२५ जेठ २०८३, सोमबार

भावुकता र ठट्यौली मिसिएको शिवशंकर थापाको पलेँटी

जेठ १७, २०८३
काठमाडौं
भावुकता र ठट्यौली मिसिएको शिवशंकर थापाको पलेँटी

गत शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रसिद्ध गीतकार शिवशंकर थापाको पलेँटी सम्पन्न भएको छ ।

पलेँटी २१ वर्ष पहिले शुरू भएको साङ्गीतिक कार्यक्रम हो । यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार प्रारम्भ हुने गर्छ । यस कार्यक्रमले नेपाली आधुनिक संगीत विधाका गीतकार, संगीतकार र गायकलाई समानान्तर रूपमा प्रस्तुत गर्दै आएको छ । शिवशंकर थापासँगै पलेँटीमा संलग्न गीतकारको संख्या एक दर्जन पुगेको छ ।

संगीतकार आभासले सञ्चालन गरेको कार्यक्रमलाई तीन खण्डमा विभाजन गरेर प्रस्तुत गरिएको थियो ।

पहिलो खण्डमा नयाँ र पुराना गीत गरी पाँचवटा सांगीतिक प्रस्तुति भएका थिए । जसमा संगीतकार सुवर्ण लिम्बु, प्रकाश गुरुङ, आभास र बलराम समालका धुन समावेश थिए ।

कार्यक्रममा गीत संगीतका साथसाथै गीतकार शिवशंकर थापाको गीति रचनाको रचना-गर्भ र व्यक्तिगत अनुभूतिको खुलासा मूल आकर्षणमा रहेको थियो ।

कार्यक्रमको शुरूआत पवन गोलेको स्वरमा प्रसिद्ध बनेको सुवर्ण लिम्बुद्वारा संगीतबद्ध गीत ‘हावासँगै बगुँ भन्छ’बाट भएको थियो । त्यसपछि संगीतकार प्रकाश गुरुङद्वारा धुन भरिएका ‘मेरो रहर बिउँझिएर’ र ‘केही ल्याउन सकिनँ’ बोलका गीत प्रस्तुत भएका थिए ।

सांगीतिक प्रस्तुतिसँगै गीतकारले आफ्नो अतीतको थैलीलाई बिस्तारै खोल्दै गएका थिए । संगीतकार प्रकाश गुरुङसँग भोटेबाहलस्थित डेरामा भेटेको रसिलो युवा उमेरको सम्झना सुन्दा दर्शक दीर्घामा हाँसोको लहर फैलिएको थियो ।

कार्यक्रमको चौथो प्रस्तुतिमा नयाँ गीत ‘म त अक्षरको मान्छे हुँ’ बोलको गीत रहेको थियो । यस क्रममा गीतका संगीतकार आभासले रचनाकार शिवशंकर थापासँग आफूले तीन दशक पहिले संगत गरेको सम्झना गरेका थिए । 

यस गीतका सन्दर्भमा रचनाकार शिवशंकर थापा भन्दै थिए- ‘मेरा गीतका विषयवस्तुमा मान्छे र तिनका कथाहरू हुने गर्छन्; म मान्छेहरुलाई अक्षरका रुपमा पढ्न खोज्छु, यो गीत त्यसकै परिणाम हो ।’

पाँचौं प्रस्तुतिमा शिवशंकर थापा निकै भावुक देखिन्थे । संगीतकार बलराम समालले धुन भरेको ‘कति साह्रो फाटेछु म’ बोलको गीत आफ्नी श्रीमतीको अवसानपछिको एक्लोपनबाट अभिप्रेरित भएको सन्दर्भ कोट्याउँदा थापाका गह रसिला देखिन्थे ।

दोस्रो खण्डमा गायक तथा संगीतकार दीप श्रेष्ठको कण्ठमा प्रसिद्ध भएका गीतहरू समावेश गरिएका थिए । दर्शक दीर्घामा उपस्थित संगीतकार तथा गायक दीप श्रेष्ठ नयाँ पुस्ताका कण्ठ शिल्पीबाट आफ्ना रचनाहरू सुन्दा मुग्ध देखिन्थे ।

यस खण्डको पहिलो प्रस्तुति 'मेरो आँखामा भरदिन बादल छाइरह्यो' बोलको गीत रहेको थियो । यस गीतको रचना-गर्भ उल्लेख गर्ने क्रममा गीतकार थापाले झापा विद्रोहका बन्दीहरूलाई जेल सार्ने क्रममा भएको 'सुखानी हत्याकाण्ड'को सम्झना गरेका थिए । 

उनले आफ्नो यो रचना २०२९ साल फागुन २१ गते इलाममा घटेको सोही घटनाबाट प्रेरित भएको सुनाउँदा दर्शक दीर्घामा सन्नाटा छाएको थियो । पञ्चायतकालमा घटेको सो घटनालाई राजनैतिक दमनको क्षणका रूपमा सम्झना गरिन्छ ।

दीप श्रेष्ठद्वारा संगीतबद्ध रचना सुनाउने क्रमको दोस्रो रचना 'तिमी आकाशको जून भयौ, म त यहाँको धुलो हुँ' रहेको थियो । यो गीत शिवशंकर थापाको धुन भरिएको पहिलो गीति रचना थियो । यस रचनासँगै शिवशंकर थापाले आफ्नो वैयक्तिक अनुभूतिको थैलीलाई झन् झन् खुकुलो बनाउँदै लगेका थिए । 

रेडियोबाट आफ्नो नाम यही गीतमार्फत पहिलोपल्ट सुनेको सम्झना गर्दै शिव शंकर थापा भन्दै थिए - 'धरानको कुनै होटलमा चिया खाँदैगर्दा यो गीत सुनेको त्यो क्षण अहिले पनि सम्झनामा छ । त्यसबेला मलाई लागेको थियो- 'मेरी ती अमुक धनाड्य प्रेमिकाले पनि यो गीत कतै रेडियोबाट सुन्दै पो होलिन् कि ?... ओहो त्यो उमेर नै कस्तो रोमाञ्चक उमेर ?'

कार्यक्रम अगाडि बढ्ने क्रममा 'फूलको गाला भिजाएर' र 'आयो फेरि चैते हुरी' बोलका गीतको पालो आएको थियो । दीप श्रेष्ठले नै धुन भरेका यी गीतहरूका मूल कण्ठ शिल्पी सोफिया र सरलामध्ये सोफिया गुरुङ श्रेष्ठ पनि दर्शकदिर्घामा उपस्थित थिइन् । आफूले विगतमा गाएका गीतहरूलाई अभिज्ञा घिमिरेको स्वरमा सुन्दा सोफियाको मुहार मुग्ध र ओठ चलायमान देखिन्थे ।

गीतकार शिवशंकर थापाले प्रत्येक गीतका रचना गर्भ सुनाउँदै अघि बढेको कार्यक्रममा जब लोकप्रिय गीत 'विधुवाले सिन्दुरको रहर'को पालो आयो दर्शकमाझ भावुकताको तरङ्ग नै फैलियो । यस क्रममा उनले एउटी छिमेकी विधुवाको सत्यकथाबाट आफ्नो गीत अभिप्रेरित भएको उल्लेख गरेका थिए ।

प्रसिद्ध गीत 'भन्थी मेरी उनी मेरो पाइला नटेकिदिनु' गीतको पालो आउँदा गीतकार शिवशंकर थापा आफ्नो वैयक्तिक प्रेम कथा अभिव्यक्तिको उत्कर्षमा पुगेका थिए । उनी भन्दै थिए- 'म जे बोल्छु सिधा बोल्छु; नढाँटी बोल्छु; ढाट्न आउँदैन; 'भन्थी मेरी उनी' सुदूर विगतकी मनकी प्रेमिकाले व्यक्त गरेका चिठीका हरफहरू समेत हुन् । मैले तिनकै अभिव्यक्तिलाई टक्क टक्क उतारेर गीतमा राखेको हुँ । दीपले धुन भरेर गायो । गीत प्रसिद्ध भयो । म पनि प्रसिद्ध भएँ । त्यो प्रेम कथा त अब टुङ्गियो तर हाम्रो मित्रता टुङ्गिएको छैन । पारिवारिक मित्रता छ ।'

शिवशंकर थापाको अभिव्यक्ति सुनेपछि दर्शक माझबाट कसैको टिप्पणी सुनिन्छ- ‘कस्तो सुन्दर र आदर्श प्रेम !’

शिवशंकर थापाको बोल्ने शैली गम्भीर थियो । तर त्यसभित्र ठट्यौली पनि झल्कन्थ्यो । बेलाबेलामा उनले कथा भन्दैगर्दा दर्शकदीर्घामा हाँसोको फोहोरा पनि छुट्थ्यो ।

तेस्रो खण्ड तथा अन्तिम खण्डमा लोक शैलीका रचनाहरू प्रस्तुत भएका थिए । जसमा भौगोलिकता समेटिएको 'माखाको फेदीमा, जाँड छान्दा छान्दै' र 'आज फेरि राजैज्यूको' बोलका गीत रहेका थिए । युवराज पोर्तेल र मोनिका चुँडालले रेकर्ड गरेका दुई लोकगीतबारे आफ्नो अनुभूति पोख्दै शिवशंकर थापाले झ्याउरे भनेर प्रचलनमा रहेको शैली मगर जातिको 'झ्या बुरा' शब्दको अपभ्रंश हुनसक्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्तिम गीतका रूपमा गायक दीप श्रेष्ठ, गोविन्द कटुवाल र शिवशंकर थापाले रेडियो नेपालमा रेकर्ड गरेको पुरानो लोकगीत 'रातो माटो सिन्दुरको साटो' प्रस्तुत भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्