
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द रिट्ज-कार्लटन’ नेपाल भित्रिनु सुखद् भएको बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।
भेटमा अर्थमन्त्री वाग्लेले अध्यक्ष म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरी विश्वका धनाढ्यहरूको गन्तव्य सूचीमा नेपाललाई थप योगदान दिएको भन्दै धन्यवाद दिए।
द रिट्ज-कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उनले बताए।
‘तपाईंहरूको नयाँ परियोजना घोषणाले लगानीकर्ताका लागि नयाँ उत्साह थपेको छ। नेपालमा लगानी भित्र्याउन र विश्वका धनाढ्यहरूले अब नेपालको द रिट्ज-कार्लटनलाई आफ्नो गन्तव्य बनाउन सक्छन् भन्ने सोच विकास भएको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘यसले नेपालको पर्यटनलाई अर्को उचाइ दिन सक्छ।’
नयाँ सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले म्यारियट र द रिट्ज-कार्लटनलाई काठमाडौंबाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे।