
चर्चित गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । आफूविरुद्ध सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण गरेर आफ्नो चरित्र हत्या गर्नेविरुद्ध कारबाहीको माग गर्दै चौहानले उजुरी दिएकी हुन् ।
ब्यूरोका प्रमुख डीआइजी नवीन्द्र अर्यालका अनुसार गायिका चौहान आफैं ब्यूरोमा उपस्थित भएर उजुरी दिएकी हुन् । ‘उहाँले केही व्यक्तिको नामै किटान गरेर विद्युतीय कसुरमा कारबाही गर्न माग गर्दै जाहेरी दिनु भएको हो, हामी अनुसन्धान गर्दैछौं,’ डीआईजी अर्यालले लोकान्तरसँग भने, ‘उजुरीको गहिराइमा पुगेर हामी अनुसन्धान गर्छौं ।’
गायिका चौहान र अर्की गायिका समीक्षा अधिकारीले पछिल्ला दिनमा सामाजिक सञ्जालमा आफूविरुद्ध उच्छृङ्खल सामग्री पोष्ट गर्ने व्यक्तिको फोटो र सामग्रीहरू सार्वजनिक गर्दै आएका छन् ।
उनीहरूले आफ्नो आत्मसम्मानमा चोट पुग्ने सामग्री पोष्ट गर्नेहरू सार्वजनिक गर्दै आएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दुवैलाई ‘साहसी छोरीहरू’ भन्दै बधाई दिएका थिए ।