२८ जेठ २०८३, बिहीबार

कविता- म एकान्त हुँ

असार १०, २०८२
काठमाडौं
कविता- म एकान्त हुँ

मलाई कसैले नचिनून्, कसैले नखोजून्
म एकान्त हुँ, मलाई भिडमा नदेखून्
मन मस्त छु आफैंमा, म एकान्त हुँ
मलाई आवाजमा कसैले नखोजून् ।

म प्रकृति र मानव संर्घषको मौनता हुँ
हारेको छैन, निरन्तरताको क्षितिज हुँ
मलाई अठेसमठेस सपनाहरू चाहिँदैन
म एकान्त हुँ, आवाजमा कसैले नखोजून् ।

म शान्ति हुँ, सम्भावनाको उछाल हुँ
समयसँगै गतिको निरन्तरतामा छु
समयको चापसँग सोचहरू बनाइरहेछु
म गति हुँ समयको, आवाजमा नखोजून् । 

म समर्पण हुँ जीवनको, आहुती बनाइरहेछु
मलाई न व्याख्या चाहिएको छ न प्रचार
म अस्तित्व हुँ, केवल समर्पण मात्रको
मलाई आवाजमा नखोजून्, एकान्त हुँ म ।

हो म एकान्त हुँ, आकाशजस्तै निश्चल शान्त
ममा आवाजहरू नभर्नू, मलाई हल्लाहरू बन्नु छैन
ममा स्वभावहरू नभर्नू, मलाई विकृत बन्नु छैन
म शान्त आकार हुँ, हो म निश्चल एकान्त हुँ । 

-दिनेश  घिमिरे
 विरुवा,भक्तपुर 

salt training

कमेन्ट गर्नुहोस्