१९ असार २०८३, शुक्रबार

भारतबाट फर्किएका सुदूरपश्चिमका तीन जनामा कोरोना संक्रमण

जेठ २१, २०८२
बैतडी
भारतबाट फर्किएका सुदूरपश्चिमका तीन जनामा कोरोना संक्रमण

भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड संक्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । 

कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो । 

‘भारतको विभिन्न शहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शंकास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको छ । कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौ’, उनले भने । 

कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिए ।

‘कोभिड पुष्टि भएका तीनैजनाको स्याम्पल काठमाडौं पठाएका छौं । काठमाडौँमा पीसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ’, जोशीले भने । 

भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को संक्रमण देखा परिरहेकाले नेपालमा पनि यसको संक्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ । 

सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिए पनि सुदूरपश्चिममा कोभिड संक्रमण भए नभएको पत्ता लगाउने किटको अभाव रहेको छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्