
आणविक स्थलमाथि इजरायली आक्रमणको बदलामा इरानले पनि इजरायलका विभिन्न क्षेत्रमा मिसाइल प्रहार गरेको छ। ती हमलामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
इरानले जनाएअनुसार इजरायली सैन्य आक्रमणका कारण अहिलेसम्म ७८ जना मारिएका छन्। जसमा महिला र बालबालिकासमेत रहेका अलजजिराले उल्लेख गरेको छ।
यस्तै, ३२० भन्दा बढी व्यक्ति घाइते भएका छन्। इजरायली सेनाले इरानका विभिन्न शहर, सैन्य पूर्वाधार र आणविक स्थललाई लगातार लक्षित गर्दै आक्रमण गरिरहेको इरानको भनाइ छ।
इरानका सर्वोच्च नेता आयोतु्ल्ला अली खामेनीले इजरायललाई चेतावनी दिँदै भनेका छन्, ‘इरानमाथि हमला गरेर उच्चस्तरीय सैन्य कमाण्ड र ६ जना आणविक वैज्ञानिकलाई हत्या गर्नु गम्भीर अपराध हो, इजरायलले यसको कठोर मूल्य चुकाउनु पर्नेछ।’
यसबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सैन्य कारबाही आवश्यकताअनुसार जारी रहने बताएका छन्।
युद्ध चर्कँदै जाँदा अमेरिकाले इजरायलको आक्रमणबाट आफूलाई टाढा राख्ने प्रयास गरेको छ। साथै, उसले इरानलाई अमेरिकी सैन्य बेसहरू लक्षित नगर्न चेतावनी दिएको छ।