२४ जेठ २०८३, आइतबार

साइबर बुलिङविरुद्ध एलिना र समीक्षा- अभद्र टिप्पणी गर्नेका आईडी भटाभट सार्वजनिक

असार १२, २०८२
काठमाडौं
साइबर बुलिङविरुद्ध एलिना र समीक्षा- अभद्र टिप्पणी गर्नेका आईडी भटाभट सार्वजनिक

व्यक्तिगत जीवनमा घटेका घटनालाई लिएर निरन्तर साइबर बुलिङ हुन थालेपछि गायिका एलिना चौहान र समीक्षा अधिकारीले विरोधको नयाँ शैली अपनाएका छन् । 

सामाजिक सञ्जालका विभिन्न माध्यमबाट अभद्र टिप्पणी र गालीगलौज गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्  । 

गायिकाद्वय चौहान र अधिकारीले आफ्नो आत्मसम्मानमा ठेस पुर्‍याउने, व्यक्तिगत जीवनमा हमला गर्ने, अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताको प्रोफाइल सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने गरेका छन् । जसमा धेरैले समर्थन समेत गरेका छन् । यद्यपि, त्यसमा पनि केही नकारात्मक कमेन्टहरू आएको देख्न सकिन्छ ।  

अधिकारीले केही दिनअघि आफूलाई सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्ने व्यक्तिको ‘फेसबुक प्रोफाइल’ सार्वजनिक गरेपछि ती व्यक्तिले माफी मागे । त्यसपछि समीक्षाले माफी मागिएको मेसेजको स्क्रिनसट सार्वजनिक गर्दै आफूले माफी दिएको र ती व्यक्तिको पोस्ट हटाएको जानकारी दिइन् ।

त्यसपछि बुधबारदेखि एलिनाले यही कदमलाई पछ्याउँदै भटाभट त्यस्ता व्यक्तिहरूको प्रोफाइल सार्वजनिक गरिरहेकी छन् । समीक्षाले पनि बुधबार आफूलाई अभद्र कमेन्ट गर्ने अन्य केही प्रयोगकर्ताको  प्रोफाइल सार्वजनिक गरिन् । 

सञ्जालबाटै खुलेआम आफ्नो प्रोफाइल सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले उनीहरूसँग माफी समेत मागेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत चौहान र अधिकारीले सामाजिक सञ्जालबाटै जानकारी गराएका छन् ।

एलिनाले एक भिडियो सन्देश जारी गर्दै सञ्जालमा आएर नकारात्मक प्रतिक्रियालाई अब सहेर नबस्ने र थप कानूनी उपचारको लागि जाने चेतावनी दिएकी थिइन् । त्यसमा समेत केही नकारात्मक कमेन्टहरू आए । अनि, उनले असभ्य, अभद्र, असहिष्णु कमेन्ट गर्नेहरूको प्रोफाइल एकपछि अर्को गर्दै सार्वजनिक गर्न थालेकी हुन् । 

यसअघि अभिनेत्री ऋचा शर्मा, टिकटकर तथा मोडल प्रिन्सी–प्रिज्मा खतिवडाले पनि आफूविरुद्ध आएको अमर्यादित कमेन्ट गर्नेको फेसबुक प्रोफाइल सार्वजनिक गरेका थिए  । 

पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न माध्यमबाट महिला कलाकारले अपाच्य टिप्पणीको सामना गरिरहेका छन् । यसरी साइबर बुलिङ गर्ने केहीलाई कानूनी दायरामा समेत ल्याइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्