नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । सर्जक शंकर पाण्डे मुक्तिको प्रस्तुति रहेको गीत बिहीबार मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ । गीतको शब्द स्वयं मुक्तिले लेखेका हुन् भने चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत भरेको गीतमा आधुनिक सङ्गीत र भावनात्मक शब्द संयोजनले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको छ ।
सार्वजनिक गीतको भिडियो निर्देशक माधवराज खरेलले तयार गरेका हुन् । भिडियोले पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयामलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । भिडियोमा कलाकारहरू दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायतको अभिनय छ । साथै बाल कलाकार आरुश पाण्डे, मीरु पराजुली, समाज पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनयले भिडियो अझ जीवन्त बनेको छ ।
भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन विनोद बमले गरेका छन् । सरिता मगरको श्रृङ्गारले कलाकारहरूलाई आकर्षक रूपमा प्रस्तुत गरेको छ । भिडियोमा प्रयोग गरिएको दृश्य संयोजन, अभिनय र कथावस्तुले दर्शकलाई भावुक बनाउने क्षमता राख्ने प्रतिक्रिया कार्यक्रममा सहभागीहरूले दिएका थिए ।