया दोकान शहरभरि मिठो चिया पाइनेमध्येको हो। माघको अन्त्यतिर घाम आकाशबाट पृथ्वीमा ओर्लिसकेको हुन्छ। देशमा सु-शासन र शान्तिले पाइला टेक्ने कुनै ठेगान थिएन। मान्छेहरू चिया पिउन र पत्रिका पढ्न आ–आफ्नै तालमा हुन्छन्। ठाउँ-ठाउँबाट चुरोटको धुवाँले आकाश ताकिरहेको छ। उसको अम्मल चुरोट बाहेक अरू थिएन। चियावालीसँग याक चुरोट मागेर मुढामा बस्छ। चिया, चुरोट, साथमा गोरखापत्र। फ्रन्टपेज भनेकै हत्या, आक्रमणले ढाकिएको हुने भएकाले ऊ सोझै अन्तिम पृष्ठबाट शुरू गर्छ-पढ्न।

पृष्ठको अन्त्यमा विज्ञापनमा उसको नजर पुग्छ। प्रहरी सेवामा अधिकृतका लागि योग्य इच्छुक उम्मेदवारलाई सूचना देख्छ। धेरै कुरामा संयोग हुन्छ। ऊ अरू निकायमा जागिर खान नसक्ने हैन। युवामय उमेरमा एकपटक सबैलाई सैन्य सेवामा आकर्षण हुन्छ नै। सायद एकातिर रोजगारी, अर्कोतिर देशको अशान्ति, हिंसा र अव्यवस्थाविरुद्ध लड्न पाइने आशा, डर मात्र मृत्यु। मृत्यु त अकाट्य सत्य नै हो किन हट्ने सोचेर ऊ प्रहरी अधिकृतमा आवेदन दिने निर्णयमा पुग्छ। अठोट गर्छ। चुरोटको अन्तिम सर्को सकेर कोठा फर्कन्छ ऊ।

यो शहर राजधानी हो। यहाँ एउटै घरमा यति धेरै बस्छन्, सर्छन् कि गाउँमा त्यति छिटो बसाइँसराइ दश वर्षमा पनि नहोला। मान्छे त पहाडका दुई गाउँ नै पुग्ला जस्तो।

यो पाँच तले घरमा, राजु आफ्नो मनमा कुरा खेलाउँदै ढोकासम्म पुगिसकेको हुन्छ, तर अनायास ठोक्किन पुग्छ- कसैसँग। उसको चस्मा भुइँमा झर्छ र संगै एक पातली केटी धरमराउँदै लड्न खोज्छिन्। उसको बलिष्ट पाखुराले उनलाई उद्धार गर्छ ।

‘ओ एम जी, एनिवे थ्यांक यू !’ भन्दै ऊ बाहिरिन्छे।

बाटोमा निस्केपछि उसले नियाल्छ। लामो कपाल, रातो कुर्ता र सेतो सुरुवाल । अनि मनको ढुकढुकी नरोकिँदै ऊ टाढा पुगिसक्छे। पछाडिबाट उसको तस्वीर धूमिल हुँदै जान्छ।

डेरावालहरूसँग भेट हुनु संयोग भए पनि बेला–बेला भेटको निरन्तरता चलिरहन्छ। उनीहरूको लज्जामिश्रित मुस्कान ऐँचोपैँचो चलिरहन्छ। शब्दहरूले नभए पनि उनीहरूबीच चिनजान बाक्लिँदै जान्छ।

छ महिना पछि। राजु झोला बोकेर डेराबाट निस्कन्छ, एकाबिहानै।

ऊ निस्किने बेला बाहिर हुरी बतास आउने संकेत भएर झ्यालका पर्दाहरू उडिरहेका हुन्छन्, अनि न्यायिकाको आँखा खुल्छ। हतार हतार झ्याल बन्द गर्न उठ्दा उनीसँग ठोक्किने उही झोला बोकेको राजु देख्छिन्। तुफान आइनसकेको हावाको झोक्काले उनको अनुहारमा ठोक्किन्छ… ऊ पर पुगिसक्छ ।

राजु प्रहरीको उच्च तहमा पुग्छ। शहरभरि उसको पेशाप्रतिको उच्च इमान्दारिता र नैतिकताको सुभाष संगठन हुँदै विस्तारै मन्त्रालय र अन्यत्र पनि सुनिन थाल्छ। मिडियामा जसको चर्चा कम छ । किनकी वैश्य युगमा मिडियाले सकरात्मक समाचारहरूको किनबेचले पेट भरिँदैन।

बीसौं वर्षसम्म संगठनभित्र अव्यवस्थाको तुवाँलो झनझन फैलिन्छ, भुसको आगो जस्तै। तर ऊ आफ्नो जिम्मेवारीबाट किंचित डगमगाउँदैन। डङ्गुर फोहोर सफा गर्नुछ भन्ने अठोट मनभरी छ उसको। डढेलो निभाउन बीचबाट सम्भव छैन भन्ने तालिमबाट आर्जित ज्ञान उसले ‘फायर लाइन’ सिद्धान्तलाई कौशलतापूर्वक प्रयोग गर्छ, संगठन निर्माणमा-अहोरात्र। जसरी एउटा बुवा फाटेको जुत्ता, मैलो लुगा, आधा पेट खाएर आफ्ना सन्ततिका खातिर मौरीले मह बनाउन मेहनत गरेजस्तै संगठन निर्माणमा लागि रहन्छ । निरन्तर।

शहरमा एक दिन ठूलो सभाको आयोजना हुन्छ। जहाँ सबै मन्त्री, उच्च पदस्थहरूको शिखर सम्मेलन सहभागितामा आयोजना गरिएको छ ।

ठूलाबडाहरूको सम्मेलन प्रायः रात्रीकालिन समयमा शुरू र अन्त्य हुने चलन छ। जाडोको मौसम- साँझ सात बजे नै मध्यरातकै झल्को हुन्छ। त्यो भव्य भवनमा पानसमा बत्ती बाल्ने समय, प्रमुख अतिथि दीप प्रज्ज्वल गर्न अगाडि बढ्दैछन्, एकाएक हल्लिएको आभाष हुन्छ। हलभित्र भागदौड र चिच्याहट शुरू हुन्छ। छिनभरमै त्यो भव्य भवन गर्ल्याम्म ढल्छ। धेरैको एउटै चिहान हुन्छ ।

हरेक युगमा संयोग घटित भइरहनु अचम्म होइन। एउटा नराम्रो संयोगले अरू ठूलो नराम्रोबाट बचाउन सायद प्रकृतिले आफ्नो रूपको कुरूपता प्रस्तुत गर्छिन्। यस्तै भइदियो आज। सबै भीआईपीहरू साइरन बजाउँदै समयमै पुगिसकेका थिए। उसले भने शहरको ट्राफिक साइरन छिचोल्दै नजान ड्राइभरलाई निर्देशन दियो, ‘पाँच मिनेट कुनै भीआईपी पालो कुर्दा आकाशै झर्दैन।’

त्यही कुराइ नै ऊ बाँच्नुको संयोग बनिदियो, भूकम्पबाट।

तुरुन्तै कन्ट्रोल रूमबाट खबर आउँछ। शिखर सम्मेलन चलिरहेको भवन ढल्यो। ऊ उद्धारमा खटिन्छ र बाँकीलाई परिचालन गर्न आदेश दिन्छ। एम्बुलेन्सहरूको भागदौड र साइरनहरूको कोलाहल। शहरभरि अस्पतालहरू भरिन्छन्।

अफसोच !सबै भीआईपीहरू घाटतिर लग्न शव बोक्नेहरूको ताँती लाग्छ- शव बाहनको।

उसले उद्धार गरेकी एक जनाले पुनर्जन्म पाइन्। कहिलेकाहीँ विमान दुर्घटना हुँदा पनि कोही बाँच्न सक्छन्, पुनर्जीवन प्राप्त गर्छन्। भाग्यमानी ! ती उनै भाग्यमानी थिइन्, जो रातको अँध्यारोमा नचिनेकी भीआईपी उनै न्यायिका रहिछन्।

प्रकृतिभन्दा माथि कोही हुन्न – जति चलाखी गरे पनि।

त्यो देशको विशेष अवस्थामा उसले देशको कार्यकारी पद सम्हाल्ने अवसर प्राप्त गर्न पुग्छ। र, न्यायिकाले न्यायालय।

पाँच वर्षपछि,
उनीहरूको सहकार्यमा देशले काँचुली फेर्ने मौका प्राप्त गर्दछ। सबै नागरिकहरू, सबै उच्च पदस्थहरू बदलिएका छन् आज। कसैले नसके प्रकृतिले आठ रेक्टर स्केलको कम्पन गराएर चुडाउन सक्छिन्, बर्खास्त पनि गर्न गर्न सक्छिन्। यो पनि अकल्पनियमध्ये एक हो । एउटा संयोगको निरन्तरता हो।​

न्यायिकाले आफूलाई ऐनामा नियाल्दै राजुको नेतृत्वमा देशको तस्वीर हेरिरहेकी छन् । पृष्ठभूमिमा गीत बजिरहेको छ :

देशले आज तिमी पायो भ्रष्टाचार दुब्लाउँदैछ
संयोग पनि कस्तो भइदियो तिम्रो इमान्दारिता 
यहाँ भीरभरि फूलेको गुराँस जस्तो छ ....!’

[लेखक चन्द सशस्त्र प्रहरी नायब उपरीक्षक हुन् । उनी हाल सशस्त्र प्रहरी बल नेपाल अश्रित गुल्म, जाजरकोटमा कार्यरत छन् ।]
 

salt training

कमेन्ट गर्नुहोस्