१० साउन २०८३, आइतबार

गाजातर्फ जाँदै गरेको सहायता जहाज इजरायलले रोक्यो, ग्रेटा थुनबर्गसहित प्रमुख अभियन्ता कब्जामा

जेठ २६, २०८२
काठमाडौं
गाजातर्फ जाँदै गरेको सहायता जहाज इजरायलले रोक्यो, ग्रेटा थुनबर्गसहित प्रमुख अभियन्ता कब्जामा

इजरायलले गाजातर्फ जाँदै गरेको एउटा सहायता जहाजलाई रोकेको छ । जसमा वातावरण अभियन्ता ग्रेटा थुनबर्ग र अन्य प्रमुख अभियन्ताहरू सवार थिए । सीएनएनका अनुसार जहाजमा रहेका सबैलाई इजरायल लगिएको छ र उनीहरूलाई हिरासतमा राखिएको छ ।

‘फ्रिडम फ्लीटिला कोअलिशन’ (एफएफसी) का अनुसार इजरायली सेनाले ‘म्याडलिन’ नामक जहाजमाथि हमला गरेर गैरकानुनी रूपमा कब्जा जमाएको हो । 

उक्त जहाज गाजामा सहायता पुर्‍याउन प्रयासरत थियो, जहाँ ६ सय दिनभन्दा बढीको युद्ध र ११ हप्तादेखिको इजरायली नाकाबन्दीले २१ लाखभन्दा बढी मानिसलाई भोकमरीको गहिरो संकटमा धकेलेको छ।

म्याडलिन जहाजमा सवारमध्ये वातावरण अभियन्ता ग्रेटा थुनबर्ग र फ्रान्सकी युरोपेली सांसद रिमा हसन पनि परेका छन् ।

इजरायली परराष्ट्र मन्त्रालयले सोमबार बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै भनेको छ, ‘उक्त जहाज सुरक्षित रूपमा इजरायली किनारातर्फ ल्याइँदैछ । यात्रुहरू चाँडै आफ्ना देश फर्काइने अपेक्षा गरिएको छ ।’

परराष्ट्र मन्त्रालयले पोस्ट गरेको भिडियोमा म्याडलिनको चालक दलका सदस्यहरू सुन्तला रंगको लाइफ ज्याकेट लगाएर बसिरहेको देखिन्छ । एकजना सैनिकले तिनीहरूलाई बोतलमा पानी र प्लास्टिकमा प्याक गरिएको स्यान्डविच दिइरहेका छन् । ग्रेटा थुनबर्ग अगाडिको पंक्तिमा बसेकी देखिन्छिन् ।

जहाजबाट प्रत्यक्ष प्रसारण गरिएको एउटा भिडियोमा अभियन्ता यासमिन अकारले डेकमा सेतो पदार्थ देखाउँदै त्यसलाई जहाजमाथि खसालिएको बताइन् । केही समयपछि उनले उक्त पदार्थले आफ्नो आँखा जलिरहेको सुनाइन् । 

एफएफसी समूहले टेलिग्राममा अर्को भिडियो पनि पोस्ट गरेको थियो, जसमा जहाजभित्र चालक दलका सदस्यहरू हात उठाएर बसेका देखिन्छन्।

जहाजसँगको सम्पर्क टुटेपछि, एफएफसीले ग्रेटा थुनबर्ग र अन्य सवार व्यक्तिका पूर्वरेकर्ड गरिएका भिडियो सन्देश पोस्ट गर्न थाल्यो। तीमध्ये एक भिडियोमा थुनबर्गले भनेकी छन्, ‘यदि तपाईंले यो भिडियो हेर्नुभएको छ भने, हामीलाई अन्तर्राष्ट्रिय पानी क्षेत्रमा इजरायली कब्जा शक्तिले रोक्ने वा अपहरण गर्ने काम गरिसकेको छ ।’

एफएफसीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘इजरायलले पूर्ण उन्मुक्तिमा कार्य गरिरहेको छ । जहाजमा भएको बच्चाहरूको दूध, खाद्यान्न र औषधि सामग्रीसमेत जफत गरिएको छ ।’

इजरायलले भने ती सामग्रीहरूलाई मानवीय च्यानलमार्फत गाजा पुर्‍याइने दाबी गरेको छ । इजरायलले पटकपटक यो सहायता जहाजलाई गाजामा पुग्न नदिने बताउँदै आएको थियो । उक्त जहाजलाई ‘सेलिब्रिटी चढेको सेल्फी याट’ भन्दै प्रचार गर्दै आएको थियो ।

‘इजरायलसँग अन्तर्राष्ट्रिय स्वयंसेवकहरूलाई म्याडलिन जहाजमा हिरासतमा लिने कुनै कानूनी अधिकार छैन’, मानवअधिकार अधिवक्ता तथा फ्रीडम फ्लीटिला आयोजक हुवैदा आराफले भनेका छन्, ‘ यो जबर्जस्ती कब्जा अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन हो र गाजामा मानवीय सहायता पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय अदालतले दिएको आदेशको अवहेलनासमेत हो ।’

salt training

कमेन्ट गर्नुहोस्