२२ जेठ २०८३, शुक्रबार

नीर शाहलाई अमर भावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिने, उत्कृष्ट दश गीतकारको सूचीमा को–को परे ?

जेठ १५, २०८३
काठमाडौं
नीर शाहलाई अमर भावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिने, उत्कृष्ट दश गीतकारको सूचीमा को–को परे ?

प्रतिष्ठित गीतकार तथा अभिनेता नीर शाहलाई गीतकार संघले प्रदान गर्दै आएको ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८२’ प्रदान गरिने भएको छ । गीतकार संघ नेपालको स्थापना दिवसका अवसरमा बसेको कार्यसमितिको बैठकले गीतकार शाहलाई सम्मान गर्ने निर्णय गरेको हो । 

गीतकार शाहलाई १ लाख ५१ हजार नगदसहित ताम्रपत्रद्वारा सम्मान गरिने संघका अध्यक्ष बसन्त वित्यासी थापाले बताए ।

त्यस्तै, डायस्पोरा गीतकार सम्मान गीतकार संघ नेपाल–२०८२ बाट गीतकार नीलम आङबुहाङ राईलाई सम्मान गरिने भएको छ । गीतकार राईलाई १५ हजार नगदसहित ताम्रपत्रद्वारा सम्मान गरिने संघले जनाएको छ । त्यसैगरी विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान –२०८२ बाट लोहारुङ राई भाषाका नाइन्द्र लोहारुङलाई २५२५२ नगदसहित सम्मान गरिने भएको छ ।

त्यसैगरी, हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान गीतकार संघ नेपाल– २०८२ बाट गीतकार अरुण तिवारी र गीतकार सुशिला पौडेललाई जनही १५ हजार नगदसहित सम्मान गरिने भएको छ । यसवर्षबाट संघले शुरू गरेको गीतकार संघ नेपाल पत्रकारिता सम्मानबाट हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाललाई ५५५५ नगदसहित सम्मान गरिने भएको छ ।

त्यसैगरी, भैरवनाथ रिमाल ‘कदम’ वर्ष गीत पुरस्कार गीतकार संघ नेपालका लागि सहभागी भएका गीतहरूबाट उत्कृष्ट दश गीत छनोट भएका छन् । छनोट भएका गीतहरूमा डम्बर याक्सोको म त तिम्रो नजरमा, प्रबल विष्टको भुल्न सकिनँ, लेखराज गिरीको एउटै बाटो, राम भट्टराईको जिन्दगीको सुख खोज्दै, गौरव गुरुङको तिम्रो सम्झनामा, हरिराम पौडेलको आफ्नै प्रितिको गीत, रविन्द्र आशिष शैलीको छैन जून आज, अमरदीप सुनुवारको मायाजाल मोहनी, डा.विष्णुमूर्ति भट्टराईको मेरो नाम लिने ओठले र डा.रुद्रनाथ अधिकारीको आउन माया आउ रहेको छ । छनौटमा परेका गीतबाट उत्कृष्ट १ गीतले ५७ हजार नगदसहित पुरस्कार प्राप्त गर्ने संघले जनाएको छ । 

त्यस्तै, जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार गीतकार संघ नेपाल–२०८२ का लागि तीन वटा गीतको पुस्तक छनोटमा परेका छन् । छनोटमा परेका गीतहरूमा कल्पना खरेलको नन्दनी, ध्रुव खनालको मनको आँखा र डा. ज्ञानेन्द्र गदालको भोलिको आश उज्यालो प्रकाश रहेका छन् । छनोटमा परेको पुस्तकबाट १ पुस्तकले ५७ हजार नगदसहित पुरस्कार प्राप्त गर्ने संघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्