२१ जेठ २०८३, बिहीबार

‘बुकहिल ब्यालेड्स’मा गुञ्जिँदै दीप श्रेष्ठ

जेठ १८, २०८३
काठमाडौं
‘बुकहिल ब्यालेड्स’मा गुञ्जिँदै दीप श्रेष्ठ

प्रसिद्ध गायक एवं सङ्गीतकार दीप श्रेष्ठले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू सङ्गीत पारखीमाझ प्रस्तुत गर्ने भएका छन् । 

बुकहिल पब्लिकेशनले शुरूआत गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को पहिलो शृङ्खलामा श्रेष्ठले आफ्ना गीत फरक शैलीमा प्रस्तुत गर्न लागेका हुन् ।

यही जेठ २९ गते शुक्रबार काठमाडौंको शिल्पी थिएटरमा आयोजना हुने ‘बुकहिल ब्यालेड्स : दीप श्रेष्ठ- म पत्थरको देवता होइन’ कार्यक्रममा गायक एवं सङ्गीतकार श्रेष्ठले २०२५ सालदेखि आजसम्मको आफ्नो साङ्गीतिक जीवनका आरोह-अवरोहका कथाका साथमा स्रोता-दर्शकले मन पराएका र केही नयाँ गीतहरू प्रस्तुत गर्ने बुकहिलले जनाएको छ ।

साहित्यसँगै सङ्गीत र संस्कृतिको अभिवृद्धिमा क्रियाशील बुकहिलले प्रत्येक ३ महिनामा औपचारिक रूपमा ‘बुकहिल ब्यालेड्स’ आयोजना गर्ने जनाएको छ । 

कार्यक्रमबारे बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का भन्छन्, ‘म आफैं पनि सङ्गीत क्षेत्रकै मान्छे हुँ । सङ्गीतका स्वर र सुर साधकलाई फरक रूपमा स्रोता र दर्शकमाझ प्रस्तुत गर्न बुकहिल ब्यालेड्स आयोजना गर्न लागेका हौं । पहिलो कार्यक्रम नै प्रसिद्ध गायक एवं सङ्गीतकार दीप श्रेष्ठबाट शुरू हुने भएपछि यसको सफलता र निरन्तरतामा ढुक्क छौं ।’

नेपाली सङ्गीतका ‘लिभिङ लिजेन्ड’को रूपमा परिचित श्रेष्ठ ‘म पत्थरको देवता होइन’ बोलको गीत गायन र सङ्गीतबाट नेपाली सङ्गीत क्षेत्रमा प्रवेश गरेका हुन् । श्रेष्ठले करिब ६ दशकको अवधिमा हजारौं गीतमा स्वर तथा सङ्गीत भरेका छन् ।
 
श्रेष्ठका म पत्थरको देवता होइन, हुँ यात्री, कति कमजोर रहेछ भाग्य, भन्थिन् मेरी उनी, झस्किएछ मन मेरो, बितेका कुराले, हर रात सपनीमा, म त दूरदेखि आएँ, झिरमा उनिनु एउटा कुरा लगायतका सयौं गीत कालजयी बनेका छन् ।

‘बुकहिल ब्यालेड्स’मा गीतभित्रका कथासँगै प्रस्तुत हुने गायनमा ७ जना वाद्यवादकले श्रेष्ठलाई साथ दिनेछन् ।

१५८ जना दर्शकका लागि मात्रै टिकटमा आयोजना हुन लागेको यो कार्यक्रमको थुप्रै डटकममार्फत् टिकट बिक्री खुल्ला गरिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्