२६ असार २०८३, शुक्रबार

आँप बिक्रीबाट वार्षिक ८ लाख बचत

असार २०, २०८२
कैलाली
आँप बिक्रीबाट वार्षिक ८ लाख बचत

कैलालीको गोदावरी नगरपालिका– १० मालाखेती खमौराका इन्द्रबहादुरसिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा रहेको आँप बगैँचा भाडामा लिएर व्यवसाय गर्दै आएका छन् ।​ 

इन्द्रबहादुरले यहाँ आँपको बगैँचा भाडामा लिएर काम गर्दै आएको ११ वर्ष भयो । यसअघि उनले मालाखेतीको खमौरामा घण्टेश्वर मन्दिरको जग्गामा रहेको आँप बगैँचा यसैगरी भाडामा लिएर व्यवसाय गर्दै आएका थिए ।

हावाहुरीका कारण यहाँको बगैँचामा क्षति पुगेपछि आफ्नै गाउँले दाजुभाइ मानबहादुर र लोकबहादुरलाई साथमा लिएर उनले गोदावरी- ५ गेटा स्थित एक स्थानीयको आँप बगैँचा भाडामा लिई पुनः व्यवसाय शुरू गरेका हुन् । पाँच बिघा जमिनमा फैलिएको आँप बगैँचाको एक ‘सिजन’मा रु पाँच लाख तिर्नुपर्छ । 

हाल आँपको सिजन चलिरहेको छ । मडै दाजुभाइको बगैँचामा विभिन्न थरीका आँप लटरम्म फलेका छन् । अचेल आँप किन्न बगैँचामै धाउनेहरूको भीड लाग्ने गरेको छ ।

'हामीले यहाँ फल्ने आँपमा कुनै विषादी र औषधि प्रयोग गरेका छैनौं । विषादीरहित भएकाले पनि बगैँचामै आँप खोज्दै आउने ग्राहकको सङ्ख्या बढ्दो छ,' व्यवसायी इन्द्रबहादुरले भने, 'आँप बिक्री गर्नका लागि बजार धाउनु परेको छैन । ग्राहकले बगैँचाबाटै छानीछानी आँप लग्नुहुन्छ ।'

आँप लिनका लागि कैलालीको धनगढी, अत्तरिया क्याम्परोड, लम्की र कञ्चनपुरको गुलरिया, महेन्द्रनगर, दैजीलगायत स्थानबाट ग्राहकहरू आउने गरेका अर्का व्यवसायी मानबहादुर मडैले जानकारी दिए ।

यो सिजनमा हालसम्म रु पाँच लाख बराबरको आँप बिक्री गरिसकेको उनले बताए । 'बगैँचामा अझै आधाभन्दा बढी आँप बाँकी नै छ । कोही अलि ढिलो पाक्ने जात पनि छन् । अझै रु १० लाख बराबरको आँप बाँकी होला,' मानबहादुरले भने ।

सिजनमा कामदारको ज्यालालगायत सबै खर्च कटाएर रु आठ लाखसम्म बचत हुने गरेको इन्द्रबहादुरले जानकारी दिए ।

हाल दैनिक रु ३५ हजारदेखि ४५ हजारसम्म कारोबार हुने गरेको उनको भनाइ छ । यहाँ फुटकर रु ८० र होलसेल रु ६० मा आँप बिक्री हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्