२५ जेठ २०८३, सोमबार

देशको मुहार फेर्ने गौरव बनोस् भैरवीको मिथेन भण्डार

असार १२, २०८२
काठमाडौं
देशको मुहार फेर्ने गौरव बनोस् भैरवीको मिथेन भण्डार

देशमा केही भएन भनेर फैलिएको चौतर्फी निराशाबीच असार पहिलो साता नेपालका लागि खुशी र उत्साहको खबर फैलियो– दैलेखमा मिथेन ग्यास भेटिएको ।

पेट्रोलियम अन्वेषणको चार दशक लामो यात्रामा नेपालले पहिलोपटक यस प्रकारको उपलब्धि हासिल गर्‍यो ।

दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा गरिएको उत्खनन्मा पहिलोपटक ठूलो परिमाणमा प्राकृतिक ग्यासको भण्डार फेला परेको पुष्टि भएको छ ।

केपी शर्मा ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेको समयमा दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन् गर्नेसम्बन्धी सम्झौता चीनसँग भएको थियो ।

सोही सहमतिअनुसार चीनको ‘चाइना जियोलोजिकल सर्वे’ले दैलेखमा ड्रिल गरेर ग्यास रहेको पत्ता लगायो । 

त्यो सहमतिको झण्डै एक दशकपछि ड्रिल गरेर नमूना संकलन गरिएको थियो । चीनको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको पुष्टि भएको हो ।

अहिले ड्रिल गरिएको ठाउँमा मात्र १ सय १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको चिनियाँ कम्पनीको निचोड छ, यद्यपि त्यसको विस्तृत प्रतिवेदन आउन बाँकी छ । त्यस आसपासका अन्य क्षेत्रमा पनि यस्तै भण्डारण रहेको अनुमान जानकारहरूको छ । 

दैलेखमा मिथेन ग्यासको भण्डार रहेको खबरले उत्साही प्रधानमन्त्री ओलीले सम्बद्ध निकायका अधिकारीलाई बोलाएर यसको व्यावसायिक उत्पादनको योजना बनाउन निर्देशन दिइसकेका छन् ।

ओलीले मंगलबार संसद् बैठकमा मंसिरभित्रमा परीक्षण उत्पादन हुने र व्यावसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र हुने जानकारी दिएका छन् । 

मिथेन ग्यासको व्यावसायिक उत्पादनले नेपालको अर्थतन्त्रको स्वरूप नै परिवर्तन गरिदिन सक्छ । मिथेन ग्यासको व्यावसायिक उत्पादनपछि नेपालमा खाना पकाउने ग्यासको आयात पूर्णरूपमा बन्द हुनेछ । 

खाना पकाउने ग्यासका अतिरिक्त केही प्राविधिक तयारीपछि गाडी गुडाउन र रासायनिक मल उत्पादनका लागि यो ग्यासको प्रयोग हुनेछ । 

दैलेखमा भेटिएको प्राकृतिक ग्यासको प्रशोधनका लागि प्राविधिक तयारी गर्नुपर्नेछ । यसका लागि ठूलो मात्रामा लगानी र प्राविधिकहरूको आवश्यक पर्छ । 

जमिनमुनिको भण्डारणबाट प्रशोधन गर्ने, त्यसलाई वितरणका लागि विशेष प्रकारको सिलिन्डर बनाउने लगायतका काम गर्न निश्चय पनि समय लाग्नेछ । 

नेपालमै रहेको मिथेन ग्यासको अधिकतम प्रयोग गर्नका लागि सरकारले एउटा नीति बनाउन जरुरी छ । 

देशको अर्थतन्त्र परनिर्भर बनेको र आयात धान्न धौ–धौ परिरहेको समयमा स्वदेशमा मिथेन ग्यास फेला पर्नु नेपालका लागि सुखद् विषय हो । 

आशा गरौं, दैलेखमा देखिएको आशाको दियो नेपालको अर्थतन्त्र ‘टेक अफ’ गर्ने एउटा आधार बनोस् । देशको मुहार फेर्ने गौरव बनोस् । 

salt training

कमेन्ट गर्नुहोस्