
१५औं महाधिवेशनका लागि सभापतिका अन्य दाबेदार चहलपहलमा लाग्दा संस्थापनका प्रमुख दाबेदार उप–सभापति पूर्णबहादुर खड्का चुपचाप देखिएका छन् ।
इतर पक्षबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापाले सभापतिका लागि दौडधूप शुरू गरिसकेका छन् । संस्थापनभित्रै पनि सभापतिको उम्मेदवार बन्नका लागि कम्तीमा ५ नेताको दाबेदारी छ । पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालादेखि गोपालमान श्रेष्ठसम्मले सभापति शेरबहादुर देउवासमक्ष निवेदन हालिसकेका छन् ।
संस्थापनका प्रमुख दाबेदार खड्कालाई महाधिवेशनको रन्कोले छोएको छैन । अरू नेताले गगन, शेखर र पूर्णलाई समेत रोक्ने नीति लिएका छन् । विकल्पमा आफूहरूमध्ये एक जनालाई रोज्न खुलेरै देउवालाई भनिसकेका छन् । यी सबै कदमको निगरानी खड्काले नजिकबाट गरेका छन् । तर, खड्का भने चुपचाप देखिन्छन् । ‘पर्ख र हेर’को रणनीतिमा उनी देखिन्छन् । देशभरका कार्यकर्तासँग साक्षात्कार गर्न सक्ने पोजिसनमा खड्का छन् । वरिष्ठ उपसभापतिको नेतृत्वमा हुने केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक नै खड्का हुन् । अरूले भन्दा देशैभर यसको कार्यक्रम लिएर हिँड्न सक्ने अवस्थामा उनी छन् ।
केही महिनाअगाडि डा. शेखरले खड्काकै गृहजिल्ला सुर्खेत पुगेर शक्ति प्रदर्शन गरेका थिए । शेखर मात्रै होइनन्, दाबेदार गगनले समेत कर्णालीका जिल्लालाई प्राथमिकता राखेर कार्यक्रम गर्दै आएका छन् । दुई प्रमुख दाबेदारले खड्काको गृह प्रदेशलाई प्राथमिकता दिनुलाई आफ्नै हिसाबले व्याख्या गरेका छन् । खड्का पक्षले आफूहरूलाई नेतृत्वको थ्रेट र प्रतिस्पर्धी मानेरै अरूले सुर्खेतमा कार्यक्रम गरेको दाबी गर्ने गरेको छ ।
अन्तिममा देउवाको साथ पाउने आश
देउवा टीमको झगडा, आफ्नो स्वभाविक दाबी र नेतृत्वका लागि क्रमबद्ध विकासलाई खड्काले सबैभन्दा बलियो हतियार मानेका छन् ।
पार्टी फुट्दादेखि नै देउवालाई नजिकबाट साथ दिएकाले अन्ततः आफू निर्विकल्प दाबेदार भएको बुझाइ खड्काको रहेको उनीनिकट स्रोत बताउँछ । हिजो पार्टी फुट्दा होस् कि नेतृत्वका लागि स्वाभाविक विकास नै किन नहोस्, पूर्णदाइको जत्तिको अरूको छैन,’ खड्कानिकट स्रोतले भन्यो, ‘केन्द्रीय सदस्य, सह–महामन्त्री, महामन्त्री र उपसभापति बन्दै नेतृत्व विकासको सबै तह उहाँले पार गरिसक्नुभएको छ । यो अनवरत साथ र सहयोगको परिणाम हो । यसैले सभापतिको उम्मेदवार बन्नका लागि पनि अरूलेजस्तो हल्लीखल्ली गर्नुपर्दैन, देउवापछि आफू निर्विकल्प उम्मेदवार बन्छु भन्नेमा उहाँ हुनुहुन्छ ।’
यद्यपि, आफ्नो दाबेदारी नहुँदा कसलाई उठाउने भन्ने निर्णयमा देउवा पुगिसकेका छैनन् । महाधिवेशननजिक आएपछिको शक्ति सन्तुलन हेरेर देउवा निर्णय गर्ने पक्षमा छन् । आफूपछि पत्नी एवं नेतृ आरजु राणाको सहज व्यवस्थापन गर्नेलाई वचन दिने पक्षमा देउवा रहेको उनीनिकट स्रोत बताउँछ ।

हल्लाखल्ला नगर्ने स्वभाव
अरूले महाधिवेशनको तयारी गरिसके । शेखर र गगनले कार्यक्रमको व्यस्तताले राजधानीबाहिर बढी समय बिताइरहेका छन् । हरेकजसो भाषणको केन्द्रमा उनीहरूले महाधिवेशनलाई राखेकै हुन्छन् । खड्कालाई रोक्न निधि, सिंह, सिटौला, कोइराला, गच्छदार र श्रेष्ठ हात धोएरै लागेका छन् । उपसभापति खड्का केन्द्रीय नीति, प्रशिक्षण प्रतिष्ठानका संयोजक हुन् । महामन्त्री थापाभन्दा बढी पार्टी कार्यक्रम राखेर जाने सुविधा खड्कालाई छ । अरूजस्तो राजधानीबाहिर पनि कार्यक्रम राखेर जाँदैनन् । अरू बोलिरहन्छन्, तर ढुंगा बोल्ला, खड्का बोल्दैनन् ।
खड्काको शैलीलाई एकथरीले रणनीति मानेका छन् । तर, अर्कोथरीले देउवाबाट आशीर्वाद नपाइने भएकाले नबोलेको, निहिँडेको रूपमा पनि लिएका छन् । अत्यावश्यकबाहेक पार्टीका कुनै पनि कार्यक्रम राखेर खड्का अरू नेताले जस्तो राजधानी बाहिर कम नै पुग्ने गरेको नेताहरू बताउँछन् ।
संस्थापन निकटका नेता रमेश रिजाल उपसभापति खड्का धेरै नै विचार गरेर बोल्ने र कदम चाल्ने नेता भएको बताउँछन्
‘कांग्रेस महाधिवेशनको मुखमा पनि छैन । अझै डेढ–दुई वर्ष महाधिवेशनका लागि समय छ । सभापतिले अब को भनेर मुख खोल्नुभएको छैन,’ रिजाल भन्छन्, ‘उपसभापतिजी परिस्थिति हेरेर, विचार गरेर बोल्नुहुन्छ । त्यहीअनुसार कदम चाल्नुहुन्छ । यसअघि सह–महान्त्रीदेखि उपसभापति बन्दासम्म पनि उहाँको शैली यस्तै थियो । शक्ति सन्तुलन हेरेर मात्रै निर्णय गरौं भन्ने होला ।’ हतारिएर अहिले नै घोषणा गर्दा अर्कोले रणनीति थाहा पाउने, आफ्नो परस्थिति बिग्रन सक्ने स्थितिप्रति खड्का सचेत रहेको रिजालले दाबी गरे ।
गुट नहुनु कमजोरी कि स्ट्रेन्थ !
अरू नेताले जस्तो गुटबन्दी गरेर नेतालाई च्याप्ने शैली खड्काको छैन । यस्ता स्वार्थ समूह बनाएर नेतृत्वलाई दबाब दिने नीति खड्काले बनाएका छैनन् । खुमबहादुर खड्काको निधनपछि उनी निकटका कम्तीमा एकडेढ दर्जन नेतालाई समेत खड्काले आफूसँगै राख्न नसकेको चर्चा कांग्रेसभित्र हुने गरेको छ । शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, मोहनबहादुर बस्नेतलाई खड्काले आफूनिकट राख्न नसकेका हुन् ।
परिस्थितिअनुसार शक्ति संघर्षको ख्याल नगरी खड्का कहिलेकाहीँ आफ्ना पोजिसन राखिहाल्छन् । खुला र खरो स्वभाव उनका लागि कहिलेकाहीँ प्रतिकूल पनि बन्ने गरेको छ । गत वर्ष आरजु राणाले मन्त्री बनेको खुशीयालीमा सानेपाको बैठकमा बाँढेको मिठाइ खानसमेत खड्काले अस्वीकार गरेका थिए । देख्नलाई यो सामान्य लागे पनि खड्काको प्रतिक्रियाको राजनीतिक सन्देश ठूलो रहेको नेताहरू बताउँछन् ।
‘अब देउवा नेतृत्वमा नहुने भएपछि आरजु दिदीले पनि सहजै राजनीतिमा स्थापित हुने नेतृत्व आइदियोस् भन्ने चाहनुभएको छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘शुरूमा पूर्ण दाइसँग पनि यो अपेक्षा थियो्जस्तो लाग्छ । पछिल्लो समय उहाँले सक्नुहुन्न । समूहलाई संरक्षण गर्ने गरी लाग्नुहुन्न । बरु कृष्ण सिटौला ठीक भनेर आरजुले भनेको सुनेका छौं ।’ यद्यपि कर्णाली कांग्रेस संस्थापनका नेताहरूसँग भने खड्का निकट सम्बन्धमै रहेको नेताहरू बताउँछन् ।
राजनीतिक विश्लेषक शंकर तिवारी सभापतिपछि पावरफूल वरिष्ठ उपसभापति भए पनि खड्का उत्ताउलो नदेखिएको बताउँछन् ।
‘सभापति पछि देशभर प्रशिक्षण लिएर जाने पावपरफुल कोही हुन्छ भने त्यो वरिष्ठ उपसभापति नै हो । हिजो रामचन्द्र पौडेलदेखि विमलेन्द्र निधिसम्मलाई यो सुविधा थियो । आज पूर्णबहादुर खड्कालाई यो सुविधा प्राप्त छ,’ तिवारी भन्छन्, ‘तर, पूर्ण दाइ उत्ताउलो हुनुहुन्न । कहीँ हामफाल्नु अघि धेरैपटक सोचविचार गर्नुहुन्छ । मुभ चाल्नुअघि परिणाम के होला नभनी अन्तिम कार्ड छातीमा राखेर बस्न सक्ने नेता पूर्णबहादुर खड्का हुनुहुन्छ ।’
२०६४ सालमा माओवादीको उभार आउँदा खड्का निर्वाचन नलड्नु रणनीतिक भएको तिवारी बताउँछन् ।
‘६४ सालमा अरु नेता लडे, उहाँ लड्नुभएन । टिकट लिने स्थिति हुँदा पनि किन उम्मेदवार बनेनन् भन्ने विषय अर्थपूर्ण छ । सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बनेपछि पार्टी निर्णयको पक्षमा उभिनेभन्दा आफ्नो निर्णयमा अडिग रहनुभयो,’ तिवारी भन्छन्, ‘यसपटक सभापतिका लागि ग्राउन्डको वस्तुस्थिति अध्ययन गर्दै हुनुहोला । पूर्व पदाधिकारीको ग्याङमा सहभागी नभएर म पृथक हुँ भन्ने देखाउनुभएको छ ।’
केन्द्रीय सदस्यदेखि उप–सभापतिसम्म यस्तै सूत्रले काम गरेकाले खड्काले खुल्न आवश्यक नदेखेको हुन सक्ने तिवारी बताउँछन् ।
‘पछिल्लो १७ वर्षमा केन्द्रीय सदस्यदेखि उपसभापतिसम्म क्रमशद्ध रेयर बढुवा अरूको भएको छैन, उहाँलाई सबै पदले पछ्यायो । सभापतिमा पनि यही सूत्रले अन्तिममा काम गर्ला भन्नेमा उहाँ बस्नुभएको हुन सक्छ,’ तिवारी भन्छन्, ‘उहाँको रणनीति कामयाव नहुन पनि सक्छ । तर, छातीमा पत्ता लुकाएर राख्ने स्ट्रेन्थ हो । अर्कोतिर पावर कहाँ छ भनेर उहाँलाई थाहा पनि छ । नबोलिकन कसरी शक्ति हत्याउने भन्ने सीप उहाँले सभापतिबाट सिक्नुभएको छ ।’

सभापतिमा दाबेदारी, सात भाइलाई रातो झण्डा !
देउवानिकटका अन्य प्रभावशाली नेताहरूमा निधि, सिंह, सिटौला, गच्छदार हुन् । गच्छदारबाहेकका तीन नेता सभापतिमा उठिसकेका छन् ।
गच्छदार यसपटक सभापतिको प्रमुख दाबेदार होइनन् । देउवाका अरु विश्वासपात्र नेताहरू बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा लाग्यो । एनपी साउँद शेखरनिकट पुगेका छन् । अर्का विश्वासपात्र डा. प्रकाशशरण महत १४ औं महाधिवेशनमा महामन्त्रीमै पराजित हुन पुगे । यसैले टेस्टेड नेताका सामु नेतृत्वका लागि श्रृंखलाबद्ध सिँढी चढ्दै आउनु नै आफ्नो दाबेदारीको बलियो पक्ष रहेको खड्काको मान्यता देखिन्छ ।
२०८१ फागुन ११ गते नेता कृष्णप्रसाद सिटौलाको अगुवाइमा ११ नेता देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । आफूहरूमध्ये एकलाई सभापतिको उम्मेदवार बनाउनुपर्ने माग उनीहरूको थियो । कुनै हालतमा शेखर र गगनलाई नच्याप्न पनि देउवालाई सहज गराएका थिए । सो टीममै पुगे पनि खड्का भने केहीबेर बसेर बाहिरिएका थिए । यी नेता देउवाले खड्कालाई पनि नेतृत्व सुम्पिनुहुँदैन भन्नेमा छन् । त्यसयता पनि निधि, शशांक, सिंहसहितका नेताले धेरैपटक आलोपालो छलफल गर्दै आएका छन् । पछिल्ला दुईवटा छलफलमा उनीहरूले खड्कालाई पनि बोलाए । तर, खड्का आएनन् ।
‘उहाँले हामीसँगको बैठकमा दुईपटक आउँछु भन्नुभयो, तर आउनुभएन,’ नेता गोपालमान श्रेष्ठले लोकान्तरसँग भने, ‘किन आउन सकिनँ भनेर पनि भन्नुभएन । भाउ नै खोजेपछि अबको बैठकमा अरूलाई थप्दै जान्छौं, उहाँलाई बोलाउँदैनौं ।’
अप्ठ्यारोमा देउवालाई साथ
खरो र स्पष्ट स्वभावका खड्का अप्ठ्यारोमा भने देउवासँग उभिँदै आएका छन् । पछिल्लो समय महामन्त्री गगन थापाले सरकारका काममा गरिरहेको सहजीकरणबाट ब्याक भए । बदलामा देउवाले खड्कालाई छलफलमा उतारेका छन् ।
बालुवाटारमा हुने छलफलमा पछिल्लोसमय खड्का उपस्थित हुन थालेका छन् । माओवादीलाई संसद् अवरोधबाट फिर्ता गराउन खड्काले नै पछिल्लो समय प्रभावकारी अग्रसरता लिएका थिए । यसै अग्रसरताको बलमा २ बुँदे सहमति भएको नेताहरू बताउँछन् ।