२९ जेठ २०८३, शुक्रबार
हिन्दू धर्मको पक्षमा खुल्दै नेता

कांग्रेसमा बढ्दै हिन्दू धर्मको बहस– संस्थागत धारणा बनाउन नेतृत्वमाथि दबाब

जेठ ७, २०८२
काठमाडौं
कांग्रेसमा बढ्दै हिन्दू धर्मको बहस– संस्थागत धारणा बनाउन नेतृत्वमाथि दबाब

खुमबहादुर खड्काको निधनपछि शंकर भण्डारीहरूले एजेन्डा बनाएको हिन्दू राष्ट्र नेपालको नारामा कांग्रेसका प्रभावशाली नेताहरू पनि खुल्दै जान थालेका छन् ।

२०८० फागुन १० गते सभापति शेरबहादुर देउवाले बैठकमा हिन्दू राष्ट्र नेपाल निर्माणका लागि उठेको मतलाई महासमितिको औपचारिक फोरममा प्रवेश गराउने ठाउँ दिएका थिए । 

महासमितिका १ हजार ६३ जनाले धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन हिन्दू राष्ट्र नेपालका लागि गरेको हस्ताक्षरसहित संयोजक शंकर भण्डारीले देउवालाई प्रस्ताव बुझाएका थिए । प्रस्ताव बुझेपछि देउवाले कुरा राख्न भण्डारीलाई समापन कार्यक्रममा समय दिएका थिए । त्यसलाई कतिपयले हिन्दू राष्ट्र नेपाल निर्माणको अभियानलाई कांग्रेसले संस्थागत रूपमा स्वीकारेको रूपमा व्याख्या गरेका थिए । 

महाधिवेशनको दौडमा रहेका डा. शशांक कोइराला, डा. शेखर कोइराला, महामन्त्री गगन थापादेखि अन्य पदका दाबेदारले समेत धर्मको विषयमा खुलेर आफ्ना धारणा राख्न थालेका छन् । त्यसयता डा. शशांक कोइराला नेपाललाई हिन्दू राष्ट्र नेपाल बनाउनुपर्छ भनेर सबैभन्दा बढी लबिङ गर्ने र बोल्ने नेता हुन् ।

शशांक कोइराला, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, रामहरि खतिवडा, सञ्जय गौतम, दिनेश कोइराला, भीम पराजुली, सीता देवकोटा, शुक्रराज शर्मा, मुक्ताकुमारी यादव, रंगमती शाही, प्रकाश स्नेही रसाइली, विद्यादेवी तिमिल्सिना, अर्जुनजंगबहादुर सिंहसहितका केन्द्रीय सदस्यले महासमितिका बेला चलाइएको हिन्दू राष्ट्र नेपाल अभियानमा हस्ताक्षर गरेका थिए  ।

औपचारिकरूपमा पार्टीमा स्थान पाएको विषयले कांग्रेसलाई फेरि संस्थागत रूपमै पोजिसन बनाउन दबाब परेको छ । नेताहरूले खुलेर बोल्न थालेपछि धर्मको विषयमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसमाथि संस्थागत धारणा बनाउन दबाब परेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

नेपाली कांग्रेसका प्रवक्ता डा. महतले संविधान बनाउँदा नै धार्मिक स्वतन्त्रता राख्न खोजे पनि त्यस्तो हुन नसकेको बताए । यसैले पार्टीभित्र सनातन धर्म संस्कृतिको विषयमा बहस भइरहेको उनको भनाइ छ ।

‘संविधान बनाउँदैमा हामीले धार्मिक स्वतन्त्रता राख्न खोजेको हो । तर, हाम्रो कुराले मात्रै सहमति भएन । नेपाली कांग्रेस सनातन धर्म संस्कृतिको रक्षा हुनुपर्छ भन्नेमा प्रस्ट छ । यसमा दुईमत छैन,’ महतले लोकान्तरसँग भने, ‘यसमा अब कसरी  गर्न सकिन्छ । कसरी नाम दिन सकिन्छ भन्नेबारेका विभिन्न कुरा र दृष्टिकोण छन् । कसरी अगाडि बढ्ने भन्नेमा संस्थागत निर्णय गर्नुपर्ने हुन्छ ।’

महतले हिन्दू, बौद्ध र किरातसहितका धर्म संस्कृति नेपालको पहिचान भएको पनि बताए । 

‘धर्म संस्कृतिमा हिन्दू, बौद्ध, किरातसहिका हाम्रा धेरै पहिचान छन् । यी विषय नेपालका पहिचान हुन् । यिनको संरक्षण गर्नुपर्छ । संरक्षणको दायित्व राज्यको पनि हो,’ महतले भने, ‘कुन विधिबाट कसरी गर्ने भन्ने कुरामा दल र नेताहरूका फरक मत छन् । औपचारिक छलफल गरेर यो विषयलाई टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा कांग्रेस छ । किनकि यो विषय महत्त्वपूर्ण छ ।’ 

हिन्दू राष्ट्र नेपालको अभियानमा जोडिँदै आएका कांग्रेस नेता शंकर भण्डारी नेपालको सनातन धर्म, संस्कृति र परम्परालाई विरोध गर्न आवश्यक नभएको बताउँछन् । नेपालको सनातनी हिन्दू, बौद्धजस्ता धर्मलाई मान्दा कसैले आपत्ति जनाउन नहुने उनको भनाइ छ ।

‘धर्म संस्कृति हामी सबैका लागि अनिवार्य विषय हो । स्वतन्त्र, विशिष्ट आधार भएको हाम्रा लागि धर्म संस्कृति, परम्परा, अनुशासन र जीवनपद्धति हो । दलका आफ्ना सिद्धान्त विचार हुन्छन्, तर धर्म संस्कृतिले हामीलाई यी सबैभन्दा माथि राख्छन्,’ भण्डारीले भने, ‘पोखराका होटल भरिभराउ भएको मुक्तिनाथ मन्दिरको आकर्षणले हो, जहाँ लाखौं भक्तजन आस्थाले पुग्छन् । अर्थतन्त्र, देशको पहिचान, सबैको पहिचान यही छ । सबैको कुरालाई आत्मसात गरे कसैले पनि हाम्रो धर्म परम्परालाई विरोध गर्न पर्दैन । अहिले कांग्रेसका अरू नेतालाई हिन्दू धर्मको विषयमा सद् बुद्धि आएको छ । ढिलो चाँडो सबै यही लाइनमा आउँछन् भन्ने हाम्रो विश्वास छ ।’

भारतको प्रयागराजमा लागेको महाकुम्भ मेला धर्मभन्दा आर्थिक उपलब्धिसँग ज्यादा जोडिएकाले नेपालले पनि दुई छिमेकीबाट प्रशस्त लाभ लिन सक्नुपर्ने उनी बताउँछन् । 

‘प्रयागराजको महाकुम्भ हेर्‍यौैं । धर्मभन्दा आर्थिक उपलब्धि भयो, जहाँ करोडौं मान्छे आए । सनातनीलाई विरोध गर्दै जाने हो भने नेपालीबीच सद्भाव, विश्वास केही रहँदैन । यसैले पशुपति पाथीभरा जति पनि शक्तिपीठ छन्, यसतर्फ करोडौं भारतीय हिन्दूलाई ल्याउन सकिन्छ । लुम्बिनीमा करोडौं चिनियाँलाई ल्याउन सकिन्छ । यसले अर्थतन्त्रमा अमूल्य योगदान दिने स्थिति रहन्छ,’ भण्डारी भन्छन्, ‘यसर्थ पार्टी र नेताको कुरा होइन, देशको परिचय, देशको पहिचान, देशको शक्तिको कुरा भएकाले धार्मिक कुरा गर्दा कसैले मन खुम्च्याउन आवश्यक छैन । हिजो देशभित्र सबै धर्मको सम्मान थियो । नेपालीको एकता, सद्भावलाई सम्मान भएको देशमा भौगोलिक विखण्डन, जातीय द्वन्द्व, युवा पलायनजस्ता विषय रोक्न पनि धर्म, संस्कृति र परम्परालाई संस्थागत रूपमा निरन्तरता दिएर जानुपर्छ ।’

हिन्दूवादी राजनीतिक कार्ड 

कांग्रेसमा हिन्दू राष्ट्रको माग राख्नेमा केही केन्द्रीय सदस्य मात्रै छैनन् । पार्टी राजनीति र राष्ट्रिय राजनीतिमा स्थान बनाउन समेत हिन्दू कार्डलाई सहारा लिने मानसिकतामा नेताहरू देखिएका छन् । पछिल्लो समय शशांक मात्रै होइन, धर्मनिरपेक्षता घोषणामा हतार गरिएको भन्दै डा. शेखर कोइरालादेखि गगन थापा, एनपी साउदसहित थुप्रै नेताले मुख खोल्न थालेका छन् । अरू थुप्रै नेताले बाहिर धर्मनिरपेक्षताको वकालत गरे पनि नेपाललाई सके हिन्दू राष्ट्र नै बनाउने, नभए पनि धार्मिक स्वतन्त्र देशको रूपमा घोषणा गर्नुपर्ने मत राख्न थालेका छन् । 

महासमिति बैठकमा देउवाले चलाखीपूर्ण ढंगले शंकर भण्डारीलाई हिन्दू धर्मको विषय प्रवेश गराउने अवसर दिएको नेताहरू बताउँछन् । गत चुनावमा राप्रपाले हिन्दू धर्मकै कुरा गरेर धेरै भोट ल्याएको कांग्रेस नेताहरूले देखेका छन् । कम्युनिस्ट जस्तो मार्क्‍सवाद, लेनिनवाद, माओवादको सैद्धान्तिक जञ्जालले बाँधिनुनपर्ने भएकाले पनि कांग्रेसलाई पुनः धर्मको विषयमा फर्किन गाह्रो नभएको नेताहरू बताउँछन् । 

यसैले महाधिवेशनपूर्व धर्मको विषयमा कांग्रेसका नेताहरू खुलेर आउने, महाधिवेशनदेखि चुनावसम्मै माहोल बनाउने पक्षमा पनि देखिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्